किताब : ‘खान्नुवो’ माङखिम

डा. तुलसी भट्टराई 

कान्छो सन्तान भएका कारण मैले दाजुदिदीहरूभन्दा अवश्य केही वर्ष बढी समय दूध चुस्न पाएँ । पछि त लाज लाग्दै भए पनि आमाको दूधमा झुन्डिएँजस्तो लाग्छ ।

आमाबिना त मलाई हुँदै हुन्नथ्यो । आमाको साथ अनिवार्य चाहिन्थ्यो । आमा कतै जानुभो कि पुच्छरे लागिहाल्नुपथ्र्यो । आमालाई अरूले भन्थे, ‘ओको आम पुच्छरे । अर्थात्, यो तिम्रो पुच्छरे हो ।’

उहाँ भन्नुहुन्थ्यो, ‘ओसाआलो अक ढाक्रे बिस्कुटा चोचियु (यसले त एक ढाकर बिस्कुट खाइसक्यो) ।’

हामी दुई दाजुभाइले निसहाय भएर आमालाई बिदा ग¥यौं । जसले धर्तीमा टेकाउनुभो, आँखा देखाउनुभो, उहाँलाई नै हामीले समाधिस्थ ग¥यौं ।


‘कोसी बौलाएको बेला’ र ‘आमाबिनाको घर’ यी दुई आत्मस्मृतिपरक निबन्ध पढेपछि सचित राई अर्थात् परिचित युवा पत्रकार, कवि भाइलाई ‘राम्रा निबन्धकार’ उपाधि दिन मन लागेको छ । यी दुई निबन्ध पढेपछि जो कोही पनि भावविह्वल हुन सक्छ ।

एक्लै ! एक्लै !! एक्लै !!!
फगत एक्लो म
म मान्छे !
यतै कतै हराइरहेको छु
मानौं दरखास्त पेस गरिरहेछु
आपाआमाको सिफारिस बोकेर
...कुरुक्षेत्रको रथ हाँकेर ।
(दरखास्त)

कवि सचित राई साढे तीन दशकअघि बाँझो–६, नागी, इलाममा भक्तबहादुर–मनरानी राईका कान्छा छोरा भएर जन्मिएका रहेछन् । सचितानन्द राई अर्थात् सचित राई मूलतः यति बेला पत्रकारका रूपमा सुपरिचित छन् । ‘पूर्व जाने हो’ लोकगीति एल्बमबाट उनको प्रतिभा जाग्न थालेको देखिन्छ । त्यसो त उनले राज्य पुनःसंरचना र संविधानसभामा केन्द्रित रही विभिन्न अन्तर्वार्ता समेटेर ‘नयाँ नेपाल’ शीर्षकमा कृतिसमेत प्रकाशन गरेका छन् ।

मेरो हातमा यति बेला १६ वटा शीर्षकमा छरिएको, ६६ पृष्ठमा टंकित अक्षर सामग्री छ । सरसर्ती पढिसकें । समाज, राजनीति, पत्रकारिता, साहित्य, यात्रा वर्णन, माओवादी द्वन्द्व, अध्यात्म, जीवनी, संस्मरण... भनौं धेरै प्रकारका सामग्रीले भरिएको छ— यी १६ शीर्षकभित्र यो एकप्रकारको रिपोर्ताज शैलीको निबन्ध कृतिजस्तो पनि छ ।

जहानियाँ राणा शासनको विरोधमा नेपाली कांग्रेसले २००७ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिका एक जना विशिष्ट योद्धाको नाम रामप्रसाद राई हो । उनलाई नै पात्र बनाएर रचिएको छ यस संग्रहको पहिलो रचना ‘रामप्रसादको रामकहानी’ । उति बेलाका योद्धा रामप्रसाद राई आजसम्म पनि रहस्यकै गर्भमा छन् । भारतीय स्वतन्त्रता आन्दोलनका वरिष्ठ नेता सुवासचन्द्र बोस जसरी हराए, गुमनाम भए तर आज पनि उनका बारेमा खोजी अनुसन्धान गर्ने क्रम चलिरहेकै छ । त्यस्तै नेपालको २००७ सालको सशस्त्र क्रान्तिको नेतृत्व तहका योद्धा सेनानी रामप्रसाद राई डा. केआई सिंहसँगै नेपालबाट भागेर चीनतर्फ गएको भन्ने मात्रै चर्चा हुने गर्छ । तर, यथार्थ अज्ञात छ । यिनै रामप्रसादका बारेमा स्रष्टा सचितले सशक्त ढंगबाट खोजपूर्ण सामग्री प्रस्तुत गरेका छन् ।

‘त्यस बेलाका रत्न’ शीर्षकभित्रका मूल नायक रत्नकुमार बान्तवा २०२७–०३० को झापा विद्रोहका सशक्त नेता हुन् । उनी इलामका र झलनाथ खनालहरूसँगै पार्टीमा सक्रिय रहेर काम गरेका व्यक्ति थिए । लेखकले बान्तवाबारे राम्रोसँग सोधखोजसहित अनुसन्धानपरक, विवरणात्मक निबन्ध तयार पारेका छन् ।

यही व्यक्तिपरक सन्दर्भमा रचिएको ‘सुन्तलाबारीमा बूढीआमा’ इलाम क्षेत्रकी जागरुक, जुझारु महिला सरस्वती राईसँग सम्बन्धित छ । सरस्वती राईको यथार्थ पक्ष उल्लेख गरिएको यस आलेखबाट महिलाहरूलाई जुझारु बन्न उत्प्रेरणा मिल्नेछ ।

‘फलामसिंहको फैलावट’ले प्रसिद्ध समाजसुधारक गुरु फाल्गुनन्दको जीवनी व्यक्तित्वसँगै किरात धर्म, मुन्धुम, स्वामी प्रपन्नाचार्य हुँदै यस परम्पराका वर्तमान गुरु आत्मानन्द लिङ्देनसम्मको विवरण छ । त्यसैगरी, ‘धर्मगुरुको गाउँ’का माध्यमबाट माङ्मालुङ, लारुम्बा आदि आध्यात्मिक जगत्को चर्चा छ । यसभित्र स्वामी ज्ञानदिलदास, जोसमनी सम्प्रदायका बारेमा ज्ञानवद्र्धक सामग्री प्रस्तुत छ । यसै प्रसंगभित्र मिल्ने अर्को रचना हो, ‘शाकाहारी माङ्मालुङ’, यसमा धार्मिक पर्यटन र आध्यात्मिक पक्षबारे विस्तृत विवेचना गरिएको छ ।

‘पानीढलोको बाटो’ यात्रात्मक देखिए पनि यस रचनाबाट राँके, रवि, चिसापानी पञ्चमी, घुर्बिसे आदि क्षेत्रका हाटबजारलाई माओवादी द्वन्द्वले कसरी विस्थापित ग¥यो भन्ने कुराको जानकारी पाइन्छ । यसमा लेखकको विद्यार्थी बेला, किशोरावस्थाका स्मृति विम्ब छरिएका छन् । यो बहुपक्षीय विषय संयोजन भएको रचना हो ।

‘छापामारलाई बयान’मा माओवादी द्वन्द्वका समयमा पत्रकार सचितलाई निकै अप्ठ्यारोमा पारेको प्रसंग छ । ‘पाँच हजारको यात्रा’ करिब १२ वर्षअघि काठमाडौंलाई कर्मथलो, शिक्षाथलो बनाउन प्रवेश गर्दाको लेखकीय आत्मगत विवरण हो । दसैं बहिष्कार गरेर आफ्नो रीतिथिति, सांस्कृतिक पक्ष भित्र्याउन, उत्प्रेरणा जगाउन रचिएको देखिन्छ, ‘दसैंको लडाइँ’ । ‘जबर्जस्त पत्रकारिता’ र ‘पत्रकारिताको गाँठो फुकाउँदा’ यी दुवै रचनाले शीर्षकअनुसारकै विषयवस्तु पस्केका छन् । पत्रकारिताको प्रसंगसँगै इलाम क्षेत्रको पत्रकारिताको इतिहास बुझ्न सहयोग दिन्छन् यी रचनाले ।

‘घरको पिङ’ २०७२ वैशाख १२ गते शनिबार मध्यान्हको भूकम्पसँग सम्बद्ध छ । काठमाडौं घट्टेकुलोस्थित लेखक निवासभित्रको भूकम्पीय मनोविश्लेषण छ यस रचनामा । २०७२ वैशाखले घरको पिङ खेलाएकै हो सबैलाई । १० हजारजतिको मृत्यु र ठूलो संख्याका घाइते अनि घरबासविहीनहरूको कुरो । यसबारे धारणा, चिन्तन मात्र होइन, कतिपयमा मृत्युबोध पनि भएकै हो । ‘भूकम्पविशेष’ भनेर दर्जनौं पत्रपत्रिकामा सयौं लेखरचना आइसकेका छन् ।

आमालाई नाम्मिट (बुहारी) देखाउन नपाएकोमा मलाई पनि थकथक लाग्न थाल्यो । .......नसोचेकै हुँदोरहेछ आखिर । अब आपालाई भए पनि नाम्मिट देखाउने उत्कट इच्छा पलाएर आयो ।

तीन वर्षअघिदेखि जोहो गरिएकी अर्थात् सोममा बाँधिएकी भए पनि सचितकी टायामाको मुख आमाले हेर्न पाउनुभएनछ ।
आमाको निधनपछि तपाईंको माया बढेर गयो । पुष्पा अर्थात् सचितकी टायामाले कताकता सचितप्रति आमाको निधनसँगै अझ गहिरो भाव जगाउन थालेको यसबाट देखिन्छ ।

भूकम्पका बेला स्रष्टा—पत्नी पुष्पाको गर्भमा ९ महिना प्रवेश गरिसकेको सन्तान छ । त्यसकारण भूकम्पको थर्काइले गर्भले संसार देख्नै नपाउने हो कि भनेर गर्भ सुरक्षाको चिन्ता छ । यसैकारण ‘घरको पिङ’को मनोदशा, मनोविमर्श बडो हृदयस्पर्शी छ । यस रचनामा हृदय खोलिएको छ । पढ्दै जाँदा के भो, कसो भो होला भन्ने खुल्दुली हुन्छ । तर, जब ‘नयाँ सम्बन्ध नयाँ जिम्मेवारी’ उपशीर्षकभित्र पसिन्छ अनि निनामहाङका रूपमा सचित र पुष्पाको प्रणयपरिणाम आएपछि मात्र मजस्तो पाठकको मन ढुक्क हुन्छ भने सचित–पुष्पाको मनस्थिति कस्तो थियो होला भन्ने कुरा अनुमानबाहिर छ ।

आधा दर्जनभन्दा बढी कृति, पत्रपत्रिका सम्पादन गरिसकेका, दर्जनजति संघसंस्थामा रहेर सेवा पु¥याउँदै आएका स्रष्टा भाइ सचितको यस कृतिबारे अरू धेरै भनिरहनु नपर्ला ।

थपिरहे÷थपिरहेछन्
थपिरहन्छन् क्यारे
मान्छे भ्रमहरू
मास्तिर उक्लिएको बहानामा
फेदी बिर्सने मान्छेहरू
अर्काे भ्रमको खेती गरिरहेछन्

‘अर्को भ्रम’ कविता संग्रह प्रकाशन गरिसकेका अनि सत्+चित्+आनन्द— प्राप्तिमा संघर्षरत चुप्पाङ निछा श्री सचितको प्रस्तुत कृतिबारे धेरै भनिरहनुपर्ने छैन । मान्छे जीवनकालभरि नै भ्रमको खेती गरिरहन्छ भनेर उहिल्यैदेखि दार्शनिकहरूले भन्दै आएका कुराप्रतिको विश्वास होला– सचितजीको यो ‘अर्को भ्रम’ । धेरै लेख्न थाल्दा म नै भ्रममा पर्छु । तसर्थ यावा सचितको यस ‘माङखिम’ कृति विशेष खान्नुवो (उत्कृष्ट–राम्रो) भित्र पर्छ भन्दै यति खेरचाहिँ मेरो कलम रोक्तै छु ।
 
                                                                        पत्रकार/लेखक सचित राईको खोजमूलक कृति ‘माङखिम’बाट

Related News