बेलायतबाट ‘मायाको संसार’

काठमाडौं, ७ असोज । तीन दशकदेखि बेलायतमा बसोबास गर्दै आएका स्याङ्जा क्याक्मीका  घनबहादुर थापा मगर गीति एल्बम ‘मायाको संसार’ लिएर दर्शक÷श्रोतामाझ आएका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उक्त एल्बमको विमोचन गरे । 
एल्बम विमोचनपछि गायक तथा संगीतकारसमेत रहेका रसिकले विदेशमा रहेका कवि÷कलाकारले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए । भने, ‘घनबहादुरजी त्यसैको एउटा उदाहरण हुनुहुन्छ ।’ 
पावल चाम्लिङको सोलो संगीत रहेको उक्त एल्बममाथि समीक्षात्मक मन्तव्य राख्ने क्रममा कवि भूपाल राईले नेपाली गीति क्षेत्रले मौलिकपनको खोजी गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘मायाप्रेमभन्दा माथि उठेर हामीले जीवनका पक्षमा गीत लेख्न जरुरी छ ।’ त्यसैगरी संगीतकार शान्तिराम राईले ‘मायाको संसार’ एल्बम गीत, संगीत र गायन पक्ष सबै कोणबाट अब्बल रहेको दाबी गरे । 
नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष एवं प्राज्ञ शशी लुमुम्बू, कवि तथा गीतकार उषा शेरचन,  गीतकार संघ, नेपालका महासचिव शुभ मुकारुङ, गीतकार भूपेन्द्र खड्का तथा नेपाली साहित्य विकास परिषद्, युकेका अध्यक्ष सुरेशजंग शाहले बोलेका थिए । कार्यक्रममा गायिका  श्रेयसी चेम्जोङले विमोचित एल्बमभित्रको ‘हुन्थ्यो होला...’ बोलको गीत गाएकी थिइन् भने स्वरुपराज आचार्यको स्वर रहेको ‘सागर जति गहिरो...’ बोलको गीतमाथि निर्मित म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । एल्बममा ६ वटा गीत समावेश गरिएका छन् । कृष्णा थापा मगरद्वारा प्रस्तुत एल्बम रिभेन्ज म्युजिक क्रियसनले बजारमा ल्याएको हो । 



 

Related News