​यस्ता पनि मन्त्री ?

काठमाडौं, २७ भदौ । शेरबहादुर देउवा २०५२ मा प्रधानमन्त्री हुँदा खोभारी रायले संसदीय ब्यवस्थाकै बदनाम हुनेगरी ठमेलका डान्स रेष्टुरेन्टमा बन्दुक प्रदर्शन गर्नेदेखि धेरै तान्डवनृत्य देखाएका थिए । २२ बर्षपछि तिनै देउवा प्रधानमन्त्री भएपछि उनको मन्त्रिपरिषद्मा खोभारी राय प्रवृत्ति पुनः दोहोरिएको छ । 
शेरबहादुर देउवाको मन्त्रिपरिषदमा जिल्ला भ्रमणमा जाँदा झन्डावाल गाडी नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई गालीगलौज गर्ने गोपाल दहितदेखि २०५८ मा तत्कालीन शाही नेपाली सेनाको दाङ ब्यारेक आक्रमणमा माओवादीलाई गाडी दिने डिल्लीबहादुर चौधरी पनि छन् । आफूलाई झण्डावाल गाडी नपठाएको भन्दै भूमिसुधारमन्त्री गोपाल दहितले गएको भदौ ३ गते मुक्त कमलरी परिचयपत्र बितरण कार्यक्रममै प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठलाई गालीगलौज गरेका थिए । उनका लागि स्थानीय प्रशासनले कृषि कार्यालयको गाडी पठाएको थियो । यसअघि अरु मन्त्री दाङ जाँदा पनि यो गाडी नै प्रयोग गरेका थिए । तर, गाडीमा झण्डा नभएको भन्दै मन्त्री दहितले सीडीओ श्रेष्ठविरुद्ध आक्रोस पोखेका थिए ।
श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीमाथि सेनाको दाङ ब्यारेक आक्रमणमा तत्कालीन विद्रोही माओवादीलाई गाडी दिएको आरोप छ । उनको बेस नामक एनजीओको गाडी ब्यारेक आक्रमणमा प्रयोग भएको आरोप छ । 
आयल निगमको जग्गा खरिद प्रकरणमा डेढ अर्ब भ्रष्टाचार गरेको आरोप लागेका दीपक बोहरा जोगिनका लागि विज्ञान तथा प्रविधि मन्त्रीमै भए पनि चित्त बुझाएर गएका छन् । उनी पंचायतकालदेखि गणतन्त्रसम्म पटक पटक मन्त्री भइसकेका र कराडौं सम्पत्ति कमाउन सफलमध्येमा पर्दछन् । देउवा सरकारमा उनलाई मन्त्री नबनाउने चर्चा चले पनि अन्ततः विज्ञान मन्त्रीसमेत उनले खान छाडेनन् ।   
२०४९ देखि २०७४ सम्म चौध पटक मन्त्री भइसकेका विजय गच्छेदार पनि देउवा सरकारमा अटाएका छन् । उनी पटक पटक भौतिक पूर्वाधार मन्त्री भएर आफ्नो भौतिक उन्नतिमा शिखर पुगिसकेका छन् ।
देउवा सरकारका शिक्षा मन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनमा भएको अनियमितताबारे छानबिन समिति बनाए । समितिले साझाका महाप्रबन्धक डोलिन्द्र शर्माले साझा बचाउन दिएको अनुदान दुरुपयोग गरेको प्रतिवेदन दियो । तर उनले त्यो प्रतिवेदन घर्रामा लुकाएर साझाका भ्रष्ट अध्यक्ष र महाप्रबन्धक डोलेन्द्र शर्मालाई संरक्षण गरेका छन् । शर्मासहित संचालक समिति सदस्यले राजीनामा दिए पनि मन्त्री श्रेष्ठले डोलिन्द्रलाई नै कामकाज गर्नेगरी पठाएर अर्को रमिता देखाएका छन् ।    
गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ नियुक्त हुनासाथ निवास नपाएर स्वयम्भूस्थित पीस होटलमा कार्यकर्ता भेट गरेको र नक्कली नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा विवादमा परेका थिए । रामेछाप घर भएका पूर्व प्रहरी निरीक्षक प्रेम लामाको पीस होटलमा अहिले पनि राज्यमन्त्री श्रेष्ठको बाक्लो आउजाउ छ । 

Related News