मेहेनतले नै शिखरमा पुर्यायो– अनुपमा खुञ्जेली, सिईओ मेगा बैंक

दृष्टि न्यूज

‘क’ वर्गको वाणिज्य बैंकको पहिलो महिला सिईओ बनेर इतिहास रचेकी अनुपमा खुञ्जेली यतिबेला चर्चामा छिन् । धेरैले उनको सफलताको प्रशंसा गरिरहेका छन् । तर, यहाँसम्म आइपुग्न उनले गरेको मेहेनत भने धेरैलाई थाहा नहुन सक्छ । 
बैंकिङ करिअरमा सबैभन्दा तल्लो तह टेलरबाट उनले आफ्नो बैंकिङ करिअर सुरु गरेकी हुन् । तत्कालीन ग्रिनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड)मा टेलरको रुपमा बिहानदेखि बेलुकासम्म काम गर्दा उनलाई कहिलेकाहीँ लाग्थ्यो, ‘म यो जागिरलाई निरन्तरता दिन सक्दिन होला ।’ तर २७ वर्षको निरन्तरताले उनी अहिले बैंकिङ करिअरकै उच्च पद सिईओसम्म पुगेर बैंकिङ क्षेत्रमा इतिहास रचेकी छिन् । 
‘यो पदलाई मैले दुईवटा रुपमा लिएको छु,’ उनी भन्छिन्, ‘पहिलो अवसर, दोस्रो चुनौती ।’ महिलाहरुले पनि वाणिज्य बैंक मजाले हाँक्न सक्छन् भनेर देखाउनुलाई उनले आफ्नो प्रमुख अठोटका रुपमा लिएकी छिन् । आगामी ४ वर्षलाई सफलतापूर्वक बैंकलाई अघि बढाउने जिम्मेवारीमा खुञ्ज्ली दृढ छिन् । उनी भन्छन्,‘मेरो मूल्यांकन सुरु भएको छ, म एक्लै भन्दा पनि टिमवर्कले मिलेर काम गर्ने हो, हामी आफ्नो लक्ष्यमा पुग्छौं भन्नेमा म ढुक्क छु ।’ सिईओ पदलाई आफूले करिअरको नयाँ यात्राको रुपमा लिएको उनी बताउँछिन् । 
करिअरको नयाँ यात्रा 
मेगा बैंकको स्थापना नै अलि फरक शैलीमा भएको र धेरैभन्दा धेरै जनतालाई सेवा दिनु नै आफ्नो प्रमुख उद्देश्य भएको उनी बताँउछिन् । हलोदेखि हाइड्रोसम्मको नारा लिएर विभिन्न जिल्लाका १२ सय १९ संस्थापक शेयरधनी मिलेर ८ वर्षअघि मेगा बैंक स्थापना भएको थियो ।
‘कतिपयले हलोदेखि हाइड्रोसम्मको नारा सफल भएन पनि भन्छन्, तर त्यस्तो होइन,’ उनी भन्छिन्, ‘हाम्रो नाराको उद्देश्य भनेको सबै तहका जनतासम्म पुग्ने भन्ने हो, हामी सबैं नेपालीलाई सेवा गर्छाै, सबैको बैंक बन्छौं भन्ने नै हो, हामी आफ्नो उद्देश्यमा अगाडि बढिरहेका छौं ।’  
उनको भनाइमा बैंक भनेको विश्वासको खेती हो । जनतालाई जति विश्वास जित्न सक्यो त्यति बैंक सफल हुने उनको अनुभव छ । यसैलाई उनले आफ्नो मूलमन्त्र बनाएकी छिन् । बैंकले ५ वर्षका लागि पञ्चवर्षिय योजना पनि बनाइसकेको छ । वर्षअनुसारकै लक्ष्य तय भएकाले त्यसलाई सफल बनाउनु नै उनको प्रमुख दायित्व छ । 
बैंकको सिईओ पद निकै ‘ग्लामरस’ मानिन्छ । यो कुरा  अनुपमा पनि स्वीकार्छिन् । ग्लामरसँगै यो पदमा चुनौती पनि धेरै रहेको उनको भनाइ छ । देशको खराब अवस्थामा पनि बैंकहरुले राम्रो मुनाफा आर्जन गर्न सकेकाले पनि बैंकको सिईओ पद ‘ग्लामर’ बढेको हुनसक्ने उनको भनाइ छ । तलब अन्य सुविधाको आकर्षण त छँदै छ । 
बैंकिङ क्षेत्रमा पछिल्लो २ वर्षयता तरलताको अभाव छ । अहिले आर्थिक वर्षको अन्तिम त्रैमासिक सुरु भएकाले तरलता अभावको समस्या केही कम हुँदै गएकी उनी बताउँछिन् । 
त्यसो त बैंकहरुले ब्याजदरमा सिन्डिकेट कायम राखेको आरोप पनि लाग्ने गरेको छ । तर, यसलाई सिन्डिकेट भन्न नहुने उनको भनाइ छ । जभाभावी ब्याजदर तोक्दा झन् कर्जामा ब्याजदर उच्च हुने र त्यो व्यवसायीहरुले थेक्नै नसक्ने अवस्था आउने उनको भनाइ छ । 
योजना बिनाको जिन्दगी 
काठमाडौंमा जन्मिएकी उनले स्कुले जीवन सेन्टमेरिज स्कुलमा बिताइन् । सन् १९८५ की एसएलसी ब्याच ।  त्यसपछिका २ वर्ष भारतमा पढिन् । शंकरदेव क्याम्पसबाट स्नातक पूरा गरिन् । त्यतिबेलासम्म उनले जीवनका योजना बनाइएकी थिइनन् । ‘कमर्स पढेपछि बैंकमा जागिर खानुपर्छ भन्ने उनको मानसिकता भयो,’ उनी भन्छिन्, ‘भर्खरै बैंकहरु आउन थालेका थिए, त्यही क्रममा म पनि ग्रिनलेज बैंकमा आबद्ध भएँ ।’ 
सुरुका दिनमा बैंकको जागिर निकै गाह्रो भएको उनी सुनाउँछिन् । ‘आफुहरु बिहादेखि बेलुकासम्म काम गरिरहनुपथ्र्याे, तर, हाकिमहरु कोठामा आनन्दले बसेको जस्तो लाग्थ्यो,’ करिअरका पुराना दिन सम्झदै अनुपमा भन्छिन्,‘जब माथिल्लो पदमा पुग्दै गइयो, ठुला कोठामा बस्ने पदको जिम्मेवारी थाहा हुँदै गयो ।’ १३ वर्ष ग्रिनलेज तथा ६ वर्ष उनले नवील बैंकमा काम गरेको अनुभव सुनाउँदै भनिन् ।
इमान्दारिता, धैर्यता र मेहनत नै आफ्नो सफलताको  प्रमुख कारण हो जस्तो लाग्छ उनलाई । उनी विगत ८ वर्षदेखि मेगा बैंकमा  सिईओपछिको दोस्रो पदमा थिइन् । ‘जागिरमा सधैं सोचेजस्तो हुन्न, तर धैर्यताका साथ मेहनत गर्न छाड्न हुन्न’ त्यसो भयो भने मात्रै सफलताको शिखर चुम्न सकिन्छ, उनी भन्छिन् । 
बैंकमा बिहानदेखि बेलुकासम्म पैसाको बिटाहरुसँग समय बित्दछ । तर, उनलाई पैसाका बिटा भन्दा प्रकृति काख धेरै मन पर्छ । फुसर्द भयो कि उनी काठमाडौं आसपासमा एकान्त ठाउँहरुमा रमाउन पुग्दछिन् ।
– पार्वती धरेल  

Related News