​तथ्यांकमा दुई नम्बर प्रदेश : जनताका समस्यामा दल बेखबर

महेश दास, वीरगन्ज, १९ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको भोलि बुधबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ । प्रदेश न २ को आठ जिल्लामा हुन लागेको १३६ स्थानीय तहको निर्वाचनमा प्रमुख दल नेकपाएमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र अन्य दलहरु अधिकांश तह जित्न मधेस केन्द्रित भएर रणनीतिक योजना बनाउँदै छन् । नेकपा एमालेको नेतृत्व  १ महिना अघि देखि मधेस झरेका छन भने माओवादीको नेतृत्व पनि मधेसमा गतिविधि बढाउँदै केन्द्रीय सचिबालयको बैठक पनि बीरगन्जमा सम्पन्न गरेका छन । नेपाली काग्रेसले अप्रेसन सेन्चुरी नाम दिएर आधारभुमी भन्दै एक सय स्थान जित्ने घोषणा समेत गरिसकेका छन । संघीय फोरम ले उम्मेदवार को घोषणा गरि प्रचारमा होमिसकेको छ भने राजपाका नेतृत्व उम्मेदवार चयन को अन्तिम तयारी मा छन । फोरम नेपाल को अध्यक्ष बिजय गच्छदार पनि पुर्बी मधेसमा डेरा जमाइसकेका छ्न।
   नेकपा एमाले र संघीय फोरमले मुख्य महानगरपालिका र उपमहानगरपालिका सहित अधिकांश तहमा उम्मेदवार घोषणा गरिसकेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपा उम्मेदवार चयन गर्न निरन्तर बैठक गरिरहेका छन । यता सबै दलहरु चुनावी प्रसार प्रचार तीब्र बनाएकोले पुरै मधेस चुनावी महापर्वमा होमिसकेको छ । गाउँ सहरमा चुनावी गीतहरु सुन्न पाइन्छ । संविधानको विरोध गरिरहेका मधेसी दलका कर्याकर्ताहरु पनि संविधान कार्यान्वयन गर्न चुनावी मैदानमा उत्रिसकेका छन । आम जनताहरु दुई दशकपछि आफ्नो जनप्रतिनिधि छान्न आतुर देखिन्छन् । 
मधेसको समस्या 
मधेस सुगम भए पनि राज्यको पुर्बाग्रही नीतिको कारण दुर्गम जस्तै छ । पन्चायतकालदेखि गणतन्त्रसम्म मधेसीहरु राज्य सत्ताबाट ठगिएको महसुस गरेका छन् । कृषि र सिचाइको आधुनिकीकरण हुन नसक्दा किसानहरूले कृषि पेशा छाडेर मजदुरी गर्न बाध्य छन भने युवाहरु विदेश पलायन भएका छन् । जसले गर्दा अन्न बालीमा पनि देश परनिर्भर हुनपुगेको छ । गएको बाढीले अर्बौको नोक्सान भएको छ । सीमामा बाँधिएका बाँधका कारण आएको बाढीले खेतबारी मरुभूमिमा परिणत भएको छ । सीमाका बाँधका कारण नेपाल डुब्दा समेत सरकार मूकदर्शक बनेर बसेको छ । कांग्रेसले तराईलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको छ भने राजपाले तराई मधेसको राजनीति गरेर आफ्नो गुजारा चलाइरहेको छ । नेकपा एमाले सरकारले मधेसमैत्री बजेट बनाएर केही राहत दिएको भए पनि उक्त सरकार ढालेर प्रचण्डले मधेसका जनतालाई थप आहात बनाएको छ ।
शिक्षा स्वास्थ खानेपानी सरसफाइ र आय सहितको अबस्थालाई हेर्न मानब सूचकांक तय गरिन्छ । मधेसको आठ जिल्लाको मानब सुचकांक ०.३८६ देखि ०.४५७ सम्म छ । जनताहरु आधारभूत आवश्यक्ता पनि पाउनबाट बन्चित छन् । साक्षरताको स्थिति हेर्ने हो भने ४२.३ देखि ५६.५ सम्म छ । शिशु मृत्युदरको अबस्था त झन डरलाग्दो छ । रौतहटको एक हजार शिशु जन्मिन्दा एक बर्ष नपुग्दै ८१ जना शिशुको अकालमा मृत्यु हुने गरेको छ । जुन मुलुकै सबैभन्दा बढी संख्या हो । शिशु मृत्युदर ८०.८८ देखि ४८.८५ छ । पर्साबाहेक ७ जिल्लाको सन्तोषजनक छैन ।
प्रतिव्यक्ति आयको कुरा गर्ने हो भने पर्सा र बारा जिल्लाबहेक ६ जिल्लाको राष्ट्रियस्तरको औसत आयुभन्दा पनि कम छ । झन् महोत्तरी जिल्ला देशकै कम आयमा पर्छ । जबसम्म आर्थिक रुपान्तरणको मध्यमबाट जनताको आय वा वृद्धिको लागि प्रभावकारी काम हुँदैन स्थिति झन् भयावह हुने देखिन्छ । खासगरी दलित वर्गमा डोम, दुसाद, हलखोल मुसहरको आर्थिक विकासको लागि स्थानीय नेतृत्वको ध्यान जान जरुरी छ । नेपालको सबैभन्दा कम शौचालय भएको जिल्ला सप्तरी र सिरहा हो भने पर्सा र बाराबाहेक सबै जिल्लामा शौचालय एकदम कम छ । पर्सा र बाराबाहेकको जिल्लामा कलकारखाना उद्योग अत्यन्त कम छ । बेरोजगारी र विदेश पलायन बढ्दो छ । गरिब निमुखा जनताले भोग्नुपरेको समस्या समाधान गर्न राजनीतिक दल असफल छन् । चुनावमा भोट माग्ने र आश्वासन बाँड्नेबाहेकको विकास हुन सकेको छैन ।
स्थानीय तहमा जनप्रतिनिधि 
प्रदेश न २ मा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तह छ । १३६ स्थानीय तहमा जम्मा वडा १२७१ र कुलमतदाता २६ लाख ६४ हजार ९ सय ५० रहेको छ । पुरै प्रदेशमा ३ हजार ५ सय ७८ मतदान केन्द्र छ ।
पर्सामा बीरगन्ज महानरपालिका ३ नगरपालिका र १० गाउँपालिकासहित १४ स्थानीय तहमा ३ लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । बारामा २ उपमहानगरपालिका ५ नगरपालिका ९ गाउँपालिका गरी १६ तहमा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता छन् । रौतहटमा ११ नगरपालिका २ गाउँपालिका गरी १३ तहमा ३ लाख २१ हजार १८ मतदाता रहेकोे छ । सर्लाहीमा ११ नगरपालिका ९ गाउँपालिका गरी २० तहमा ३ लाख ६६ हजार  मतदाता रहेको छ । सबैभन्दा बढी तह सर्लाही जिल्लामा छ । १० नगरपालिका र ५ गाउँपालिका गरी १५ स्थानीय तह रहेकोे महोत्तरी जिल्लामा ३ लाख ८४ हजार ९ मतताता छन् । जनकपुर उपमहानगरपालिकासहित ११ नगरपालिका र ६ गाउँपालिकामा ३ लाख ८९हजार ९१ मतदाता छ । यसैगरी सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकामा ३ लाख ३२ हजार ८ सय ९५ मतदाता छन् । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तहमा जम्मा ३ लाख ३१ हजार ६सय ७९ मतदाता छन् ।

Related News