​मोदी भ्रमणको भित्री उद्देश्य

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण समस्याहरुलाई सिरानीमा राख्दै सकिएको छ । यस भ्रमणबाट दुई देशबीच रहेको असमझदारी हटेको र सम्बन्धले नयाँ उचाई लिएको दाबी गरिए पनि भारतीय प्रधानमन्त्री मोदीको शब्दमा नेपाल–भारत सम्बन्ध सगरमाथाको ‘बेस क्याम्प’सम्म मात्र पुगेको छ । अब त्यो सम्बन्धलाई सगरमाथाको शिरसम्म पु¥याउन मोदीले आफैँ शेर्पाको भूमिका निर्वाह गर्न तयार रहेका छन् । भाषणमा मिठा कुरा गरेर नेपाली जनता लठ्याउन सिपालु मोदीले नेपाली जनताको मन जितेको भ्रम पाले पनि भित्र मनदेखि नेपाली जनताले नाकाबन्दीको पीडा भुलेका छैनन् भन्ने कुरा सामाजिक सञ्जालको आक्रोशलाई बुझेको हुनुपर्छ ।  सायद यही डरले होला, उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीलाई नै पहिलो घेरामा राखे । यसबाट के स्पष्ट हुन्छ भने नेपाली जनताले ‘नाकाबन्दी’ भुलेका छैनन् भन्ने कुरालाई मोदीले हृदयमै राखेका रहेछन् । त्यो कुरा भुलाउन काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनले सन्दीप लामिछानेको नाम मात्रै लिएनन्, काठमाडौं विश्वकै उत्कृष्ट र सांस्कृतिक धरोहर भएको अनुभव बाँडे । उनले यसो भनिरहँदा राष्ट्रिय सभागृहको हल तालीले जुरुक्कै उठेको थियो । त्यो ताली आक्रोशमिश्रित ताली थियो ।
यो त भयो, स्वागत र अभिनन्दनको कुरा । यस्तो राजकीय भ्रमणमा दुई देशको सम्बन्ध राम्रो हुन समस्याहरुको पहिचान र तिनको समाधान खोजिनु पर्छ । भारतीय प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । मोदीको यो भ्रमणबाट नेपाल–भारतबीच रहेका समस्याहरु कति समाधान भए, कति हुन बाँकी छन् भन्ने जस्ता कुराले भ्रमण सफलता, असफलताको मापन गर्छ । वर्षौदेखि सन् १९५० को सन्धि, कालापानी, लिपुलेक र सुस्तामा सीमा मिचिएका कुराहरु उठ्दै आएका छन् । यीमध्ये सन् १९५० को सन्धिका बारेमा विज्ञ समूहमा छलफल चलिरहेको छ । तर, कालापानी, लिपुलेक र सुस्ता सीमाका बारेमा दुवै देशले रहस्यमय मौनता साँध्दै आएका छन् । यस्तो कुरा उठाउँदा छिमेकी रिसाउँछन् कि भन्ने सोच हामीले पाल्नु हुँदैन । समस्या पाल्दै गयौं भने त्यसले सम्बन्धमा चिसोपन ल्याउँछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको कुरा संविधानमा लेखेर मात्र हुँदैन । त्यसको रक्षा गर्न सक्यौं भने मात्रै त्यो राष्ट्र सफल र सबल बन्दै जान्छ । यसका लागि दुईतिहाइको वाम गठबन्धन सरकारले दह्रो रुपमा आउँदा दिनमा कुरा उठाउनु पर्छ । राष्ट्रियताको मामलामा तुलनात्मक रुपमा वामपन्थीहरु इमान्दार हुन्छन् भन्ने विश्वासले नै जनताले वाम गठबन्धनलाई दुईतिहाइको मत दिएका हुन् ।
भारतीय प्रधानमन्त्री  मोदीको यस भ्रमणमा उनले ‘सबका साथ, सबका विकास’ र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पनि स्मरण गरेका छन् । त्यसका लागि सबैभन्दा पहिला समस्याविहीन सम्बन्ध स्थापित गरिनुपर्छ । जहाँसम्म नेपालको आर्थिक विकासका लागि पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोजस्ता भारतीय लगानी रहेका जलविद्युत आयोजनाहरु समयमै कार्यान्वयन गरिनुपर्छ । कृषि, पर्यटनको क्षेत्रमा पनि भारतीय लगानी भित्र्याइनु पर्छ । र, ठूलो मात्राको व्यापारघाटा कम गर्न नेपाली उत्पादनलाई भारत निर्यातमा सहुलियत दिनुपर्छ । सम्बन्ध सुधारको प्रस्थानविन्दु यी कुराहरुलाई बनाउँदै रेलमार्ग, जलमार्गको कुरा अगाडि बढाउन सक्यौं भने भावी पिंढीले समृद्ध नेपालको अनुभूत गर्न सक्नेछ । 
यस अर्थमा मोदीको भ्रमणलाई सकारात्मक रुपमा लिइए पनि उनको जनकपुरबाट काठमाडौं हुँदै मुस्ताङसम्मको भ्रमण रणनीतिक भ्रमण हो । जनकपुर पुगेर उनले संविधानप्रति असन्तुष्ट समूहको मनोबल बढाएको छ । मुस्ताङको भ्रमणले उत्तरी सीमासम्म हाम्रो पहुँच छ भन्ने सन्देश प्रवाह गरेको छ । धर्मनिरपेक्ष देश नेपालमा मोदीले धार्मिक यात्रा सुरु गरेर नेपालका अतिवादी हिन्दू समुदायलाई उत्साहित बनाएका छन् । भनिन्छ, संविधानमा उनको असन्तुष्टिमध्ये मधेससँगै धर्मनिरपेक्षता पनि प्रमुख हो । त्यस एजेन्डालाई उनको यो भ्रमणले ताजै रहेको सन्देश दिएको छ । मधेस मुद्दा र धर्मको कुरालाई प्रमुख एजेन्डा बनाएर दुई नम्बर प्रदेशको राजधानी जनकपुरबाट सुरु भएको मोदीको नेपाल भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको जनजनको सम्बन्धको आधार भनेको राजनीतिक होइन, धर्म र संस्कृति नै हो । त्यसलाई जोगाउन सकिएन भने राष्ट्रको पहिचान मेटिन्छ भन्ने नै हो ।

Related News