मोदी भ्रमण : माधुर्य कि चातुर्य

दृष्टि न्यूज

विशाल छेत्री । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै कार्यकालमा तीनपटक नेपाल भ्रमण गरे । पहिलो भ्रमणमा संविधानसभामा मीठा भाषणले नेपालीलाई लट्ठै पारेका मोदीले त्यही संविधानसभाबाट जारी संविधानपछि नेपालीमाथि नाकाबन्दीको झड्का लगाइदिए । तेस्रोपटक भ्रमणमा आउँदा उनले तीनवटा अलगअलग तीर्थस्थलको दर्शन गरे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लपक्कै टाँसिए । नेपालबिना भारतका धाम अधुरा, नेपालबिना भारतका राम अधुरा भन्दै तिमीबिना मरिहाल्छु शैलीमा प्रस्तुत भए ।
राष्ट्रिय सभागृहमा आफू अभिनन्दित भएपछि मोदीले निकै भावुक भएको भावमा शब्दमाधुर्यले नेपालीलाई लट्ठै पारे । उनले यहाँको कला, वास्तुकला र संस्कृतिको मात्रै चर्चा गरेनन्, प्रकृति र साहसको समेत प्रशंसा गरे । भक्तपुरको भव्यता, कीर्तिपुरको कला र ललितपुरको लालित्यको गीत गाए । नेपाल—भारत सम्बन्धलाई अन्नपूर्ण र धौलागिरीको शिर चढाए । नेपाल आफ्नै बलमा सगरमाथाको आधार शिविर पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासको चुचुरोमा पु¥याउन भारतीय काँध चाहिने कुरा अभिव्यक्त गरे ।
कूटनीतिमा मीठामीठा शब्दावलीको प्रयोग हुन्छन् । यी शब्दमाधुर्यको अर्थ खासै रहन्न । ती शब्दको भाव र लालित्यमा अल्झिनेहरु असली रुपमा कूटनीतिका सिकारु हुन् । मीठा शब्दका बीच पनि उनले दिन खोजेको खास सन्देश बुझ्न सक्ने हो भने यथार्थमा पुग्न सकिन्छ । मोदीले दोहो¥याई तेह¥याई भने, ‘नेपालको आफ्नै प्राथमिकतामा काम गरोस्, हामी साथ दिन्छौँ ।’ उनले यस अभिव्यक्तिमा निकै दबाब दिएका छन् र दोहो¥याएर भन्नुअघि उनले थप जोड दिए, ‘जिम्मेवार भएर भन्दै छु ।’
मोदीले ‘नेपालको आफ्नै प्राथमिकता’मा जोड दिनुको अर्थ हुन सक्छ, हामी अरु कसैको प्राथमिकतमा चलिरहेका छौँ । वास्तवमा भन्ने हो भने नेपाल यतिखेर आफ्नो प्राथमिकतामा चलिरहेको छैन भन्ने आभास भारतलाई भएको छ । भारतलाई यसो लाग्नु स्वाभाविक छ । किनभने, भारतको प्राथमिकतामा नेपाल चलेको छैन । भारतीय प्राथमिकतामा नचल्नु भनेको नेपाल अरु कसैको प्राथमिकतामा चलिरहेको छ भन्ने बुझाइ भारतीय रणनीतिकारहरुमा हुर्किएको छ । 
एउटा खुसीको कुरा के हो भने भारतीय रणनीतिकारहरुमा नेपाल पनि एउटा सामरिक महत्वको मुलुक हो भन्ने बुझाइ देखिन्छ । भारतीय प्रधानमन्त्रीको भ्रमण र नेपाललाई दिएको उच्च प्राथमिकताले पनि यो कुरा प्रस्ट हुन्छ । तर, साथसाथै नेपालले भारतबाहेक अन्य मुलुकको साथ र सहयोग नखोजोस् भन्ने पूरापूर अभीष्ट भारतीयहरुमा देखिन्छ । यो कुरा मोदीले प्रस्ट भाषामा भनेका पनि छन् । नेपाल अरुका प्राथमिकतामा नचलोस् भन्नुको सारभूत पक्ष नै यही हो । 
भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नेपालले स्वतन्त्र र स्वाधीन मुलुकको हैसियतले चीनसँग रणनीतिक महत्वका समझदारी गर्न पुग्यो । हुन त यी समझदारी गर्न कुनै नाकाबन्दी पर्खनुपर्ने थिएन । यसका निम्ति केपी ओलीकै प्रधानमन्त्रित्व पनि कुर्नुपर्ने थिएन । र, संयोग के प¥यो भने भारतले नाकाबन्दी लगायो, त्यही बीचमा ओली प्रधानमन्त्री भए र पारवहनमा वैकल्पिक मार्ग खोजी हुँदा उत्तर मात्र विकल्प थियो । उत्तरमा चीन अवस्थित थियो । चीनले नेपालको आकांक्षामा साथ दियो । अझ भनौँ भूपरिवेष्ठित मुलुकले पाउनुपर्ने सुविधाप्रति चीन सकारात्मक र इमानदार देखियो ।
फेरि चीन आन्तरिक रुपमा विकासको उत्कर्षमा पुगी बाह्य विश्वमा पाइला चाल्दै छ । संसारका शक्तिकेन्द्रहरुलाई टक्कर दिँदै छ । उसले उत्तर कोरिया र अमेरिकाबीचको आसन्न युद्ध र विध्वंशको प्रतिस्पर्धालाई अहिले नै साम्य पारी मित्रताका निम्ति तयार पार्दैछ । आफ्नो विकास र समृद्धिको साझेदार छिमेकी मुलुकहरुलाई पनि बनाउन खोज्दैछ । संसारको जुनकुनै भागको अभाव र अशान्तिले पनि अर्को जुनकुनै भागको समृद्धि र शान्ति भंग गर्न सक्छ भन्ने बुझेका चिनियाँहरुले छिमेकमा अभाव र अशान्ति हुर्काएर धेरै टाढा पुग्न सकिन्न भन्ने मन्त्रलाई आत्मसात् गरेका छन् । तसर्थ, छरछिमेकलाई पनि आफ्नो समृद्धिको मालामा उन्नका निम्ति वान बेल्ट वान रोड (ओबीओआर) वा बेल्ट र एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्तो महत्वाकांक्षी परियोजना अघि सारेको छ ।
बीआरईमा दक्षिण एसियाका सबैजसो मुलुक सामेल भइसक्दा पनि भारतले त्यसमा सहभागिता जनाएको छैन । बरु उल्टै भारतप्रति सदाशय राख्ने मुलुकहरुलाई पनि चीनसँग हिमचिम बढाउन नदिने नीति अख्तियार गरेको छ । नेपालले पनि बीआरआईमा सहभागिता नजनाओस् भन्ने प्रशस्त कामना भारतीयको देखिन्छ । मोदीले पराईको प्राथमिकतामा नेपाल नचलोस् भन्ने सन्देश दिनुको अर्थ पनि सायद यही हुनुपर्छ । किनकि, भारतीय बुझाइमा बीआरआई नेपालको आफ्नो प्राथमिकता हुन सक्दैन, चिनियाँ प्राथमिकता हो । नेपालले उठाउँदै आएको नेपाल—चीन—भारत त्रिपक्षीय समझदारीको मुद्दा भारतले चिनियाँ प्राथमिकता ठान्छ ।
भारतको दृष्टिभ्रम त्यहाँबाट सुरु हुन्छ, जब १६ बुँदे समझदारीको पत्रमा भारतीय कलम, मसी या टेबुल कुनै पनि सामग्रीको प्रयोग हुँदैन । संविधान स्वतन्त्र संविधानसभाले जारी गर्छ, भारतीय सहजीकरणबिनै । आशंका झन् बढ्छ । ओली र प्रचण्ड मिलेर सरकार बनाउँछन्, भारतीय नाकाबन्दीको डटेर सामना गर्छन्, त्यसले दिल्लीको दृष्टिमा थप धमिलो थपिन्छ । ‘चिनियाँ सहयोगबिना दुई बाम नत्र कसरी एक ठाउँमा उभिन सक्छन्’ भन्ने मनको बाघले भारतलाई खाइरहेको छ । गएको निर्वाचनको मुखैमा दुई ठूला बाम शक्ति एक ठाउँमा उभिएर साझा घोषणापत्र जारी गर्छन्, पार्टी एकता हुने घोषणा गर्छन्, साउथ ब्लकका अधिकारीको मुटुमा अर्को ढुंग्रो ठोकिन्छ ।
चीनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङमा भव्य स्वागत गर्छ, ओली भ्रमणका लागि प्रतीक्षारत रहेको र चिनियाँ राष्ट्रपतिले चाँडै बुद्धभूमिमा पाइला टेक्न चाहेको सन्देश दिन्छ । यसले भारतलाई थप बेचैन बनाउँछ । तत्काल मोदीको काठमाडौँ यात्रा तय हुन्छ । मोदी काठमाडौँमै आएर भन्छन्, जे गर्नु छ हामी गरिहाल्छौँ नि । जे माग्नु छु, हामीसँगै माग । काठमाडौँसम्मै रेल हामी कुदाइदिन्छौँ । झलमल्ल बिजुली हामी बालिदिन्छौँ । पानी जहाज चलाउन मन लागे कोशी हुँदै गंगामा चलाऊ । तर, चीनतिर ढल्किनु पर्दैन । चीनसँगको हिमचिम बढाउनु पर्दैन । आदि, इत्यादि ।
लुम्बिनी पुग्ने चिनियाँ रेलमा लालसेना हतियारसहित आइपुग्ने ठानेको छ भारतले । बुढीगण्डकी बीआरआईको खाकाभित्र राख्न खोज्दा कसरी खोसियो र नेपाल आफैले बनाउने भनेर कहिल्यै नबन्ने आयोजनामा परिणत गरियो, भारत—समर्थित गठबन्धन सरकार रहेका बेला । चीनसँगको पारवहन सन्धि कार्यान्वयन हुँदा भारतसँगको एकल वाणिज्य तथा पारवहन निर्भरता अवश्य तोडिनेछ । तर, नेपालले पनि के ख्याल गर्नुपर्छ भने भारतसँगको निर्भरता कम हुनु अवश्य जरुरी छ । भारतसँगको एकल निर्भरतामा क्रमभंग हुनैपर्छ । तर, चीनसँग सहकार्य गर्दा पनि परनिर्भरताको विविधिकरण मात्र हुने गरी होइन, द्विपक्षीय व्यापारको कोणबाट गरिनुपर्छ । भारतसँग एकाध अर्बको उधारो सहायताका निम्ति चीनसँग पुर्पुरो कन्याउने होइन, व्यापारिक ‘डिल’ हुनुपर्छ । यसले मात्र हाम्रो हैसियत स्वतन्त्र हुनेछ, स्वाधीन हुनेछ । होइन भने हामीले हाम्रो कुरा गर्दा चीनले भारतीय ठान्नेछ, भारतले चिनियाँ ठानिरहनेछ । तसर्थ, मोदीको माधुर्यमा अल्झिने होइन । यो त उनको चातुर्य मात्र हो । हामीले हाम्रै पनको विकास गर्नुपर्छ । दुवैको सहयोग र साझदारीमा हाम्रा आफ्नै प्राथमिकताका साथ अगाडि बढ्नुपर्छ, दुवैतिरको विश्वास र सद्भावको सदुपयोग गर्दै । 

Related News