स्थिर सरकारको प्रतिक्षामा जनता

काठमाडौं, २६ मंसिर । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनको पक्षमा जनलहर देखिएको छ । स्थानीयदेखि केन्द्रसम्मै बामपन्थीको सरकार बनाउने उद्घोषसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका मुलुकका प्रमुख प्रगतिशील शक्ति ऐक्यबद्ध भएर चुनावी अभियानमा होमिएका थिए । उनीहरुले घोषणा गरेअनुरुप नै जनताबाट मत प्राप्त गरेका छन् । 
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेश दुवैमा स्पष्ट दुई तिहाई बहुमत प्राप्त गरेको छ । एमाले एक्लैले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा ८१ स्थानमा जित हासिल गर्दै छ । त्यसैगरी माओवादीले ३६ सिट जित्ने देखिएको छ । यो दुवै सिट जोड्दा १ सय १७ सिट हुन्छ । प्रतिनिधिसभामा प्रत्यक्षमा १ सय ६५ स्थानका निम्ति निर्वाचन भएको थियो ।
त्यसैगरी समानुपातिकतर्फ पनि नेकपा एमालेले नै अग्रता लिएको छ । त्यसमा माओवादी समेत जोड्ने हो भने करिब दुई तिहाईको नजिक बाम गठबन्धन पुग्ने देखिएको छ । प्रदेशतर्फ पनि १, ३, ४, ५, ६ र ७ मा बाम गठबन्धनको वर्चस्व स्थापित भएको छ । प्रदेश २ मा बाहेक सबैमा बामपन्थी सरकार बन्ने निश्चित भएको छ । प्रदेश ६ मा त नेपाली कांग्रेस थ्रेसहोल्डबाट बालबाल बचेको छ ।
बाम गठबन्धनको पक्षमा आएको यो जनलहरले दलहरुबीचको एकता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेन्डा अनुमोदित भएको छ । यसैगरी संविधानसभाबाट जारी संविधानको पक्षमा जनताले बलियो मत दिएका छन् । संविधानप्रति दुराग्रह राख्ने र अस्पष्ट धारणा दिने दलहरुलाई जनताले बहिष्कृत गरेका छन् । संविधान जारी हुँदा र भइसकेपछि कांग्रेसले दोहोरो भूमिका खेलेको थियो । भारतीय नाकाबन्दीको विरोध गर्न नसक्नेहरु पनि जनताबाट तिरष्कृत भएका छन् ।
शक्तिको उन्मादमा राज्यका संरचनाबीच असन्तुलन पैदा गर्ने, संवैधानिक निकायहरुसँग अवैधानिक तवरले सेटिङ चलाउने, भ्रष्टाचारमा लिप्त हुने र मुलुकलाई कुशासनको भासमा लैजाने विगतको कांग्रेस नेतृत्वको सरकारप्रति आजित जननाको वितृष्णाको मत पनि बामपन्थीको पक्षमा परेको छ । यसो हुनुको कारण दुई प्रमुख परिवर्तनकामी शक्तिहरु राजनीतिक स्थायित्व र समृद्धिको नारा लिएर एक ठाउँमा उभिनु पनि हो । नाम नागरिक अब राजनीतिक एजेन्डामा रुमलिन चाहँदैनन् । ००७ सालदेखि मुलुकले राजनीतिक परिवर्तनका नाममा धेरै ठूलो समय खर्च गरिसकेको छ । धेरै नेपालीले राजनीतिक व्यवस्था परिवर्तनका निम्ति बलिदानी दिएका छन् । यी कैयौँ पुस्ताले गरेको त्याग, बलिदानी र संघर्षलाई पुँजीकृत गर्दै अब आर्थिक समृद्धिका माध्यमबाट स्थायित्वको सुनिश्चितता खोज्नु जनादेशप्राप्त शक्तिहरुको अबको दायित्व हो ।
मुलुकमा रोजगारी नपाएर लाखौँ युवा अहिले पनि खाडी, मलेसियालगायत मध्यपूर्वको श्रमबजारका जोखिमपूर्ण क्षेत्रमा सस्तो श्रम बेच्न बाध्य छन् । तिनलाई स्वदेशमै अवसरको सिर्जना गरी राष्ट्र निर्माणमा परिचालन गर्न सक्नुपर्छ । दुवै बाम शक्तिले चुनावअघि गरेको प्रतिबद्धताअनुरुप एकता गर्नुपर्छ । त्यसपछि पाँच वर्षमा गर्ने न्यूनतम विकास निर्माण, जनजीविका सुधार र सुशासनसम्बन्धी प्रस्ट मार्गचित्र तयार गर्नुपर्छ । त्यो कार्यक्रम लागू गर्न सक्ने टिमलाई सरकारमा पठाउनुपर्छ । कुनै नेताका आफन्तलाई जागिर दिने वा शक्ति सन्तुलन गर्ने नाममा सधैँ शक्तिमा रहेर तर मारिरहेकाहरुलाई भन्दा नयाँ, इमानदार र योग्यतम अनुहारलाई मौका दिनुपर्छ । सरकारमा रहँदा गर्न हुने र नहुने व्यवहारको आचारसंहिता बनाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्छ । व्यक्तिगत स्वार्थका निम्ति राष्ट्रलाई घात पु¥याउने, बिचौलियाबाट प्रभावित हुने र नातावाद कृपावादलाई प्रोत्साहन दिने मन्त्रीलाई प्रधानमन्त्रीले तत्काल कारवाही गर्न सक्नुपर्छ । विगतमा संक्रमणकालका नाममा दण्डहीनतालाई प्रश्रय दिने काम गर्नुहुँदैन ।
बाम गठबन्धनलाई प्रचण्ड बहुमत दिनुको अर्थ स्थायी सरकार बनोस् र त्यसले लागू गर्न खोजेको जनहितकारी कार्यक्रम बिनाअवरोध सम्पन्न होस् भन्ने नै हो । दुवै बाम शक्ति र यसको नेतृत्वका निम्ति इतिहासले सुम्पेको अभिभारा पनि हो । यसप्रति इमानदार र प्रतिबद्ध भएर अघि बढेमा यो मुलुकको समृद्धि पनि सम्भव हुनेछ । आफ्नो जन्मभूमि त्यागेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरी मुलुकप्रति नयाँ आशा र भरोसाको सञ्चार संसारभरिका नेपालीमा हुनेछ । विश्वभर छरिएर रहेका नेपाली प्रतिभाहरुलाई राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरेर समेत यो सन्देश दिन सकिन्छ । 
तर, फेरि पनि उही सत्ता लोलुप, अस्थिर र अन्य शक्तिबाट परिचालित भई मुलुकलाई कमजोर बनाउने, मुसा प्रवृत्तिको पुनरावृत्ति गर्ने हो भने जनताले फेरि यो अवसर दिने छैनन् । जनताबाट दण्डित भइसकेपछि फेरि विश्वास जित्न मुस्किल पर्नेछ । ०४८ सालयता कांग्रेसले जनमतको अपमान गर्दा जुन अवस्था बेहोर्नुपरेको छ, आज प्रचण्ड बहुमतका वाहक वाम शक्तिहरुले भोलि योभन्दा क्रूर यथार्थको सामना गर्नुपर्ने पनि हुन सक्छ । जनतालाई अपमानित गर्दा राजा ज्ञानेन्द्रले गद्दीच्युत हुनुप¥यो । शेरबहादुर देउवा मात्र होइन, आज सिंगो कांग्रेस पार्टी नै रसातलमा पुग्नुप¥यो । भोलि बाम गठबन्धनका घटकहरु पनि त्यही अवस्थामा पुग्न नपरोस् भन्ने कुरा वाम गठबन्धनका नेताहरुले यतिबेला मनन गर्नुपर्छ ।
संविधान जारी भएको, मुलुक नयाँ व्यवस्थामा प्रवेश गरेको र तमाम आन्दोलन एवं उथलपुथलका कारण मुलुकको आर्थिक समृद्धिको मृगतृष्णामा बाँचेको नेपाली समाजलाई एउटा उत्साहका साथ राष्ट्रिय भावधारामा समाहित गर्दै परिचालन गर्न सकिएन भने त्यो चाँडै नै निराशामा परिणत हुनेछ । निराशा बढ्दै आक्रोशमा परिणत भएमा ५ वर्ष पनि शासन गर्ने अवसर नमिल्न छ । त्यसैले नेताहरुले छातीमा हात राखेर, आफू जन्मेको धर्तीको माटो छोएर र भावी पुस्तालाई हृदयमा राखेर इमानका साथ काम गरुन् । जनताको अपेक्षा र जनादेशले पनि यही भन्छ । 

Related News