​पैसाकै लागि छाडा बन्नु छैन– मञ्जु पौडेल, गायिका

दृष्टि न्यूज

एक कुसल गायिका हुन् मञ्जु पौडेल । तर, यतिले मात्र उनको परिचय खुल्दैन किनकि, उनी एक कुसल कार्यक्रम सञ्चालिकाका साथै अभिनेत्री पनि हुन् । दर्जनौ गीतका गायिका मञ्जुले सयाँै स्टेज कार्यक्रम गरिसकेकी छन् । गायन र उद्घोषण कलालाई एकसाथ अँगाल्दै आएकी यी गायिका अब अभिनयमा पनि होमिएकी छन् । उनी अभिनीत फिल्म ‘पोखराकी काली’ रिलिज हुन बाँकी छ । यिनै बुहप्रतिभा भएकी मञ्जुसँग एमपी सुब्बाको जम्काभेट : 
तपाइँ गायिका, नायिका वा कार्यक्रम प्रस्तोता के भन्दा हुन्छ ?
म कलाकार मञ्जु पौडेल हुँ । दर्शकश्रोताले जसरी चिन्नुभएको छ, म त्यही हुँ । म राम्रो कार्यक्रम प्रस्तोता हुँ । तर, त्यसपछि गायिकाको परिचय पनि बनाएकी छु । पछिल्लो समयमा मैले अभिनयको पाटोमा पनि हात हालेकी छु । चलचित्र ‘पोखराकी काली’मा सानो भुमिका निर्वाह गरेकी छु ।
गायनमा व्यस्त हुँदाहुँदै अभिनयतिर किन नि ? 
एउटा रहर हो । अर्को कुरा अभिनयमा मोडिनेबितिकै गायन र उद्घोषणलाई चटक्क छाड्ने पनि हैन । जसरी उद्घोषण गर्दागर्दै गायनतिर हात हालेँ, त्यसरी नै अभिनयमा लागेकी हुँ ।
उद्घोषण र गायनयात्रा कसरी सुरु गर्नुभयो ?
२०६० सालमा बुटवलमा आरजे टेनिङ आयोजना गरिएको थियो, जसमा उत्कृष्ट हुनेलाई रोजगारको पुरस्कार राखिएको थियो । सो ट्रेनिङमा उत्कृष्ट भएर बुटवल एफएममा काम गर्ने मौका पाएँ । त्यसपछि २०६५ सालमा काठमाडौं आएँ । गीतसंगीतको कार्यक्रम संचालन गर्दै जाँदा मलाई गीतसंगीतको पनि मोह बढ्यो र गायनतर्फ पनि मोडिएकी हुँ । 
दुवै क्षेत्रलाई निरन्तरता दिँदै आउनुभएको छ ? 
गायन र उद्घोषलाई एकैसाथ अँगाल्दै आएकी छु । २०६२ सालमा पहिलोपटक मैले तीज गीत रेकर्ड गराएको थिएँ । बिरहको तीज बोलको उक्त गीतले तत्कालीन संकटकालीन समयलाई सम्बोधन गरेको थियो । त्यसपछाडि यो मितिसम्म आइपुग्दा मैले ४ वटा एल्बम ल्याएकी छु भने ३५ वटा जति गीतमा स्वर दिएको छु । 
उद्घोषण र गायन कुन सजिलो लाग्छ ?
उद्घोषण वस्तुस्थिति, आयोजक, अडियन्स हेरेर काम गर्नुपर्छ । यसमा अत्यन्तै चुनौतीहरु हुन्छन् । कार्यक्रम सफल बनाउनुमा कार्यक्रम सञ्चालकको पनि ठुलो हात हुन्छ । मलाई उद्घोषण भन्दा गायन सजिलो लाग्छ ।
तपाइँलाई दोहोरी गायिका भन्दा स्वीकार्नुहुन्छ ?
मैले धेरै दोहोरी गाउँछु । तर, यसो भन्दैमा म दोकदोहोरी गायिका होइन । दोहोरी बाहेकका गीतलाई पनि न्याय गर्न सक्छु, गाउन सक्छु भने कसरी लोकदोहोरी गायिकामात्र भनेर आफ्नो परिचयलाई साँघुरो बनाउँ । जस्ट गायिका हुँ, कलाकार हुँ ।
हिजोआज दोहोरी गीतमा उच्छृंखल शब्द प्रयोग गरिन्छ, किन ? 
सर्वप्रथम दोहोरी खेलिनु भनेको रमाइलोका लागि हो । गीत गाउँदा अनुशासनमै बसेर गीत गाउन जरुरी छ । अडियन्सले जिब्रो टोक्ने खालको गीत गाएकी छैन । 
विदेश कार्यक्रममा जाने कलाकारको पहिलो पंक्तिमा पर्नुहुन्छ । के कारणले आयोजकको रोजाइमा पर्नुहुन्छ ?
म सकरात्मक सोचकी हुँ । सरल छु, आयोजकसँग सहज भइदिन्छु । एकपटक बोलाएको आयोजकले प्रायः दोहो¥याउनु हुन्छ । यो छोटो सांगीतिक करिअरमै १६ वटाभन्दा बढी देश पुगिसकेकी छु ।
यहाँँसम्म आइपुग्दा कत्तिको संघर्ष गर्नुप¥यो ?
संघर्ष गरेरै यहाँसम्म आएकी हुँ । कुनै पनि सफलता पाउनको लागि मेहनत गर्न पर्छ । अझै पनि म संर्घषरत छु । 
अहिले बजारमा आइरहेका गीतसंगीतलाई कसरी लिनुहुन्छ ?
यो पनि एउटा विकास हो । गीतसंगीतको निर्माणमा प्रविधिको विकासलाई सदुपयोग गरेर नयाँ नयाँ गीतसंगीत निर्माण भइरहेका छन् । तर, हामीले गीत संगीत बजारमा ल्याउँदा कि लोकप्रिय बन्नुप¥यो कि भने मौलिकतालाई प्रमुखतामा राख्नुप¥यो । व्यक्तिपिच्छे युट्युव च्यानल हुनु र आफ्नो यु–ट्युबमा भ्युअर्स बढाउनकै लागि ग्ल्यामर र भल्गर फोटो राखेर उत्तेजक हेडिङ राखेर गीत राखिएको हुन्छ, यो सबै नेपाली गीतसंगीतभित्रका विकृति हुन् ।
तपाइँको यु–ट्युब च्यानल छैन र ?
अहिले प्रविधिको जमाना छ । मेरो पनि बिएमएस फिल्मस् नामको युट्युव च्यानल छ । तर, म भ्युुअर्स बढाउनकै लागि गलत प्रक्रिया अपनाएकी छैन । पैसाकै लागि छाडा हुनु मलाई छैन । 

Related News