मोदीको फोन र नेपाल–भारत सम्बन्ध

रमेश घिमिरे । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपालका प्रमुख दलका तीन नेतालाई फोन गरेको कुरा छापा माध्यममा बाहिर आयो । भावी प्रधानमन्त्रीको रुपमा चर्चामा आएका केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवालाई मोदीले फोन गरेर बधाई, धन्यवाद ज्ञापन गरे ।
यसमा नयाँ कुरा के भयो भने ओली र प्रचण्डलाई फोन गर्नु त स्वाभाविकै थियो । किनभने दुवै आलोपालोअन्तर्गत भावी प्रधानमन्त्री हुन् । तर पराजित (नेपाली कांग्रेस) देउवालाई पनि फोन गरेर आफ्नो मित्र शक्तिलाई थुमथुम पार्ने प्रयास पनि गरे । यसलाई भारतको नयाँ कुटनीति अभ्यासको थालनी भन्न सकिन्छ ।
त्यस्तै मोदीले ओलीलाई दिएको भारत भ्रमणको निम्तोको प्रत्युत्तरमा ओलीले आफूले सबभन्दा पहिले नेपालको लोकतान्त्रिक संस्थाहरुको सुदृढीकरण, सुशासन र समृद्धितर्फ ध्यान दिनुपर्ने भएको हुनाले मोदीलाई नै जुन नेपाल भ्रमणको निम्तो दिए, त्यो निश्चय नै नेपालको स्वाभिमान बढाउने र बराबरीको सम्बन्धतर्फ एक ऐतिहासिक पाइला मान्नुपर्दछ ।  आशा गरौं, मोदीले छिट्टै नेपालको भ्रमण गर्नेछन् र पुनः नेपाली जनताको मन जितेर एउटा असल छिमेकी बनेर देखाउनेछन् ।
आखिर के–के छन् त नेपाल–भारत सम्बन्धका तगाराहरु ? सबभन्दा पहिले त भएभरका सबै परियोजनाहरु भारतीय कम्पनीले ओगट्ने कहिले पूरा नगर्ने । अब यो अवस्थाबाट मुक्त हुनुपर्दछ । अब बन्ने सरकारले भारतसँग भएका विभिन्न सन्धि सम्झौता र आर्थिक सम्झौताका बारेमा एक श्वेतपत्र जारी गरी नेपाली जनतालाई सुसूचित गर्नुपर्दछ र नयाँ परिवेशमा नेपाल–भारत सम्बन्ध परिभाषित गरी नयाँ सम्बन्धको थालनी गर्नुपर्दछ ।
अब नेपाली जनताको जुन समृद्धि र विकासको आकांक्षा छ त्यो भारतले मात्र पूरा गर्न सम्भव छैन । त्यसका लागि हामीले भारत र चीन दुवै छिमेकीलाई साथ लिई अघि बढ्नु पर्दछ । यसले अन्ततोगत्वा भारत र चीनलाई पनि लाभै हुन्छ । किनभने पटना, दिल्ली, लखनऊ र भारतका उत्तरपूर्वी राज्यहरुले चीनबाट समुद्रीमार्गबाट सामान आयात निर्यातमा ४५ देखि ६० दिनसम्मको समय लाग्दै आएको छ । केरुङ–रक्सौल या केरुङ–ठोरी रेल निर्माण भएमा अधिकतम १५ दिनको सामान ढुवानी समय लाग्नेछ । यसबाट भारत–नेपाल–चीन तीनै मुलुक लाभान्वित हुनेछन् । भारतले चीनसँग सहकार्य गरी यस मुद्दामा स्पष्ट हुनु जरुरी छ । किनभने भारतले रक्सौल–काठमाडौं रेल ल्याउन खोजे पनि हिमाल पहाडमा रेल दौडाउने प्रविधि भारतसँग छैन । तसर्थ चीनसँगको सहकार्य नै उत्तम विकल्प हो ।
भारतको कर्मचारीतन्त्र र केही तथाकथित इलिटहरुको नकारात्मक सोचका कारण पनि नेपाल–भारत सम्बन्ध सुमधुर हुन सकिरहेको छैन । यसलाई सुधार्नु जरुरी छ । केही वर्ष अगाडि भारतका एक पूर्व विदेशसचिवले भन्नुएको थियो– ‘हामीहरु (भारत सरकार) नेपाललाई विदेश मान्दै मान्दैनौं र भारतको एउटा प्रदेशलाइ जसरी केन्द्र सरकारले बजेट छुट्याउँछ त्यसरी नै बजेट छुट्याइन्छ र प्राविधिक रुपमा विदेश मन्त्रालयमार्फत् नेपाललाई सहयोग गरिन्छ । यो दुई देशबीचको विशेष सम्बन्धमा आधारित छ ।’
त्यस्तै केही वर्ष अगाडि सत्तासीन भारतीय जनता पार्टी (बिजेपी)का उपाध्यक्ष केआर मलकानीले भनेका थिए– ‘सरदार वल्लभ भाइ पटेलको गल्तीको कारण नेपाललाई त्यतिबेला भारतमा नगाभेर ठूलो गल्ती गरे ।’ त्यतिबेलै यसबारेमा नेपाली मिडियाले ‘मलकानीले नेपाल र नेपालीसँग माफी माग्नु पर्छ भनेर सम्पादकीय प्रकाशित भएको थियो ।
एउटा स्वतन्त्र र स्वाभिमानी देशको नागरिक भएर बाँच्नको लागि नेपाल–भारतबीचको खुला सिमालाई पनि कुनै न कुनै रुपमा नियन्त्रण गर्नै पर्दछ । नत्र भने एक अर्ब पच्चीस करोडको भारतको जनसंख्याको अगाडि भविष्यमा नेपालको अस्तित्व जोगाउन गाह्रो हुनेछ । यस्ता कुरामा होस पु¥याएर भावी वाम गठबन्धनको सरकारले काम गरेमा अवश्य पनि नेपाल–भारत सम्बन्ध सुमधुर हुँदै जानेछ ।
स्वतन्त्र पत्रकार, rmshghimire@yahoo.com

Related News