​मोदी भ्रमण अगाडिको तरंग

दृष्टि न्यूज

विशाल छेत्री । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनपेक्षित रुपमा नेपाल भ्रमणको प्रस्तावित कार्यक्रम बाहिर आएको छ । भारतीय सञ्चार माध्यमहरुले लेखेअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा उनलाई नेपाल भ्रमणको निम्तो दिइएको थियो । र, नेपाल—भारत सम्बन्ध सुमधुर बनेको सन्देश दिन उनी तत्काल नेपाल आउन चाहन्छन् । दुवै मुलुकका परराष्ट्र मन्त्रालय भ्रमण तयारीका निम्ति व्यापक गृहकार्यमा जुटेका छन् । मोदी यसपटक नेपाल आएमा नेपाल—भारत सम्बन्धको इतिहासमै मोदी एउटै कार्यकालमा तीनपटक नेपाल भ्रमण गर्ने प्रधानमन्त्री बन्नेछन् ।
मोदी चार वर्षअघि नेपाल आउँदा संविधानसभामा सम्बोधन मात्रै गरेनन्, बाटाघाटामा भेटिएका नेपालीलाई नमस्ते गरेर समेत सप्राइज दिएका थिए । संसदमा उनको भाषण सन्तुलित मात्रै थिएन, नेपालीलाई मोहित पार्ने खालको थियो । भारतका कतिपय अस्वाभाविक व्यवहारलाई समेत नेपालीका मनबाट हटाउन उनी समर्थ भएका थिए । उनले नेपालको सार्वभौम संसदसामु गरेका वाचा र प्रतिबद्धता कति पूरा भए, त्यो बेग्लै समीक्षाको विषय हो । तर त्यतिखेर उनले नेपाली जनमनमा भारतप्रति सकारात्मक धारणा बनाउन सफलता हासिल गरेकै हुन् । 
सार्क सम्मेलनताका उनी दोस्रोपटक नेपाल भ्रमणमा आए । त्यतिखेर उनी केवल काठमाडौँमा मात्र होइन, जनकपुर, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथको समेत यात्रा गरी आध्यात्मिक यात्रा मार्फत् कूटनीतिमा नयाँ आयाम थप्न चाहन्थे । तर, उनी जे चाहन्थे, त्यो भारतीय प्रशासनतन्त्रले चाहेको थिएन । त्यहीबीचमा भारतीय जासुसी निकाय र पुरानो प्रशासनतन्त्र यसरी सक्रिय भयो कि नेपाल—भारत सम्बन्धमै जटिलता पैदा हुने गरी भित्रभित्र खेल्न थाल्यो । जनकपुरको बारबिघा मैदानमा हिन्दीमा भाषण गर्ने र त्यहाँका जनतालाई साइकल बाँड्ने उनको इच्छा त्यही कारण पूरा हुन सकेन । लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथको यात्रा पनि भारतीय प्रशासनतन्त्रकै विरोधाभासपूर्ण भूमिकाका कारण असफल भयो । 
कुरा यतिमै सीमित रहेन । मोदी काठमाडौँ ओर्लिएर ट्रमा सेन्टर उद्घाटन कार्यक्रममा भाषण गर्दा भारतको विपक्षी दल कांग्रेसनियन्त्रित प्रशासनतन्त्रको भाषा बोल्न थाले । लैनचौर र वीरगन्जस्थित भारतीय दूतावासमा रहेर जासुसी संस्था रअका कर्मचारीहरु नेपाली नेताहरुका सामु जे बोल्थे, भारतीय प्रधानमन्त्री मोदी त्यही लवजमा प्रस्तुत भए । यसबाट नेपाल—भारत सम्बन्ध बिगार्न चाहनेहरु त खुसी भए तर दुई पुराना मित्र र अति निकटको सम्बन्ध भएका मुलुकबीच संसारले रमिता हेर्ने गरी अप्रिय चरणमा पुग्यो । 
नेपालको संविधानमा नाजायज अडान लिएर भारतले नेपालीको मन दुखायो । भूकम्पमा सहयोग गर्दा पनि उसले धन्यवाद पाएन । बरु हामी भूकम्पको पीडामा छटपटिरहेका बेला चीनलाई समेत प्रभावित पारी नेपाली भूमि लिपुलेक निजी रुपमा प्रयोग गर्न खोज्यो भारतले । त्यसपछि अवस्था यस्तोसम्म बन्यो कि नेपालीको घाउमा नूनचुक दल्ने गरी नाकाबन्दी नै लगाइदियो ।
भारतका तर्फबाट भएका यी कुनै पनि प्रहार र अतिक्रमणसामु नेपाल झुकेन । एकाध नेपाली शासक पदको लोभमा झुके होलान् तर नेपाली जनताले त्यस्ता लोभी प्रवृत्तिलाई नराम्रोसँग जवाफ दिए । भारतको रणनीति एकपछि अर्को गरी असफल हुँदै गएपछि अहिले उसको नेपाल नीतिमा केही बदलाव देखिएको थियो । यही मौकामा मोदीले आफ्ना मुलुकका विपक्षी दलहरुलाई समेत जवाफ दिने गरी नेपालका प्रधानमन्त्रीसँग हात मिलाउनुपर्नेछ । प्रधानमन्त्री ओलीले पहिलो भ्रमण भारत गरेर उनका निम्ति केही सहज अवस्था बनाइदिएका छन् । अब उनलाई काठमाडौँमा स्वागत गरेर मोदीलाई अर्को अवसर दिँदै छन् । आगामी निर्वाचनमा मोदीका निम्ति त्यो अर्थपूर्ण रहनेछ । किनभने, ५० लाख नेपाली पृष्ठभूमिका मतदाता र नेपालसँग तीनतिरबाट सीमा जोडिएका भारतीय राज्यहरुमा नेपाल सम्बन्धको असर भोटमा पर्दछ । यो कुरा मोदीले र उनका विपक्षीले मजैले बुझेका छन् ।
दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा भारत एक्लिँदै जाँदा नेपालको समेत साथ रहेन भने उसलाई अरु कसैले साथ दिने छैनन् । पाकिस्तानी प्रधानमन्त्रीको हालैको काठमाडौँ अवतरणले भारतलाई नराम्ररी झस्काइसकेको छ । र, चिनियाँ पक्षको नेपालप्रति रहेको सदाशयताबाट पनि भारत आत्तिएको छ । त्यसकारण उसले उत्तरसितको सम्बन्धमा सघनता नबढोस् भनेर पनि आफैसँग ‘इंगेज’ गर्ने रणनीति अख्तियार गरेको छ । चीनले दक्षिण एसिया प्रवेशका निम्ति भारत र भुटानबाहेक सबै दक्षिण एसियाका मुलुकलाई आफ्नो पक्षमा लिइसकेको छ र वान बेल्ट वान रुट नामक महत्वाकांक्षी परियोजनामार्फत सम्पर्क सञ्जाल विस्तार गर्दै छ । भारतसँग न यस्तो परियोजना अघि सारेर छिमेकीलाई समृद्धिको साझेदार बनाउने सोच छ, न त सामथ्र्य नै । सम्बन्धलाई केवल सुरक्षाको आँखाले हेरेर जासुसी संयन्त्रमार्फत् कूटनीति सञ्चालन गर्नु उसको आधारभूत विदेश नीति हो । यो अवस्था रहेसम्म भारतले कुनै पनि छिमेकीको विश्वास जित्न सक्दैन । 
त्यसमाथि पछिल्लो समय भारत अफेन्सिभ कम, डिफेन्सिभ बढी देखिएको छ । भारतलाई साथ दिने पश्चिमा शक्तिहरु पनि आफ्नै समस्यामा फसेका छन् । चीन—अमेरिका व्यापार युद्धले सम्पूर्ण पश्चिमाहरुको ध्यानभंग भएको छ । यस्तो अवस्थामा भारतका निम्ति नेपालजस्तो मित्रशक्ति गुमाउनु निकै ठूलो क्षति हो । तर, नेपालका लागि पनि भारतसँगको सम्बन्ध र सम्पर्क उपेक्षा गर्नै नमिल्ने पक्ष हुन् । त्यसकारण असल र मित्रवत् सम्बन्धका निम्ति नेपाल सधैँ तत्पर रहनुपर्छ । तर, भारतको प्रभाव र दबाबमा रहेर अन्य मुलुकहरुसँग स्वतन्त्र सम्बन्ध कायम गर्न हिच्किचाउनुहुँदैन । मोदी आउँदैमा चीनसँग अघि बढाउन खोजेका परियोजना र सम्झौताका फाइल बाबुराम भट्टराईले बिप्पा सम्झौताको फाइल लुकाएजस्तो गर्नुपर्दैन । 
मोदी जनकपुरमा हिन्दीमा भाषण गरी साइकल बाँड्न चाहन्छन् भने त्यो नेपालका लागि पाच्य विषय होइन । केवल जानकी मन्दिरको दर्शन गर्ने हो भने उनलाई हार्दिकतापूर्वक स्वागत गरिनुपर्छ । त्यसैगरी उनी लुम्बिनी गएर बुद्धको दर्शन मात्र गरेर फर्कन्छन् भने हामीले सहजीकरण नै गर्नुपर्छ । मुस्ताङ र मुक्तिनाथ बढी नै सामरिक महत्वका स्थल हुन् । त्यहाँ मोदीको उपस्थितिले हाम्रो पर्यटकीय स्थलको प्रचार त हुन सक्ला तर उनको भ्रमणका नाममा हुने भारतीय सुरक्षाकर्मीहरुको बाक्लो आवतजावत र उपस्थितिप्रति भने नेपाल सरकार सचेत हुनुपर्छ ।  

Related News