कागजविहीन आप्रवासी अमेरिकाबाट धपाइने


काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति सार्वजनिक भएको छ । मंगलबार जारी नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

पछिल्ला केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख बढी आप्रवासी अवैधानिक रूपमा बसोबास गर्दै आएको बताइन्छ । आप्रवासनसम्बन्धी सर्वाेच्च निकाय ‘डिपार्टमेन्ट होमल्यान्ड सेक्युरिटी’ ले मंगलबार जारी गरेको नीतिअनुसार संघीय सरकारले कागजविहीन आप्रवासीहरूलाई पक्राउ गर्ने र देशनिकाला गर्ने अभियान दु्रत रूपमा बढाउनेछ । त्यसका लागि दस हजार ‘फोर्स’ थपिनेछ । अपराधमा संलग्न भएकाहरूलाई प्राथमिकता सूचीमा राखिए पनि ट्रम्प प्रशासनको आक्रामक नीतिले अवैधानिक रूपमा रहेका जो–कोहीलाई खतरा रहेको आप्रवासी कानुनका जानकारहरू बताउँछन् । 

ट्रम्प नीतिले कागजविहीन आप्रवासीबाट हुने अपराधलाई रोकथाम गर्ने, संघीय एवं स्थानीय सुरक्षाकर्मीको सक्रियतालाई अत्यधिक रूपमा बढाउने, छापा मार्ने र देशनिकालाको गतिलाई बढाउनेमा केन्द्रित हुनेछ । यो नीतिले अमेरिकामा बिनाभिसा रहँदै आएका नेपालीहरू पनि प्रभावित हुनेछन् । हवाई, जल र स्थल मार्ग हुँदै अवैध रूपमा अमेरिका छिरेकाहरू यसबाट सबभन्दा बढी प्रभावित हुनेछन् । 

यसअघि ओबामा प्रशासनले गम्भीर अपराधमा संलग्न, सामाजिक सुरक्षामा खतरा पैदा गर्न सक्ने एवं अवैधानिक रूपमा भर्खरै अमेरिका पसेकालाई देशनिकाला गर्ने नीति कार्यान्वयन गर्दै आएको थियो । तर, ट्रम्प प्रशासनले कागजविहीन आप्रवासीको हकमा ‘अपराध’को परिभाषालाई बदलेको छ । ट्राफिक नियम पालना नगरेको घटना, नक्कली कागजातको प्रयोग, अर्कैको ‘सोसल सेक्युरिटी’ नम्बर प्रयोग गरेर रोजगारी लिने जस्ता ‘सामान्य’ घटनामा संलग्नलाई समेत देशनिकालाको प्रक्रियामा राख्ने ट्रम्प प्रशासनको नीति रहेको आप्रवासी कानुनसम्बन्धी अधिवक्ता विनोद रोकाले कान्तिपुरलाई बताए । ‘त्रासको स्थिति सिर्जना भएको छ । यसबाट नेपाली आप्रवासी पनि अछुतो छैनन्,’ रोकाले भने, ‘मेक्सिको सिमानाबाट आउनेलाई यसले संकटमा पार्न सक्छ ।’ 

Related News