मैले चिनेको पुष्पलाल

दृष्टि न्यूज

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) । कमरेड पुष्पलालका विषयमा धेरैले धेरै कुरा लेखिसकेका छन् । तर, म उनको व्यक्तिगत जीवनसँग निकै प्रभावित भएको छु । मैले देखेको पुष्पलाल सादा जीवन, उच्च विचारका धनी थिए । नेकपाको संस्थापक पुष्पलाल सरल, अध्ययनशील र संघर्षशील व्यक्तित्व थिए । यही विशेषताका कारण धेरै नेताहरु त्यतिबेला त्यागी थिए । देशका लागि केही गरौं भन्ने भावना थियो, त्यो त्यागभित्र । आज मुलुकमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यसको पछाडि पुष्पलालको ठूलो योगदान छ । पुष्पलालले वामपन्थी र प्रजातन्त्रवादी मिलेर निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्नुपर्ने कुरा बारम्बार उठाउँदै आएको भए पनि नेपाली कांग्रेसका नेता विपी कोइरालाले नमानेका कारण तीस वर्षसम्म मुलुकमा निरंकुश शासन व्यवस्था स्थापित भयो । र, अन्त्यमा पुष्पलालले भनेझै ०४६ सालमा कांग्रेस र वामपन्थी मिलेर पञ्चायती व्यवस्था ढाले । यसबाट के शिक्षा लिन सकिन्छ भने पुष्पलाल विपी कोइरालाभन्दा पनि दूरदर्शी रहेछन् । अझ विपी कोइरालाले त राजासँग मिल्नुपर्छ भनेर ‘मेलमिलाप’को नीति अगाडि सारेका थिए । प्रस्तुत छ, त्यतिबेलाको केही सम्झना ः 
सन् १९७०  को दशक । स्थान, जगदम्बा नेपाली धर्मशाला रहेको बनारसको दुधबिनायक चोक । जहाँ नेपालका विभिन्न ठाउँबाट अध्ययनका लागि आएका विद्यार्थीहरुको भलाकुसारी गर्ने थलो थियो । समय बिहान ७ः३० बजेको आसपास हुनुपर्छ । 
म त्यहीँ चोकमा रहेको नथुने सरदारको चिया पसलमा पसे, मेरो चिया नआउदै मेरो अगाडि एक जना गोरो, मोटो कालो फ्रेम भएको चश्मा लगाएका आकर्षक व्यक्तित्व आएर  बसे । त्यो चिया पसलमा आएर उनले दैनिक पत्रपत्रिका पढ्ने गर्थे । त्यस दिन उनले आफ्नो झोलाबाट एउटा सानो स्टिलको मग झिके र चिया पसलेले दुई तीन कप चिया त्यो कपमा हालिदिए । र फेरि  चियाको चुस्की लिँदै पत्रिका पढ्न व्यस्त भए ।
यस्तो थियो मेरो नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलालसँगको पहिलो जम्काभेट । उनी त्यसै उद्देश्यबिहीन तरिकाले त्यहाँ चिया खान आएका थिएनन् । त्यसको भित्री उद्देश्य के हुन्थ्यो भने, सर्वप्रथम त नेपाली विद्यार्थीहरुसँग हेलमेल बढाई उनीहरुमा वाम बिचारप्रति आकर्षण पैदा गर्ने दोस्रोमा निःशुुल्क पत्रिका पढ्न पाउने अवसर र तेस्रोमा चियाको पैसा पनि त्यहाँ उपस्थित कुनै न कुनै नेपाली विद्यार्थीहरुले खुशी साथ तिरिदिन्थे । किनभने चियाका लागि उनीसँग खर्च गर्ने पैसासमेत हुँदैन थियो । 
यसको विपरीत त्यही कालखण्डमा बनारसमै निर्वासनमा रहेका विश्वेश्वरप्रसाद कोइरालाको जीवनशैली  भने हामी विद्यार्थीहरुको नजरमा चमकदमकपूर्ण नै थियो । बिपी मामुरगंज भन्ने स्थानमा भारत सरकारद्वारा उपलब्ध गराइएको सुरक्षागार्ड र गाडीसहित बस्थे । हामीजस्ता सामान्य विद्यार्थीहरुका लागि विपीसम्मको पहुँच कठिन नै थियो ।
कमरेड पुष्पलाल दुधविनायकबाट दुई तीन मिनेटको दूरीमा रहेको गणेश दीक्षित लेनको घर नं. के २९÷३० मा एउटा कोठा लिएर बसेका थिए । यसपछिका दिनहरुमा कमरेड पुष्पलालका अनन्य सहयोगी कमरेड बलराम उपाध्यायका माध्यमबाट मेरो पुष्पलालसँग भेट हुन थाल्यो र म क्रमशः वामविचारप्रति आकर्षित हँुदै गएँ । यही बेला मोहन विक्रमसिंह पनि दुधबिनायक छेउमै रहेको थपा कोठीमा बस्थे । त्यो बेलामा लगभग दुई तीन हजारको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनका लागि बनारसमा बस्दथे ।
 
हामी विद्यार्थीहरुलाई थाहा भए अनुसार पुष्पलालको खर्च उहाँकी धर्मपत्नी साहाना प्रधानले पद्मकन्या क्याम्पसमा पढाएको तलबले चल्थ्यो । त्यो थाहा पाएर त्यतिबेलाको पञ्चायती सरकारले त्यो तलब पनि रोकिदिएको थियो भन्ने सुनिएको थियो । समग्रमा भन्नु पर्दा  नेपाल कम्युनिष्ट पाटीका संस्थापक कमरेड पुष्पलालको आर्थिक अवस्था निकै सोचनीय नै थियो ।
कमरेड पुष्पलालले धेरै पहिले देखेको सपना आज आएर नेपालमा कम्युनिष्ट पार्टीको सरकार गठनले पूरा भएको छ, तर आजका कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली आफ्ना संस्थापकको भन्दा अत्यन्त फरक किसिमको छ, उनीहरुको द्रव्यमोह र विलासी जीवनशैलीले गर्दा नेपाली जनताको विश्वास र पुष्पलालको सपना दिगो हुने आधारहरु अझै खडा हुनसकेको छैन । अहिलेका नेताहरुको सम्पत्ति विवरण नै करोडौं करोडको छ । जीवनभर राजनीति गरेका हाम्रा वाम नेताहरुमा त्यत्रो सम्पत्ति कसरी आयो ? सिद्धान्त, विचार र समर्पण गरेका पार्टी कार्यकर्ता ओझेलमा पर्दै गएका छन् । सामन्तीहरुकै पार्टीमा बोलवाला छ । जसले बढी चन्दा दिन्छ उनै सांसद, मन्त्री, राजदूत बन्ने हिलेका नेताहरुको सम्पत्ति विवरण नै करोडौं करोडको छ । जीवनभर राजनीति गरेका हाम्रा वाम नेताहरुमा त्यत्रो सम्पत्ति कसरी आयो ? सिद्धान्त, विचार र समर्पण गरेका पार्टी कार्यकर्ता ओझेलमा पर्दै गएका छन् । सामन्तीहरुकै पार्टीमा बोलवाला छ । जसले बढी चन्दा दिन्छ उनै सांसद, मन्त्री, राजदूत बन्ने परिपाटी नेकपाभित्र हुर्कदै गएको छ । पार्टीभित्र मौलाएको यो राजनीतिक विकृति पक्कै पनि पुष्पलालको सपना थिएन । उनीले सम्पूर्ण देश र जनतालाई समानता र समृद्धितर्फ लैजान नेकपाको स्थापना गरेका थिए । अहिले नेकपाको दुईतिहाइको सरकार छ । यो सरकारले इमान्दारिताका साथ देश र जनताको पक्षमा काम गर्ने हो भने पाँच वर्षभित्र आम नागरिकको जीवनमा परिवर्तन आउने छ । होइन भने दुईतिहाइको ‘ह्याङ’ले कम्युनिष्ट पार्टी बदनाम हुनेछ ।
rmshghimire@yahoo.com
 

Related News