​त्रिपालबाटै मतपेटिकाको सुरक्षा

रोल्पा, मंसिर २० । पहिलोचरणको निर्वाचन सम्पन्न भएर मतपेटिका लिबाङ आइपुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र मतपेटिका उच्च सुरक्षाका साथ राखिएको छ । मतपेटिकाको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी रहेको छ । त्यसपछि पार्टीका कार्यकर्ता समेत टेन्ट बनाएर मतपेटिकाको सुरक्षामा खटिएका छन ।
गत १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सदरमुकाममा केन्द्रित गरिएका मतपेटिकाको कडा सुरक्षा गरिएको छ । पार्टीका प्रतिनिधिहरु मतपेटिका आएकै दिनदेखि मतपेटिकाको रक्षामा लागेको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । उनले भने सुरक्षा दिने पहिलो जिम्मेवारी हाम्रो नै हो तर पनि उहाँहरु बस्नुभएको छ ।
जिल्लाका ४ सय ८० मतपेटिका रहेका कोठामा २–२ वटा ताला लगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ताहरू आलोपालो बस्दै आएका छन् । दलका कार्यकर्ता आवतजावत गर्ने भएपछि मतपेटिका राखिएको स्थानको सुरक्षा थप व्यवस्थित पारिएको छ ।

Related News