​नेवारी कला, भाषा र संस्कृतिको संगम ‘मिस नेवा’

एमपी सुब्बा

नेपालमा के कति शीर्षक र संख्यामा सौन्दर्य प्रतियोगिताहरु हुन्छन् ? कुनै एक आयोजकलाई सोध्यो भने भन्छ, ‘अँह थाहा छैन ।’ ‘मिस नेवा’ आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरलाई यही प्रश्नमा भनिन्, ‘खै मलाई थाहा भएन । आफ्नै प्रतियोगिताबाहेक अरुको जाँन्दिनँ ।’ 
हेमालाई थाहा नहुन सक्छ किनकि, यहाँ दिनैपिच्छे कुनै न कुनै शीर्षकमा एकजना ‘सुन्दरी’ घोषित हुन्छिन् । तर, ‘मिस नेवा’ ती सुन्दरीहरुसँग तुलना गरिँदैन । हेमाका अनुसार अरु सुन्दरी प्रतियोगिता गर्छन्,   नेप्लीज फेसन होम ‘सोशल वर्क’ गर्छ । 
सन् २००५ बाट सुरु भएको ‘मिस नेवाः’ १३औं संस्करणसम्म आइपुगेको छ । ‘मिस नेवा–२०१८’को ताज पहिरिएपछि रिजु मानन्धरले भनेकी छन््, ‘मेरो जिम्मेवारी भनेको नेवार समुदायको कला, संस्कृति र भेषभूषाको जर्गेनाबारे जनचेतना जगाउन र  समाजप्रति जागरुक हुनु हो ।’ ‘मिस नेवाः’को उद्देश्य र सोच पनि यही नै । प्रतियोगितामा सहभागीहरुलाई ग्रुमिङमै नेवार समुदायको कला, संस्कृति र भेषभेषाबारे प्रशिक्षण गराइन्छ ।
अध्यक्ष हेमा भन्छिन्, ‘मिस नेवाको १३औं संस्करणसम्म आइपुग्दा पनि कतैबाट प्रतियोगिताबारे नकरात्मक टिम्पणी नहुन नै मेरो सफलता हो ।’ ‘सुन्दरी प्रतियोगिता’लाई धेरैले व्यापारका रुपमा लिइरहेका बेला हेमाले भने ‘सोशल वर्क’ एउटा माध्यमका रुपमा लिएकी छन् । सुरुकै प्रशंग उठाउँदै हेमाले भनिन्, ‘यहाँ जसले पनि विभिन्न शीर्षकमा सुन्दरी प्रतियोगिता गर्न थालेका छन् । तर, जसले पैसा कमाउँछु भनेर नारी सौन्दर्यता बेच्छ, उ लामो समय टिक्दैन ।’ 
‘मिस टिन गुरुङ’ र ‘मिस टिन शेर्पा’ जस्ता पहिलोपटक जातीयताको नामका सौन्दर्य प्रतियोगिता सुरुवात गरेको नेप्लीज फेसन होमले ‘मिस नेवा’लाई भने निरन्तरता दिँदै आएको छ । हेमा भन्छिन्, ‘जतिखेर केही साथीसँग मिलेर मैले ‘मिस टिन गुरुङ’ र ‘मिस टिन शेर्पा’जस्ता कार्यक्रम गर्दा कुनै पनि समुदायको नाममा सौन्दर्य प्रतियोगिता हुँदैनथ्यो । तर, त्यो छाडेर ‘मिस नेवा’ गर्ने कुरा आयो । ‘मिस नेवा’ सुरु गर्दा अरु कुनैपनि जातीय एवं समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताहरु आएका थिएनन् । ‘मिस नेवा’पछि त हरेक जात, समुदाय र इलाका पिच्छे विभिन्न नाममा सौन्दर्य प्रतियोगिता हुन थाले ।’ 
नेवार भएकै कारणले ‘मिस नेवा’ आयोजना गर्दै आएको हेमाले सुनाइन् । उनका अनुसार ‘मिस नेवा’ विभिन्न जात तथा समुदाय केन्द्रित हुँदै आएका सौन्दर्य प्रतियोगितामध्ये सभ्य र उत्कृष्ट हो । उनले भनिन्, ‘सुन्दरी प्रतियोगिता आयोजना गर्नु ठूलो कुरा होइन, त्यो प्रतियोगिताले  सम्मान र गरिमा पाउन सक्नु ठूलो कुरा हो । मिस नेवाले अहिलेसम्म सबैबाट सम्मान पाएको छ किनकि म कहिल्यै पैसामुखी भइनँ ।’   
अन्य सौन्दर्य प्रतियोगिताभन्दा ‘मिस नेवा’ कसरी फरक छ भन्न सकिन्छ ? जवाफमा हेमाले भन्छिन्, ‘नेप्लीज फेसन होमले गर्छ, ‘मिस नेवा’, जहाँ सुन्दरीमात्र छानिँदैन । नेवार समुदायको कला, संस्कृत, भाषा र रहन–सहजको उजागर तथा प्रवद्र्धनका लागि ‘मिस नेवा’ गर्दै आएकी छु ।’
उनले अन्य प्रतियोगिता र ‘मिस नेवा’ तुलना गर्न नमिल्दै भन्दै भनिन्, ‘प्रतियोगिता गर्ने आ–आफ्नै सोच हुन्छ । अरुको सोच के छ म जाँन्दिनँ । तर, ‘मिस नेवा’ एउटा यस्तो माध्यम हो, जो सधै सामाजिक कार्यसँग जोडिन्छ ।’
हुन पनि पछिल्लो समय ‘सुन्दरी प्रतियोगिता’ र ‘सुन्दरी’ उपाधि पाएहरुको गरिमा समेत  खस्किएको छ अर्थात ‘मिस नेपाल’जस्ता कार्यक्रमको स्तर र प्रतिष्ठा घटिरहेको छ । यस्तो अवस्थामा ‘मिस नेवा’ पहिले जे थियो, अहिले पनि त्यस्तै अवस्थामा छ । उपाधि विजेता विभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन् । 
अध्यक्ष हेमा भन्छिन्, ‘मुख्य कुरा भनेको संस्कृति नै हो । यहाँ आफ्नो कला र संस्कृतिभन्दा कोही पनि माथि छैन । जो कला, संस्कृति र भेषभूषालाई प्रवद्र्धन गर्ने उद्देश्यले काम गर्छ, उ कहिल्यै पछाडि पर्दैन किनकि जति आधुनिकता थपिँदै जान्छ, उति नै कला, संस्कृतिको जर्गेना आवश्यक हुन्छ ।’
नेवार समुदाय भाषा, कला र संस्कृतिका धनी मानिन्छन् । हेमा भन्छिन्, ‘नेपाललाई चार जात ३६ वर्णको फूलबारी भन्छन् । तर, म नेवार समुदायमै चार जात ३६ वर्ण पाउँछु किनकि यहाँ ठाउँ अनुसार भाषा, भेषभूषा र संस्कृति छ ।’ 
उनका अनुसार दोलखा, काठमाडौं, भक्तपुर, पाटनलगायत अन्य देशभरमा रहेका नेवारहरुको आ–आफ्नै भाषा र संस्कृति छ । ती सबै नेवार समुदायलाई लक्षित गर्दै ‘मिस नेवा’ आयोजना हुँदै आएको छ ।
हेमाले ‘मिस नेवा’बाहेक अन्य केही सौन्दर्य प्रतियोगिता पनि गर्दै आएकी छन् । ती आफ्ना प्रतियोगिता पनि पैसा कमाउनका लागि नभएर बालबालिकाहरुको  मनोबल बढाउन र क्षमता विकास गर्नका लागि गर्दै आएको हेमाले बताइन् । 
सौन्दर्य प्रतियोगितालाई एउटै ड्याङमा राखेर हेर्न नमिल्ने हेमाको भनाइ छ । ‘कसले कस्तो कार्यक्रम गर्छ भन्ने मुल्यांकन मिडिया र समाजले गर्नुपर्छ’ उनले भनिन्, ‘सौन्दर्य प्रतियोगितालाई मान्छेले व्यापारकै रुपमा लिन थालेका छन् । यो साह्रै नराम्रो हो । यसका लागि अब सरकारले नीति बनाउन आवश्यक छ ।’
हुन त ‘सौन्दर्य प्रतियोगिता’ आयोजकले लाखौको कारोबार गरिरहेका छन् । तर, सौन्दर्य प्रतियोगिताबारे राज्यको अहिलेसम्म कुनै नीति बनेको छैन । 
राजधानीमा मात्र वर्षका ८० भन्दा धेरै सौन्दर्य प्रतियोगिता आयोजना गरिन्छ । जसमा केही बाहेक कुनैको पनि ‘टे«डमार्क’ दर्ता गरिएको छैन । जसका आयोजकहरुले १० हजारदेखि २५ हजारसम्म आफू खुसी प्रतियोगीबाट ‘फि’ असुल्दै आएका छन् । यस्ता मनपरी असुल्ने आयोजकले गर्दा ‘मिस नेवा’, ‘मिस नेपाल’, ‘मिस नेशनल आइकन’जस्ता प्रतियोगिताका आयोजक पनि बेला–बेला मुछिने गरेका छन् । 
सौन्दर्य प्रतियोगिताको नामका आफू खुसी प्रतियोगीबाट रकम असुल्ने प्रवृतिलाई रोक्नका लागि समेत राज्यले यस क्षेत्रका लागि नीति बनाउन आवश्यक रहेको हेमाले बताइन् । 

Related News