​नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल बनाउन कम्पनी छनौट

दृष्टि न्यूज

काठमाडौं ।
राजधानी काठमाडौं उपत्यकाका अत्याधिक सवारी जाम हटाउने भन्दै सरकारले अघि सारेको नागढुंगादेखि काभे्रको धुलिखेलसम्मको मेट्रो रेल बनाउन आधा दर्जन कम्पनी इच्छुक देखिएका छन् । सो परियोजना मेट्रो रेल निर्माणको लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ ।
ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन बोर्डले आग्रह गरेको छ । प्राविधिक प्रस्तावको आधारमा उपयुक्त कम्पनी छनोट गरिने बोर्डले जनाएको छ । नागढुङ्गादेखि धुलिखेलसम्म कूल ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि कम्पनी छनौट गरिएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए । 
छनोट हुने कम्पनीमा चीन, भारत, कोरिया, टर्की र जापानका कम्पनी छनौटमा परेका छन् । विगतमा आशयपत्र पेश गरेर संक्षिप्त सूचीमा परेका चाइना मेसिनरी इञ्जिनीयरिङ कर्पोरेशन, चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इञ्जिनीयरिङ कर्पोरेशन सिउल र युकसेल प्रोजे युसलराशी टर्कीलाई छनोट गरिएको हो । प्रवक्ता वाग्लेकाअनुसार बिहीबार ती ६ परामर्शदाता कम्पनी छनोट गरिएको हो । ती कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र बोलपत्रका लागि आवेदन दिन आग्रह गरिएको छ । बोर्डकाअनुसार ती ६ कम्पनीबाटै एउटा कम्पनी छनोट गरी डिपीआर तयारीको काम शुरु गर्न आग्रह गरिनेछ ।

Related News