​मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

दृष्टि न्यूज

जोहानेस्बर्ग, (एजेन्सी) । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति एवं महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मंगलबार सम्बोधन गरेका छन् । 
उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका थिए । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ । यस वर्ष उनको १००औँ जन्मदिन हो । तर, मंगलबारको यस समारोह उनको १००औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ । 
बाराक ओबामा सन् २०१७ मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिएर निस्किएपछि सार्वजनिक समारोहमा खासै उपस्थित भएका थिएनन् । तर, नेल्सन मण्डेलालाई भने ओबामाले आफ्नो जीवनको प्रेरणाको रुपमा लिँदै आएका छन् । 
मंगलबार यस अवसरमा आयोजना भएको कार्यक्रममा १५ हजार भन्दा बढी सहभागिता रहेको छ । 
दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा रहेको ठूलो क्रिकेट रंगशालामा समारोहको आयोजना गरिएको छ । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ । 
सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात थिए । उनले दक्षिण अफ्रिकामा रंगभेदविरुद्ध लामो संघर्ष गरेका थिए । 

Related News