​मोनोरेल होइन, खाल्डाखुल्डी पुर

रवीन्द्र श्रेष्ठ

रवीन्द्र श्रेष्ठ । अहिले फेरि मोनोरेलको चर्चा शुरु भएको छ । चक्रपथमा मोनोरेल निर्माणसम्वन्धी प्रारम्भिक प्रतिवेदन चिनियाँ कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकालाई बुझाएको छ । तर के अहिले काठमाडाँैमा मोनोरेल चाहिएको हो कि पहिला सडकका खाल्डाखुल्डी पुर्न आवश्यक छ ?
चक्रपथमा मोनोरेलका लागि ११६०० करोड रुपैयाँ लाग्ने बताइएको छ । तीन वर्षमा सो काम सम्पन्न हुने भनिएको छ । वास्तवमा अहिलेको आवश्यकता भनेको मोनोरेल होइन कि यहाँ भएका सडक, ढल तथा खानेपानीको समस्या हल गरिनु हो । ढल निकासको सही समाधान नभएकाले यहाँको सभ्यताका मुहान नदी नालाहरु ढलमती बनेका छन् । खानेपानी समस्याले पिरोलेको धेरै भैसक्यो । मेलम्ची अझै ढिला हुने समाचार आइरहेका छन् । ढल निकासको उचित प्रवन्ध गरेर नदी नालाहरुमा ढल होइन कि पानी बग्ने बनाइदिएमा जनता खुशी हुने थिए । 
यहाँका सडकहरुका खाल्डाहरु पुर्ने र सडक हिलो तथा धुलोमुक्त बनाइदिएमा यी ऐतिहासिक नगरहरु सुन्दर र स्वस्थ हुने थियो । विदेशीहरुसामु देशले शीर निहु¥याउन पर्ने थिएन । 
खानेपानीको उचित प्रबन्ध, ढल निकास तथा सडक सफा र खाल्डो मुक्त बनाउन ११६०० करोड रुपैयाँले पुग्ने थियो । यी नगरी नहुने काम नगरी अहिले नै मोनोरेलको कुरा गर्नुको अर्थ छैन । चक्रपथमा मोनोरेल नभए पनि ठूलो समस्या आइलाग्ने छैन । तर खानेपानी, ढल निकास र सडक सफा र खाल्डो मुक्त भएन भने गम्भीर समस्या आउन सक्ने हुन्छ । 

Related News