​मतदाता शिक्षा दिँदै, भोट माग्दै गिरिराजमणि

१७ मंसिर, महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार माओवादी नेता गिरिराजमणी पोखरेलले चुनावी सभामा मतदातासँग अन्तरक्रिया र मतदाता शिक्षालाई बढी प्राथमिकता दिएका छन् । चुनावी सभा भन्ने बित्तिकै नेता आउने, लामो भाषण गर्ने र मत माग्ने अनि सभा बिसर्जन हुने परम्पराविपरीत पोखरेलले भने अलि फरक तरिका अपनाएका छन् । 
पोखरेल मतदाता माझमा पुग्ने पोखरेल पहिले मतदाताको कुरा सुन्छन् अनि आफ्ना कुरा राख्छन् । हरेक सभामा मतदान कसरी गर्ने भन्ने भनेर सिकाउँछन् । समय अभाव भयो भने पोखरेल आफू बोल्ने समय छोट्याउँछन् । तर मतदाता शिक्षा अनिवार्य सिकाएकै हुन्छन् ।
मधेसका जनतामा मतदाता शिक्षाको एकदमै खाँचो रहेको उनको भनाइ छ । ‘तीन वटा मतपत्रमा ४ ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ, धेरैलाई यो कुरा सिकाउँदै छु,’ पोखरेलले भने ‘अहिले वामपन्थी एकता भएको छ । हँसिया हथौडा र सूर्य दुबै चुनाव चिन्हमा मतदान गर्नुपर्छ भनेर सिकाएको छु ।
चुनावी अभियानमा रहेका पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक वडामा मतदाता शिक्षा दिनको निम्ति छुट्टै टोली बनाएका छन् । पोखरेलको चुनावी अभियानमा पूर्व सांसद दुर्गाजयन्ती राई र फुलकुमारी महतोले चुनावी शिक्षा दिइरहेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिकाको गौरीडाँडामा रहेको सामुहिक आवास ‘आधारशिला’मा पोखरेलको बसोबास छ । यसअघि ०६४ र ०७० सालमा भएको निर्वाचनमा पोखरेल यही क्षेत्रबाट बिजयी भएका थिए । सांसद र मन्त्री हुँदा जिल्लाको समग्र विकासमा क्रियाशील रहेकाले फेरि पनि चुनाव जित्नेमा पोखरेल ढुक्क छन् ।  

Related News