​मनोज पुःनको इन्काउन्टर प्रकरण र अनुमान पत्रकारिता

दृष्टि न्यूज

डी.आर.घिमिरे । कुनै ब्यक्तिको चर्चा दुईवटा कारणले हुने गर्छ । एउटा सत्कर्म र अर्को कुकर्म । यस्तै कुकर्म गरेर रुपन्देहीका कुख्यात् मनोज पुन प्रहरीको इन्काउन्टरमा मारिएका छन् । उनी प्रख्यातीले हैन कुख्यातीले चर्चामा थिए । रुपन्देहीको देवदहका दुई जना होनहार युवा दुर्गा तिवारी र बलु पौडेल तथा काठमाडौंका निर्माण व्यवसायी शरद गौचनकोे हत्याअभियोगमा रहेका तिनै पुन अहिले कसरी र किन मारिए भनेर खोजबिन हुन थालेको छ । यस सन्दर्भमा अनुमानको खेती पनि भएको देखिन्छ । हिजो प्रहरीले पक्राउ गर्न नसकेकोमा आलोचना गर्नेहरु अहिले प्रहरीले पक्रेर किन मा¥यो भन्ने प्रश्न गरिरहेका छन् । राज्यले कसैलाई मारेर भन्दा पक्राउ गरी कानुनी कारवाही गर्नुपर्छ भन्ने सदासयताले हो वा प्रहरीले यस्तै काम गर्छ भन्ने सन्देशलाई प्रेषित गर्ने मनसायले हो यस्ता प्रश्न उठिरहेका छन् ।
त्यसो त यो घटनाको सन्दर्भमा सरकार बन्नु र नवन्नुसँग त्यति धेरै सरोकार छैन । प्रहरीको नियमित कामका दौरानमै यो घटना भएकोे पाइन्छ । तर, नियतवश प्रहरीले मारेको भन्ने आशय झल्कने गरी समाचार, टिप्पणी र सामाजिक सञ्जालमा जे–जस्ता सामाग्री प्रस्तुत भएका छन् तिनलाई तथ्यले पुष्टि गरेको छैन अहिलेसम्म । तथापि मानवअधिकार आयोगले अनुसन्धान गर्न थालेकोले तबसम्मका लागि यो विषयमा त्यति धेरै बहस गर्नु पनि असान्दर्भिक होला । 
हत्या पछिका दुईवटा सन्दर्भ
१. मनोजको लाश लुम्विनी अञ्चल अस्पतालमा पु¥याएपछि धेरैले आशंका गरे । के हत्या भएको ब्यक्ति मनोजनै हो ? यो जिज्ञासाको समाधानका लागि लाश हेर्नेको घुइँचो नै लाग्यो । परिस्थिति कस्तो भयो भने लाश उठाउनेहरु नै नजालान् भन्ने डर भयो । वास्तवमा उनीहरुमा लज्जाबोध हुनु स्वभाविक थियो । छिमेकी, बन्धुवान्धव कोही पनि सहानुभूतिसम्म प्रकट गर्न गएनन् । अहिले पनि घरमा त्यस्तै अवस्था छ । परिवार र नगिचका नातापाताबाहेक अरु कोही पनि गएका छैनन् । 
२. निश्चयनै कसैको हत्यामा  खुशी मनाउनु मानवीयता हैन तर, अपवादकै रुपमा मनोज पुन इन्काउन्टरमा मारिएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सुःखद् र खुशीका अभिव्यक्तिको बाढी नै आयो । ठूलै पर्व जस्तो महसुस गरियो । देवदह मात्र हैन देशैभरि सुःखद् क्षणको अनुभूति गरे धेरैले । धेरैले लामो स्वास फेरेर अब बाँचिने भयो भनेर खुशी भए । जबकि मानवअधिकारको हिसाबले एउटा व्यक्तिको इन्काउन्टरमै पनि हत्या हुनु दुःखद् पक्ष हो । गोली हान्नै परे घुँडा मुनी हान्ने मान्यता छ । तर, दुष्ट्याइको हद नाघेपछि र क्रुरताको पराकाष्टा भएपछि यो अवस्था आउने रहेछ । एउटा ब्यक्ति जव दुष्कर्मतिर लाग्दछ त्यसपछि यतिसम्म आतंक मच्चाउन सक्छ भन्ने कुराको पनि यो एउटा उदाहरण हो ।
हत्या पूर्वका पाँच सन्दर्भ 
पहिलो दुई दिनदेखि मनोजले रुपन्देही प्रवेश गरेको चर्चा जिल्लामा थियो । मनोजबाट थ्रेट आएका केही ब्यक्तिहरु सिद्वीचरण भट्टराई र विष्णु पौडेललगायतलाई प्रहरीले भनेको थियो– मनोज भित्रिएको छ । कुनै घटना हुनसक्छ । सुरक्षित भएर बस्नु होला ।
दोस्रो धकधई क्षेत्रमा मनोजलाई देख्नेहरु केही ब्यक्ति थिए । जसले आफूलाई थप असुरक्षित भएको महसुस गरी सुरक्षाको माग गरेका थिए । यस्ता ब्यक्तिमध्ये ज्ञानु तिवारी एक हुन् जसले कसैको मुखबाट सुनेको बताएका छन् कि ऊ धकधईमा हिंडेको अवस्थामा केहीले देखेका थिए ।
तेश्रो देवदहकै ज्ञानु तिवारीको अनुभव छ– बलुको हत्यापश्चात् प्रहरीले सो क्षेत्रलाई असाध्यै निगरानीमा राखेको थियो । हरेक ब्यक्तिलाई आवतजावतमा पनि दुःख थियो । त्यस अर्थमा दुई तीन दिनदेखि मनोज नेपाल आउनु र गाउँठाउँमै मारिनुले इन्काउन्टरमै हो भन्ने कुरा स्वभाविक जस्तै देखिन्छ ।
चौथो काठमाण्डौको एउटा अनलाइनले अघिल्लो दिन मनोज पक्रेको समाचार प्रकाशन गर्यो र त्यसको भोलिपल्ट क्षमायाचनासहित खण्डन प्रकाशित गर्यो । पुष्टी नभएको समाचार आफैँ खण्डन गर्नु पत्रकारिताको धर्म भएकोले सो धर्म पूरा गरेको देखिन्छ । सामान्यतः प्रकाशित समाचारलाई खण्डन गर्नुभन्दा पुष्टि गर्नेतर्फ नै जोड दिने प्रचलन भएकोले सो खण्डनलाई पनि अर्थपूर्ण रुपमानै हेर्नु पर्ला शायद । 
पाँचौ फाल्गुण ९, २०७४ को बिहानै मनोज पुनको हत्यापूर्व नै मनोज पक्राउ परेको अनुमान सार्वजनिक भएको थियो । त्यो सूचना कसरी बाहिर आयो भन्ने कुराको पत्तो लागेको छैन तर, जानकारहरु प्रहरीले नै सूचना चुहाएको भन्ने गर्छन् । प्रहरी प्रशासनभित्रको राजनीतिले पनि शायद काम गरेको छ यसमा ।
यसरी हेर्दा अहिले नेपाली पत्रकारितामा अनुमान पत्रकारिताको प्रयोग भइरहेको हो कि भन्ने देखिन्छ । कुनै पनि तथ्य बाहिर नआउनु वा नल्याइनु तर, प्रहरीले पक्रेरै मारेकै हो भनिनुले यो आशंका गर्नु अन्यथा हुने छैन । अहिले विभिन्न अनुमानहरु एकपछि अर्को गरी सामाजिक सञ्जाल तथा फ्याट्टफुट्ट कतिपय मिडियामा पनि आइरहेका छन् । तथ्य र प्रमाणविनाका अनुमानले आशंका र अन्यौल थपिएको छ । निश्चय नै मानव अधिकारको दृष्टिमा राज्यले कानुन हातमा लिन मिल्दैन । मृत्युदण्ड नेपालमा बर्जित छ । यसो भनिरहँदा राज्यले कानुन हातमा लिएको निष्कर्षमा पुग्नुपर्ने हुन्छ । के निष्कर्ष यही नै हो ?
संयोग फागुन १२ गतेको नागरिक दैनिकमा अनुमान पत्रकारिताको भविष्य शीर्षकमा एउटा लेख छापिएको छ । फ्रेन्च अफ प्रिन्सटनका सह–प्राध्यापक क्रिस्टी वामपोलको उक्त लेख र रुपन्देही देवदहको मनोज पुन इन्काउन्टर प्रकरणलाई जोडेर हेर्दा एउटा राम्रो र रोचक बहस सृजना गर्ने देखिन्छ । 
 सामाजिक सञ्जालमा आएका कुरा सत्य हुन वा हैनन् ? हुन् भने तिनको पुष्ट्याई जरुरी हो वा हैन ? प्रहरीले पक्राउ गरेर ल्याएको हो भने कसले कतिवेला कोसँग भनेको हो ? यसको कुनै लिखत वा कथ्य छ कि छैन ? ल्याएको हैन भने अनुमान पत्रकारिता गरेर आनन्द लिन पाइने कि नपाइने ? वामपोलले प्रश्न गरेका छन् – के अनुमानले हामीलाई यस्तै अकल्पनीय आनन्द प्रदान गर्दछ ? के एक दक्ष पत्रकार बन्न ज्योतिषि नै हुनुपर्ने हो ? यी र यस्ता प्रश्नको उचित जवाफ पाउनु पर्ने हैन ?
वामपोलले सोही लेखमा पेसागत पत्रकार समाजको हवाला दिँदै भनेका छन्– पत्रकारले कुनै कुरा अनुमानका आधार लेख्नु भनेको हिंसा गर्नुभन्दा पनि ठुलो जोखिम हो । आचारसंहितामा अनुमानका विषयमा त्यस्तो कुनै कुरा उल्लेख गरेको छैन । उसो भए पत्रकारिताको माध्यमवाट हिंसाजन्य काम भएको हो वा हैन ? यदि हो भने यो गंभीर विषय हुनु पर्ने हैन र ? 
यद्यपि दुर्गा तिवारी र बलु पौडेलको हत्या हुँदा मानवअधिकार आयोगले विज्ञप्ति निकाल्यो निकालेन भन्ने जिज्ञासा पनि अहिले उठेको छ । तर, यसपटक राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख बुद्धनाराण सहानीले प्रहरीलाई गम्भीर आरोप लगाउँदै भनेका छन्– इन्काउन्टरका नाममा आपराधिक घटना र हत्यामा संलग्न अभियुक्तहरूको बाँच्न पाउने अधिकारलाई समाप्त पारेको छ । सरकारी आयोगले यसो भनिरहँदा उसँग निश्चय नै केही प्रमाणहरु होलान् भन्ने अनुमान लगाउन सकिन्छ । सँगसँगै आयोगप्रति यो प्रश्न उठेको छ कि किन आयोगले घटनास्थल वरपरका ब्यक्तिलाई सोधखोज गरेन ?
गोवाको कुरा प्रायोजित ?
मनोज पुनलाई भारतको गोवामा पक्राउ गरि नेपाल ल्याइएको प्रचार एक दुइदिन देखि उच्च तवरमा गरिएको थियो । मानव अधिकार आयोगले भनेजस्तै इन्काउन्टरका नाममा हत्यामा संलग्न अभियुक्तको बाँच्न पाउने अधिकारलाई समाप्त पारेको हो वा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भनेजस्तै प्रायोजित समाचार प्रकाशन वा प्रशाारण गरिएको हो ? यसको यकिन तथ्यले मात्र गर्दछ । 
प्रहरी अधिकारीका अनुसार मनोजका सहयोगीहरुमध्ये धेरैलाई प्रहरीले कारवाहीको दायरामा ल्याइसकेपछि उसको प्रभाव र दवाव कमजोर हुंदै गएको थियो । वलुको हत्या पछि धेरैजना कारवाहीको दायरामा पनि आएका थिए । तुलवहादुर सिंजालीलाई कतारवाट नेपाल ल्याएर केरकार गर्न थालिनु, दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग मनोजको सम्वन्ध रहेको तथ्य सार्वजनिक हुनु, समिरमानसिंह बस्नेतलाई भारतबाट पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले ल्याउन सक्नु, उनलाई सघाउने मुख्य सुटर गोम्बो र पदम चौधरी पक्राउ पर्नु, घटनामा संलग्न अन्यसमेत गरी १६ जना पक्राउ पर्नुजस्ता एकपछि अर्को घटना भएपछि मनोज नेपाल आएर शक्तिसञ्चय गर्न थालेको अनुमान गरिएको थियो । सवैजसो सहयोगी पक्राउ परेपछि क्रमशः नगिच रहेकाहरुले नै छोड्दै जाने भएकोले उसले आफ्नो दवाव र प्रभाव कायमै छ भन्ने देखाउनका लागि केही घटना तत्काल गराउनै पर्ने भएकोले ऊ नेपाल प्रवेश गर्यो । त्यस अवस्थामा कथंकदाचित आफू पक्राउ परिहालेमा इन्काउन्टरका नाममा मारिने डरले पहिल्यै पक्राउ गरेको हल्ला गराएर सुरक्षित हुने रणनीति अख्तियार गरेको आशंका प्रहरी अधिकारीको छ । 
प्रहरीको दावी छ–त्यही योजना अनुरुपनै ऊ नेपाल छिरेको हो र त्यसै अनुसार सुरक्षा सतर्क बढाइएको थियो । माथि उल्लेखित ज्ञानु तिवारी र सिद्विचरण भट्टराईका भनाइले पनि यो कुरालाई पुष्टि गर्दछ । प्रश्न उठ्दछ– के एकजना गुण्डाले त्यति ठूलो विवेक पुर्याउन सक्छ ? उसको क्रियाकलापलाई नगिचवाट जान्नेहरुका लागि यो कुनै प्रश्न नै हैन । उसले नेपालमा प्रयोग गराउने सवैजसो सिम पर्यटकले प्रयोग गर्ने हुन्थे । सभा जुलुस वा हरेक कार्यक्रममा को कसरी हिंड्थे, कसले के भन्थे र यहाँसम्मकि पार्टीका बैठक, सर्वदलीय बैठक वा सुरक्षा संयन्त्रका वैठकका निर्णय तत्काल थाहा हुन्थ्यो । नागरिकता र पासपोर्ट दुई दुईवटा थिए । यी सवै काम सामान्य ब्यक्तिले गर्न सक्दैन ।
त्यसवाहेक देवदहकै एकजना युवाले हत्याको एकदिन पहिला रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीलाई म्यासेज पठाएर मनोज यतै कतै रहेको भरपर्दो सूचना आफूलाई प्राप्त भएको भन्दै विशेष निगरानी राख्न र आफ्नोसमेत ज्यान बचाइदिन अनुनयविनय गरेका थिए । यद्यपि मानवअधिकार आयोगले छानविन गर्ने भनेपछि उनी अझै पनि सार्वजनिक हुन चाहेका छैनन् ।  
उपर्युक्त तथ्यहरुले मनोज आफै नेपाल आएको हो भन्नका लागि केही तथ्यहरु पाइन्छन् । तर, इन्काउन्टरमै हो भन्नका लागि आयोगका क्षेत्रीय कार्यालय प्रमुख बुद्धनाराण सहानीको भनाइबाहेक अरु केही पाइँदैन । यदि सहानीले पनि अनुमानकै भरमा तीर सोझाएका हुन् भने यो ठूलो विडम्वना हुनेछ । अपराध नियन्त्रण गर्नेहरुलाई हतोत्साहित गर्ने परम्पराले शान्ति सुरक्षाको प्रत्याभूति हुन सक्दैन । यदि सहानीसँग प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्न जरुरी छ ।

Related News