​शुभकामना महिला हिमाल पत्रकारहरुलाई

दृष्टि न्यूज

बिन्दिया प्रधान । प्रथम महिला पत्रकार सगरमाथा आरोहण– २०१८ । यो नाम लिएर अगाडि बढेका छन् केही पत्रकार नानीहरु । 
अरुले सक्छन् भने हामीले किन नसक्ने ? ‘यू क्यान नट’ लाई ‘यू क्यान’ मा बदल्न तम्सेका महिला पत्रकारहरु सो आरोहणको लागि आवश्यक रकमको जोहो गर्न हाल काठमाडांैमा प्रयास गरिरहेका छन् । बिभिन्न सञ्चार माध्ययमका पाँच जना नेपाली महिला पत्रकारहरु अर्थात् उमेरको हिसाबले फुच्ची नानीहरुको साहसलाई मैले अन्ततः प्रशंसा गरँे । 
यसपालीको अन्तर्राष्ट्रिय नारी दिवसकोे एउटा सानो भेटघाट कार्यक्रममा केही महिला पत्रकार बहिनीहरुसँग भेट भयो । उनीहरुमध्ये सगरमाथा अर्थात् हिमाल र पत्रकारितालाई एउटै अभियान यात्रामा सँगसँगै लान प्रयास गरिरहेका ती पाँच जना पनि थिए । पाँच जना अर्थात् रोजिता बुद्धाचार्य, नेपाल टेलिभिजन । प्रिया लक्ष्मी कार्की, न्यूज ट्वयन्टी फोर टेलिभिजन । देउराली चामलिङ, स्वतन्त्र पत्रकार । कल्पना महर्जन, मेगा टेलिभिजन र रोशा बस्नेत, राष्ट्रिय समाचार समिति । अन्तर्राष्ट्रिय नारी दिवसकै दिन भएको त्यो भेटघाटमा ती नानीहरुको ठूलो र महान आँट देखेर हामी सबै दंग प¥यौँ । नेपाली महिलाहरु वास्तबमा कोहीभन्दा कम छैनन् । 
त्यस दिन एकदमै सरल र आत्मीय स्वभावका साथ मिठो खानाको प्रायोजन र सो कार्यक्रमको संयोजन गर्नुभएको थियो श्रीमती राधिका शाक्य ओलीले । परेको बेला धेरैलाई यसरी नै प्रायोजन र सहयोग गर्ने उहाँको विशेषता रहेको बताए सहभागी साथीहरुले । जसरी त्यहाँ उहाँले यी महिला आरोहण समूहको लागि नै कार्यक्रमको संयोजन गर्नुभएको थियो । 
महिला पत्रकार समूहको यो हिमाल यात्रा आगामी ५ अप्रिल, २०१८ मा काठमाडौंदेखि सुरु भई नाम्चेको स्याङ्गबोचे अनि ६११९ मिटर अग्लो लोबुचे हिमालको आरोहणसँगै अन्त्यमा सगरमाथा आरोहणको जम्मा ६० दिने यात्रा सम्पन्न गर्ने कार्यक्रममा ती प्रत्येक गन्तव्य र बेसक्याम्प अनि सगरमाथाको चुचुरोबाट उनीहरुले आरोहण सम्बन्धी खबर र अन्य सामग्रीहरु नेपाल टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण गर्नेछन् । टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारणको हिसाबले यो हिमाल पत्रकारिता नेपाली सञ्चार जगतकै लागि एक ऐतिहासिक अभियान हुनेछ । किनकि यो साहसिक यात्रामा केबल महिलाहरु मात्र हिमाल चढिरहेका छैनन्, उनीहरुले सँगसँगै टेलिभिजनलाई पनि सगरमाथा आरोहण गराउँदै छन् । यसैले हिमाल आरोहणको लागि आवश्यक सरसामानसँगै उनीहरुलाई सेटेलाइट र टेलीभिजनसँग सम्बन्धित अन्य सामग्री (इक्युपमेन्ट्स) तथा टेक्निकल ज्ञान भएकाहरुको सपोर्ट पनि आवश्यक हुने भएकोले यो आफैँमा एक महंगो आरोहण हुने भएको छ । जानकारी भएअनुसार सेटेलाइट खर्च ११,९०० अमेरिकी डलर र अन्य आवश्यक सामग्रीसहित नेपाल टेलीभिजनको खर्च रु.२० लाख पर्ने तथा प्रतिब्यक्ति अन्य आवश्यक सबै खर्च जोड्दा जम्मा खर्च रु.१ करोड ७५ लाख लाग्ने उनीहरुले सुनाए ।  



हिमाल र पत्रकारितासम्बन्धी यो सगरमाथा अभियानको उद्देश्य र लक्ष्य थाहा नपाउँदासम्म सुरुमा मैले अलि नकारात्मक सोचेको थिएँ कि यत्रो प्रतिब्यक्ति ३५÷३५ लाख खर्च गरीगरी यी फुच्चीहरुलाई हिमाल किन चढिरहनुपरेको होला ? मैले मनमनै हिसाब गरेको थिएँ कि यो रकम बरु एकजना गरिब बेरोजगार महिलालाई रु.२० हजारको दरले तरकारी वा गोलभेडा खेती गर्न दियो भने ८ सय ७५ जनाले त्यो रकमको सदुपयोग गर्न सक्ने रहेछन् । ८ सय ७५ जना मात्र नभई अन्यलाई पनि रोजगारी हुन सक्ने त्यो रकमको उत्पादनशील उपयोग हुन सक्थ्यो र त्यसको चक्रिय प्रभावले गुणात्मक बृद्धि हँुदा सानो जस्तो लाग्ने कामबाट पनि अर्थतन्त्रमा नै गति पुग्न सक्थ्यो । अहिले वित्तीय बजारमा लगानीयोग्य रकमको अभाव भइरहेकोले मेरो मनमा यस्तै बिचारले प्रश्रय पाइरहेको थियो । 
मैले अप्रत्यक्ष रुपमा यही भावको अलिकति कुरा राखे । यसको जवाफमा सो आरोहण अभियानकी एक सदस्य रोजिता बुद्धाचार्यले हिमाल आरोहणमा पनि सरसामान बोक्नेदेखि लिएर अन्य सम्बन्धित काममा धेरैले रोजगारी पाउने बताइन् । तर रकमको उत्पादकीय उपयोगले अर्थतन्त्रमा पर्ने गुणात्मक असरबारे मैले रोजितासँग थप बहस गर्न चाहिन । किनकि यो छुट्टै छलफलको बिषय हो । तर मेरो मनले भने अझै गोलभेडा खेतीको नै वकालत गरिरहेको थियो । 
तर उनीहरुकोे सगरमाथा आरोहण केवल हिमाल चढ्ने मात्र नभई हिमाल पत्रकारिताको माध्ययमबाट हिमाल र पर्यावरण संरक्षणलाई सँगसँगै लैजाने बिषयले भने मलाई अवश्यै घच्घच्यायो । किनभने उनीहरुको यो पर्यावरण संरक्षणको प्रयासबाट लाखौं तरकारी खेतीहरुलाई सकारात्मक प्रभाव पर्ने कुरा मेरो मस्तिष्कमा बिजुलीको किरणझै झिलिक्क चम्कियो । किनभने अहिलेको यो विश्वकीकरणको प्रभाव, विकास र औद्योगिकरण, खानी उत्खनन, अनेकांै ग्यास उत्सर्ग गर्ने कारखानाहरुले निम्त्याएको हदैसम्मको प्रदूषण र ग्लोबल वार्मिङको असरले खेतीपाती, वातावरण, मौसम र सम्पूर्ण पर्यावरण नै प्रभावित बनेका छन् । भनिन्छ यस्तै असरहरुले पृथ्वी क्रमशः तातिदै गइरहेको छ । नेपालकै कुरा गर्ने हो भने ऋतु अनुसार परिवर्तन हुनुपर्ने मौसम त्यसरी स्वभाविक रुपमा परिवर्तन भएको देखिँदैन । सजिलोको लागि हामी भन्ने गर्छौ ‘ग्लोबल वार्मिङ’ । भनेको बेलामा वा चाहिएको बेलामा आकाशबाट पानी पर्दैन । पर्दैन पर्दैन अनि एकैचोटी बहुला पानी बर्षन्छ बाढी नै आउने गरी । सिंचाईको अभाव र आकाशे पानीको भर पर्ने हाम्रो खेतीबारी कि त अति सुख्खाले बाँझो नै हुन्छन् कि त अधिक बर्षाले बाढी आएर खेत बगरमै परिणत हुन्छन् । केही वर्षयता यस्तो क्रम बढ्दै गएको छ । झमझम पर्ने वर्षात अब टाढा हुँदै गएको छ । प्रदूषणको कुहिरोले सहरहरुलाई र अधिकांश मधेशलाई ढपक्कै ढाक्ने गरेबाट जाडोमा अति जाडो र गर्मीमा सहनै नसकिने अति गर्मी बढ्दै गएको छ । प्रकृतिलाई मान्छेले हदैसम्मको दोहन गरेको प्रतिफल हो यो । 
यस्तो प्रतिकूलताबाट पृथ्वी अर्थात् जल, जमिन, वातावरण, मौसम, हिमाल, पहाड, तराई सबै र सम्पूर्ण पर्यावरणलाई जोगाउन जरुरी भएको छ । सगरमाथा जस्तो राष्ट्रिय सम्पदालाई पनि बढ्दै गएको प्रदूषणबाट जोगाउनु पर्छ । केही वर्षअघिको जस्तो हिमालहरु हिमाल जस्ता छैनन् । क्रमशः तिनीहरु काला पहाडमा परिणत हुँदैछन् । समयमै पर्नुपर्ने पर्याप्त हिमवर्षाको अभावमा । संसारभरि पानीको अभाव बढ्दैछ भनिँदै छ । नचाहिने बेलामा कतै हिउ त कतै अधिक वर्षा र बाढीको प्रकोप पनि सुनिन्छ । यसरी विपरीत दिशामा गइरहेको पर्यावरणलाई पहिलाकै जस्तो गरी प्राकृतिक तवरमै चल्न सजिलो बनाउन पाकृतिक सम्पदा र वातावरण जोगाउन यी पत्रकार बहिनीहरुको जस्तै अभियानको खाँचो छ । महंगै भए पनि उद्देश्य र लक्ष्य राम्रो छ । यतिमात्र नभई यो सम्पूर्ण महिलाहरुको लागि नै उनीहरु पनि पुरुष सरह नै सगरमाथा आरोहण गर्न सक्षम छन् भन्ने एक सशक्तिकरणको अभियान पनि हो । साथै उनीहरुका अनुसार आगामी पाँच अप्रिलमा सुरु हुने यो आरोहण हिमालकी रानी स्वर्गीय पासाङ लाम्हुको सम्झना र सम्मानमा पनि हो ।
यी उद्देश्य बोकेका साहसी पत्रकार महिला हिमाल आरोहीहरुलाई ब्यवसायीहरुले, सम्बन्धित पक्षले र सरकारी क्षेत्रबाट पनि सहयोग र प्रायोजन होस् भन्ने कामना गर्दै प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ का सहभागी महिला आरोहीहरुलाई शुभकामना सम्पूर्ण आकाशको । 

Related News