​मिडियाको दायित्व

मिडिया समाज परिवर्तनको महत्वपूर्ण अंग हो । मिडिया क्षेत्रको विकास र विस्तारले समाजलाई दूू्रतगतिमा अगाडि बढाइरहेको छ । बिहान उठेदेखि बेलुकी नसुतेसम्म समाजलाई सूचनाको भोक जागेको हुन्छ । त्यो भोक मेटिएपछि मात्रै मानिसले आफूलाई सन्तुष्ट ठान्छ । यसै प्रसंगमा हामी मिडियाकर्मीले सोच्नुपर्ने कुरा के हो भने, हामीले गरेको पत्रकारिताबाट देश, समाज र जनता कति सन्तुष्ट छन् ? त्यतातिर ध्यान पु¥याउन नसक्दा मिडियाले जति विकास गरेको भए पनि त्यति विश्वसनीयता भने हासिल गर्न सकेको छैन । मिडियाप्रति आम जनतामा विश्वास नहुँदासम्म त्यसले समाज परिवर्तनका गतिलाई निरन्तरता दिन सक्दैन । सही सूचना, निष्पक्ष विचार र विश्लेषण मिडियाका प्रमुख आधार हुन् । त्यो कमजोर भयो भने देश, समाज र जनता कमजोर हुन्छ । देशलाइ समृद्ध, समाजलाई सभ्य र नागरिकलाई सकारात्मक बनाउने हो भने सबैभन्दा पहिला मिडिया जिम्मेवार हुनैपर्छ । यो चौतीस वर्षको पत्रकारिताको यात्राबाट मैले सिकेको पाठ यिनै हुन् । 
दृष्टि साप्ताहिक चौतीस वर्षमा प्रवेश गरिरहँदा देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय राजनीतिमा पनि धेरैखाले परिवर्तनहरु भए । ती परिवर्तनले चीनलाई  शक्ति राष्ट्रतर्फ उन्मुख गराउँदैछ, भारतलाई आर्थिक समृद्धिको बाटोमा डोहो¥याउँदै छ । यस बीचमा नामै नसुनेका खाडी मुलुकहरु एकाएक धनी राष्ट्र बनेका छन् । मलेसिया, सिंगापुर, दक्षिण कोरियालगायतका नेपाली गन्तव्य औद्योगिकीकरणतर्फ उन्मुख भएका छन् । चौतीस वर्ष अगाडि अमेरिका, जापानको तुलनामा यिनीहरु धेरै पछाडि थिए । तर, यो तीन दशकभित्रै यी देशका जनता आर्थिक समृद्धि हासिल गर्न सफल भए भने हामी कहाँनेर चुक्यौं ? अब यो कुराको पनि नेपाली मिडियाले विश्लेषण गर्नु जरुरी छ । राजनीतिक परिवर्तन गर्न सफल नेताहरु देश विकास गर्न किन असफल भइरहेका छन् ? नयाँ नेपाल निर्माण गर्न एकजुट भएका राजनीतिक दल संविधान कार्यान्वयनमा किन चुकेका छन् ? गणतन्त्र, धर्मनिरपेक्षता, संघीय राज्य नेपाली जनताको माग हो वा विदेशीले बोकाएका भारी हुन् ? सिमांकनका नाममा तराई पहाड छुट्याउने चाहना नेपाली जनताको हो कि दक्षिणबाट बगेको दुर्गन्ध ? अंगिकृतको नाममा किन कसैको टाउको दुःखिरहेको छ ? आदि प्रश्नको जवाफ नेपाली जनताले खोजिरहेका छन् । राजनीतिक दलको यसमा आ–आफ्नो स्वार्थ होला । तर, नेपाली जनताको स्वार्थ भनेको शान्त र समृद्ध नेपाल नै हो । यो प्रश्नमा नेपाली मिडियाहरु पनि विभाजित छन् । बोले पनि लेखे पनि राजनीतिक सिरानी हाले लेख्छन्, बोल्छन् । जसका कारण राजनीतिक परिवर्तनमा अहं भूमिका खेलेका नेपाली मिडियाले जनतालाई सही सूचना प्रवाह गर्न सकिरहेका छैनन् । यी मुद्दामा मिडिया विभाजित हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो । जुनसुकै देशका मिडिया पनि त्यस देशको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको पक्षमा एकमत भएर उभिने गर्छ, उभिनु पर्छ । मिडियाको धर्म भनेको पनि यही नै हो । 
यही कुरालाई आत्मसात गर्दै दृष्टि साप्ताहिक विगत चौतीस वर्षदेखि मिशन पत्रकारितामा समर्पित छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता दृष्टिको मूल मन्त्र हो । जुनसुकै आस्था र विचार बोके पनि त्यो राष्ट्रका लागि हुनुपर्छ भन्ने मान्यता दृष्टिले बोकेको छ । दृष्टि जन्मँदा राष्ट्र र राष्ट्रियताप्रति नेपाली जनताबीच जुन खालको भावना थियो, त्यो आज छैन । राजनीतिक स्वार्थका नाममा नेपाली नेपालीबीच जातीय द्वन्द्वको बिउ रोपिएको छ । हिमाल, पहाड र तराईका जनताले आज यति धेरै अधिकार पाउँदा पनि असन्तुष्ट छन् । संविधान कार्यान्वयन गरेर सिंगो देशलाई बलियो बनाउनु पर्नेमा प्रदेशको सिमांकन विवाद उठाएर देशलाई बिखन्डनतिर धकेल्दै छौं । गणतन्त्रमा प्रवेश गरिरहँदा देखिएका यस्ता समस्यालाई समयमा हल गर्न सकिएन भने राष्ट्र असफलतातर्फ जाने खतरा छ । नेपालको हित नचाहनेहरु यही असफलताको प्रतिक्षामा छन् । हामी नेपाली राजनीतिक पार्टीहरु जानेर वा नजानेर त्यही बाटोमा उन्मुख भइरहेका छौं । दुर्घटनाको डिलमा पुग्न लागेको राष्ट्रलाई जोगाउनु हामी सबैको कर्तव्य हो । त्यत्तिकै राष्ट्रकवि माधव घिमिरेले ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...’ भन्ने कविता कोरेका होइनन् भन्ने कुरा यतिबेला सबै नेपालीले मनन गर्नुपर्ने बेला आएको छ ।

Related News