​मनको बाघ र वाम एकता

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटा नदीको दुई किनार जस्तै थिए । यिनको मिलन असम्भव जस्तै थियो । राजनीति भनेकै स्वार्थको खेल हो भन्ने कुरामा विश्वास गर्नेहरुले त्यो असम्भवलाई सम्भवमा बदल्ने प्रयास गरिरहेका छन् । यसमा ओलीको स्वार्थ प्रचण्डलाई जसरी भए पनि फकाई फुल्याई गरेर पाँचै वर्षसम्म प्रधानमन्त्री खाने छ भने, प्रचण्डको दाउ सबैभन्दा पहिला आफू ठूलो दलको अध्यक्ष बनेर शक्ति हातमा लिने र त्यसपछि सबैलाई ठेगान लगाऊ भन्ने छ । यी दुई नेताहरुको भित्री दाउ एक अर्काले नबुझेका होइनन् । बुझेर पनि बुझ पचाएका कारण पार्टी एकता गर्ने भनेर जनतालाई आजका मितिसम्म उल्लु बनाइरहेका छन् । वास्तवमा यो एकता ढिलाई हुनुको पछाडि अरु कोही नभएर ओली र प्रचण्ड नै जिम्मेवार छन् । पचास÷पचास प्रतिशतको भागबण्डा र एकतापछिको शक्तिशाली अध्यक्षको ग्यारेन्टी प्रचण्डको भित्री चाहना किन पनि हो भने एकतापछि प्रचण्ड ‘सेरेमोनियल’ अध्यक्ष होइन, चीनका राष्ट्रपति सी जिनपिङ जस्तै शक्तिशाली अध्यक्ष बन्न चाहन्छन् । प्रचण्ड सी बनेपछि ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलहरुको भविष्य के हुने ? एकातिर मनको बाघले एमाले नेताहरुलाई खाएको छ भने अर्कोतर्फ एकतापछि त्यही मनको बाघ वनको बाघ बन्लान् कि भन्ने डर पनि छ । अहिलेको वाम एकता सर्प, बिच्छी र भ्यागुताको कथामै रुमल्लिएको छ ।
हुन त दुई दलका अध्यक्षले सार्वजनिक रुपमै अब मिति नतोकिकन ड्याम्मै एकताको घोषणा गर्ने भनेका छन् । तर, मुखले भनेजस्तो सजिलो यो एकता छैन । सबै नेताको भविष्यको ग्यारेन्टी नगरी गरिने एकता त्यति दिगो पनि हुँदैन । प्रचण्डले भनिहाले– हतारमा निर्णय गरेर फुर्सदमा पछुताउन नपरोस् ।’ चुनावका लागि वाम गठबन्धन एमालेका लागि भन्दा पनि माओवादी अध्यक्ष प्रचण्डका लागि आवश्यकता थियो । कांग्रेससँग मिलेर स्थानीय चुनाव नलडेको भए रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर जित्न जति कठिन थियो, त्यति नै कठिन एमालेसँग नमिलेको भए प्रचण्डलाई चुनाव जित्न गाह्रो हुने थियो । यही कुरा बुझेर प्रचण्डले एमालेसँग मिलेर आफ्नो राजनीतिक भविष्य जोगाए । त्यो प्रचण्डको बाध्यता थियो । अब एकता गरे पनि नगरे पनि प्रचण्डलाई केही बाध्यता छैन । किनभने अहिले पनि प्रचण्ड ‘किङ मेकर’ का रुपमा छन् र उनैले यो एकता प्रक्रियाको हलो अड्काएका छन् । त्यो हलो उनले कसको इशारामा अड्काएका हुन् भन्ने कुरा पनि उनलाई बाहेक अरुलाई थाहा छैन । प्रचण्ड स्वार्थले मात्र ओलीलाई काँध थाप्न बाध्य भएका हुन् । अन्यथा, कता हाम फाल्थे, त्यो कुरा स्वयं प्रचण्डलाई पनि थाहा छैन । त्यो उनको स्वभाव नै हो । त्यतिबेला ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सुइको समेत प्रचण्डले दिएनन् । एकै पटक अविश्वास प्रस्ताव दर्ता गरेपछि मात्रै ओली छाँगाबाट खसे । ओलीले संसदको रोष्ट्रमबाट प्रधानमन्त्री पदबाट राजीनामा दिनेबेला जुन भावुकता र मार्मिकता प्रकट गरेका थिए, त्यतिबेला प्रचण्ड भित्रीरुपमा हाँसिरहेको दृश्य टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको थियो । त्यो कुनै नाटक थिएन, प्रचण्डद्वारा गरिएको राजनीतिक अपराध थियो । विश्वकै इतिहासमा सायदै सत्ता पक्षबाटै अविश्वास प्रस्ताव दर्ता भएको इतिहास होला । यतिसम्म अपराध गर्न सक्ने प्रचण्ड र त्यो अपराध सहन सक्ने ओलीको यात्रा कहाँ गएर टुंगिन्छ, अहिले नै यसै भन्न सकिन्न ।

Related News