​मैत्रीय बचत तथा ऋण सहकारीको ११औँ वार्षिक साधारणसभा

दृष्टि न्यूज

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले वित्तीय क्षेत्रमा सहकारीको योगदान उच्च रहेको प्रस्ट पारेका छन् । पूर्वप्रधानमन्त्री चन्दले मुलुकमा सञ्चालित सहकारीले आर्थिक क्षेत्रमा रचनात्मक काम गर्दै गएको जिकिर गरे ।
भक्तपुरको बालकोटस्थित मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभाको गत शनिबार उद्घाटन गर्दै उनले अर्थतन्त्रमा सहकारी मोडेल प्रभावकारी भएको दाबी गरे । बजारमा छरिएर रहेको सानो–सानो पुँजीलाई जम्मा पारेर सदस्यको जीवनस्तर उकास्ने कार्य सहकारीले गर्ने गरेको उनको तर्क थियो । ‘तीनखम्बे अर्थनीतिमा सहकारी सबल खम्बा बन्दै गएको छ,’ उनले भने, ‘सहकारीकै कारण आज मुलुकको आर्थिक विकासमा टेवा पुगेको छ ।’
सामान्य परिवारले पनि सहकारीमा आफूले कमाएको रकम जम्मा गर्न र ऋण झिक्न सक्ने अवस्थाको सिर्जना भएको पूर्वप्रधानमन्त्री चन्दको भनाइ छ । उनले सहकारीमार्फत व्यक्तिको उद्यमशीलतामा विकास भएको र जीविकोपार्जनमा समेत सहयोग पुगेको दाबी गरे । ‘सानो उद्यम गर्ने व्यवसायीलाई सहकारीले सहयोग पु¥याएको छ,’ उनले भने, ‘पुँजी अभावकै कारण सानातिना उद्यम रोकिँदैन । यो कार्य सहकारीले गर्दै आइरहेको छ ।’
भक्तपुरको बालकोटमा ११ वर्षअघि शुरु भएको मैत्रीय सहकारीले आर्थिक वर्ष ०७४–७५ मा विभिन्न क्षेत्रमा १९ करोड १७ लाख ४९ हजार कर्जा प्रवाह गरी २ करोड ४४ लाख ३५ हजार कुल आम्दानी गरेको छ । सहकारीमा अहिले करिब दुई हजार दुई सय सदस्य संख्या रहेको छ ।
सहकारीले समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको सहकारीका कोषाध्यक्ष दिवाकर सिलवालले जानकारी दिए । सहकारीका अध्यक्ष बालमुकन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा दैनिक, मुद्दति, नियमित बचत, असल कारोबार गर्ने र ज्येष्ठ नागरिक बचतकर्तालाई सम्मान एवं पुरस्कृत गरिएको सहकारी सञ्चालक समिति सदस्य नवीन उप्रेतीले जानकारी दिए ।

Related News