​मलेसियाको टुंगो अझै लागेन

दृष्टि न्यूज

काठमाडौं । जेठ २ गतेदेखि मलेसिया रोजगारका लागि जाने  नेपालीहरु रोकिएका छन् । श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली युवाहरुसँग चर्को शुल्क लिएको भन्दै मलेसिया जाने सम्पूर्ण प्रक्रिया खारेज गरिदिएका थिए । मन्त्री विष्टको उक्त निर्णपछि मलेसिया रोजगारीका लागि भीषा लाखेका करीब १८ हजार युवा अलपत्र परेका छन् । भीषाका अवधि तीन महिनाको हुन्छ । जेठ २ गते अगाडि भीषा लागेका व्यक्तिहरु तीन महिनाभित्र जान पाएनन् भने उनीहरुको भीषा रद्द हुने मात्र होइन, मलेसिया जान उनीहरुले बुझाएको रकम समेत डुब्ने छ ।
यस विषयमा सरकारले मलेसिया सरकारसँग नयाँ सम्झौता गर्ने प्रयास गरेको छ ।  तर, मलेसियाका गृहमन्त्री स्वास्थ्य उपचारका लागि सिंगापुर गएको हुँदा भीषा लागेका युवाहरुलाई के गर्ने भन्ने कुरा अन्यौलमै छ । नेपालले ‘जी टु जी’को माध्यमबाट मलेसिया श्रमिक पठाउने कुरामा मलेसिया सरकार तयार भए पनि भीषा लागिसकेका श्रमिकलाई अर्को व्यवस्था नभएसम्म रोजगारका लागि पठाइदिन आग्रह गरेको छ । तर, नेपाल सरकारले अर्को सम्झौता नहुँदासम्म भीषा लिइसकेका युवालाई के गर्ने भन्ने निर्णय लिएको छैन ।
मलेसियाको रोजगारसँग गाँसिएको यति गम्भीर कुरामा नेपाल सरकारले समयमै निर्णय गर्नुपर्छ र ‘जी टु जी’को प्रक्रिया अगाडि बढाउनु  पर्छ । स्रोतका अनुसार नेपालको प्रस्तावमाथि मलेसिया सरकार सकारात्मक छ । नयाँ श्रम सम्झौता भएमा मलेसिया जाने युवाहरु पाइला पाइलामा ठगिनबाट जोगिने थिए । श्रममन्त्री विष्टको चिन्ता र प्रयास पनि यही नै हो । यस बाहेक जापान, कतारलगायतका देशमा पनि नेपाली श्रमिकको माग बढ्दो छ । श्रममन्त्री विष्टले अन्य राम्रो गन्तव्य पनि खोजिरहेको समाचार स्रोत बताउँछ ।

Related News