‘असहज’ मेसी, आज तीन खेल हुँदै

दृष्टि न्यूज

काठमाडौं । अर्जेन्टिनाका खेलाडी नियोनेल मेस्सीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा ‘असहज’ महसुस गरेको बताइएको छ । 
शनिबारको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसक्दा उनी असहज बनेका हुन् । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यसपटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको बताए । 
पहिलोपटक विश्वकपमा सहभागी आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाइ छ । पत्रकारहरुसँग साम्पौलीले भने ‘आइसल्याण्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन् ।’ मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको धेरै आलोचना र उनीप्रति असन्तुष्टी व्यक्त भइरहेको छ । 
अर्जेन्टीनाले यो विश्वकपको दोस्रो खेल २१ जुनमा अर्थात् असार ७ गते क्रोएसियासँग खेल्ने छ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउने गरी खेल प्रदर्शन गर्ने अर्जेन्टिनाका खेलाडीहरुको अठोट छ । 
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार तीन वटा खेल हुँदैछ । आइतबार पहिलो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे कोष्टारिका र सर्बियाबीच हुनेछ । 
त्यसैगरी दोस्रो खेल राति ८ः४५ मा जर्मनी र मेक्सिकोबीच भिडन्त हुँदैछ भने राति ११ः ४५ मा ब्राजिल र स्वीट्जरल्याण्ड भिड्ने भएका छन् । 
आइतबार हुने तीन खेलमध्ये जर्मनी र मेक्सिको तथा ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल निकै रोमान्चक हुने अपेक्षा गरिएको छ । ब्राजिल र जर्मनीलाई यो विश्वकपको उपाधि दाबेदारको रुपमा पनि हेरिएको छ ।

Related News