​मनोरेलको प्रतिवेदन बुझाइयो

काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिका र साइमेक्स इंकबीच काठमाडौंमा मनोरेल सञ्चालन गर्ने सम्भाव्यता अध्ययनको लागि गत फेब्रुअरीमा सम्झौता भएको थियो ।
उक्त सम्झौता बमोजिम साइमेक्स इंकले चिनियाँ बिवाईडी कम्पनीसँग मिलेर गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन आज बिहान एक समारोहकाबीच साइमेक्स इंकका अध्यक्ष प्रशिद्धबहादुर पाण्डेले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभयो ।  समारोहमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत महानगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो ।
चार महिना लगाएर तयार पारिएको मनोरेलको सम्भाव्यता अध्ययन जर्मनी र बेलायतका विज्ञहरुले गरेका थिए । तीन महिनाभित्र सम्भाव्यता अध्ययन रिपोर्ट बुझाउने भनिए पनि स्थानीय निकायको निर्वाचनका कारण एक महिना ढिलो बुझाइएको साइमेक्स इंकले बताएको छ ।
उक्त प्रतिवेदनअनुसार तिलगंगाबाट एयरपोर्ट हुँदै तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, सहिदगेट हुँदै त्रिपुरेश्वर, कालिमाटी र कलंकीसम्मको सम्भाव्यता अध्ययन गरिएको छ ।
यस विद्युतीय मनोरेलमा १० किमीसम्म ब्याट्री ब्याकअप रहेको छ । आधुनिक प्रविधिबाट बनाइएको यो मनोरेल चीनको विभिन्न सहरमा प्रयोगमा आइसकेको छ । एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यस मनोरेल प्रतिघण्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने कुरा साइमेक्स इंकले जनाएको छ ।

 

Related News