​मोदीको रणनीतिक नेपाल भ्रमण

दृष्टि न्यूज

काठमाडौं, २५ वैशाख । वैशाख २८ गतेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो एउटै कार्यकालमा तेस्रोपटक नेपाल भ्रमण गर्दै छन् । दुई मुलुकबीच सम्बन्ध सुधार गर्न भन्दै मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको धार्मिक यात्रा तय गरेका हुन् । उनको यो भ्रमणले नेपालको धार्मिक पर्यटनमा योगदान पुग्ने र दुई मुलुकबीच आपसी सद्भाव वृद्धि हुने अपेक्षा गरिएको छ । दुई दिने भ्रमणका क्रममा उनले नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी उनले काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन समेत ग्रहण गर्ने कार्यतालिका दुवै मुलुकका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेका छन् ।  
२०७१ सालमा पहिलो भ्रमण गर्दा मोदीले तुलात्मक रुपमा नेपालीको सद्भाव प्राप्त गरे पनि त्यसपछिका भ्रमणमा त्यो सद्भाव गुमाए । खासगरी उनी सार्क सम्मेलनताका आउँदा नै जनकपुरधाम र मुक्तिनाथ यात्रा तय गर्न चाहन्थे । त्यसका निम्ति निकै ठूलो तयारी पनि भइसकेको थियो । तर, नेपालमा संविधान बन्दै गरेको, त्यस क्रममा केही क्षेत्रीय र साम्प्रदायिक मुद्दा समेत उठेको सन्दर्भमा उनको जनकपुर उपस्थिति र त्यहाँ हुने भाषणबाजिले परिस्थिति जटिल बन्ने ठानेर तत्कालीन सरकारले अन्तिम अवस्थामा तालिका सच्याउन आग्रह गरेको थियो । उनले त्यतिखेर भाषण गर्न नपाउँदा एक प्रकारले रोष नै प्रकट गरेका थिए । काठमाडौँको ट्रमा सेन्टर उद्घाटनका क्रममा उनले त्यो असन्तुष्टि पोखेका थिए र संविधान निर्माण गर्दा सबैलाई समेट्नुपर्ने सुझाव दिएर एउटा राजनीतिक समूहको पक्षपोषण हुने सन्देश दिएका थिए । 
संविधानसभाले संविधान जारी गर्दा उनले नेपालमाथि नाकाबन्दी लगाए । संविधानविरोधी तत्वलाई उनले साथ दिए । स्वाभिमानपूर्वक नाकाबन्दीको डटेर सामना गर्ने प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई असहयोग गरे । त्यसप्रति नेपाली जनताको व्यापक चित्त दुखाइ छ । यो कुरा हालै सामाजिक सञ्जालहरुमा व्यक्त अभिमतहरुलाई पनि राम्रोसँग नियाले पुग्छ । मोदीले के बुझ्नुपर्छ भने कुनै पनि शासक वा राजनीतिक दलको नेतृत्वले कूटनीतिक दबाब वा व्यक्तिगत स्वार्थका निम्ति गरेका निर्णय जनस्तरबाट स्वीकार गरिँदैनन् भने त्यसको प्रतिफल प्रत्युत्पादक नै हुन्छ । नेपाल यस्तो मुलुक हो, जहाँ वास्तवमै सर्वाधिकार जनतामा छ । आमजनताको समर्थनमा गरिएका कामले मात्र यहाँ वैधानिकता प्राप्त गर्छन् । होइन भने ढिलोचाँडो उल्टिन्छन् । त्यस्ता अलोकप्रिय र जनचाहनाविपरीतका निर्णयका कर्ताहरुले क्षति अवश्य बेहोर्छन् । मोदीले पनि सीमित राजनीतिक कित्ता वा समुदायको मात्र प्रिय बन्ने नाममा नेपाली बृहत् समुदायको सद्भावना थप गुमाउने सम्भावना बढी छ ।
कूटनीतिक एवं सामरिक मामिलाका जानकारहरुका अनुसार, तेस्रो भ्रमणमार्फत् मोदीले सम्बन्ध सुधार गर्न मात्र चाहेका हुन् भने उनको स्वागत र सत्कारमा नेपाल र नेपालीले कुनै कन्जुस्याइँ गर्नु हुँदैन । तर, अहिले पनि उनी रणनीतिक रुपमा नेपालको आन्तरिक विशिष्टता र विविधतामा खेल्ने कोशिसमा छन् भने त्यो स्वीकार्य हुनुहुँदैन । उनी धार्मिक र सांस्कृतिक भ्रमण गर्न चाहन्छन् भने जनकपुरधाम मात्र होइन, नेपालका हरेक मठमन्दिर उनका निम्ति खुला छन् । तर, जनकपुरको बारबिघा मैदानमा स्थानीय जनसमुदायलाई भेला पारेर राजनीतिक नेताले जस्तो भाषण गर्ने, जनकपुर विकास प्याकेजका नाममा दातव्य घोषणा गर्ने र साइकल बाँड्नेजस्ता इरादा उनको धार्मिक—आध्यात्मिक लगावसँग कुनै साइनो राख्दैन । 
साधनाकालमा गरेका तीर्थाटन र भ्रमणका आधारमा जनकपुर, मुक्तिनाथ लगायतका तीर्थस्थलसँग मोदीको विशेष लगाव रहेको मानिन्छ । एउटा मुलुकको सरकार प्रमुखको नेपाली तीर्थस्थलसँग यति बिघ्न आस्था र लगाव हुनु नेपाल राष्ट्रकै निम्ति गौरवको कुरा हो । साथसाथै, ती धार्मिक—सांस्कृतिक स्थलहरुको पवित्रता एवं गैरराजनीतिक चरित्र कायम राख्न सक्नुपर्छ । मोदीले त्यसमा राजनीतिक र रणनीतिक रङ मिसाउनु उचित हुँदैन । यसले नेपाल मात्रै होइन, अन्य भूरणनीतिक सरोकारवाला पक्षहरुका निम्ति समेत अनावश्यक संशय पैदा गर्न सक्ने विश्लेषकहरु बताउँछन् ।  
मोदीले गर्ने सार्वजनिक भाषण भारतमै पनि विवादित रहँदै आएका छन् । खासगरी उनी आरएसएस पृष्ठभूमिका कट्टरपन्थी धर्मवादी नेता हुन् । उनीप्रति भारतभित्रै पनि गैरहिन्दू र हिन्दू सम्प्रदायभित्रकै उदार तप्कामा व्यापक असन्तुष्टि छ । उनले त्यहाँको धार्मिक सहिष्णुता खल्बल्याएको र राजनीतिक लाभका निम्ति धार्मिक उत्तेजना बढाउने काम गरेको आरोप खेप्दै आएका छन् । उनको त्यो कट्टरपन्थी छविले छरछिमेकमा पनि प्रशस्त द्वेष जन्माएको छ । हुन त भारतीय समाज र राजनीति जति कट्टर र संकुचित छ, त्यति नेपाली समाज छैन । तैपनि, भारतीय जनता पार्टीको आँखा अन्य धार्मिक सम्प्रदायप्रति द्वेषपूर्ण हुँदा अनावश्यक पक्षधरता र पृथकताको भावना जगाइदिएको छ । मोदीले सार्वजनिक भाषण गर्न जुन मैदानी क्षेत्र र आफ्नो देशको सीमा समेत जोडिएको जिल्ला रोजेका छन्, त्यहाँको समुदायमा उनीप्रति पूरापूर सद्भाव छ भन्ने सुनिश्चितता कसैले गर्न सक्दैन । 
दक्षिणी सीमा क्षेत्रमा बस्ने ठूलो मुस्लिम समुदायलाई भारतीयले सधैँ शंकाको दृष्टिले हेर्दै आएका छन् । भारतीय प्रशासनको अनावश्यक संशय र धरपकडको सिकार पनि यो समुदाय भएको छ । धार्मिक सहिष्णुतामा निकै उदार रहेको नेपाली मुस्लिमलाई भारतीय पक्षले पाकिस्तानी रङमा हेर्ने गर्छ । र, धेरै नेपाली मुस्लिम नेताहरु सीमापारिका आपराधिक समूहबाट मारिएका छन् । त्यस्ता अपराधी, जसलाई त्यहाँको संस्थापनले नै प्रयोग गरेको तथ्य नेपाल प्रहरीका अनुसन्धानले पकटपटक स्थापित गरिसकेको छ ।
नेपालभित्रै अलगाववादी धारणा जन्मनु र हुर्कनुमा प्रत्यक्ष—परोक्ष रुपमा सीमापारिको छ भन्ने कुरा अब यहाँ सामान्य ज्ञानको विषय भइसकेको छ । प्रदेश—२ को एउटा क्षेत्रीयतावादी राजनीतिक कित्तामा यो मनोविज्ञान अझ बढी छ । त्यही ठाउँमा गएर मोदीले भाषण गर्न चाहनुको अन्तर्य के हो ? यो नै अहिलेको सबैभन्दा पेचिलो प्रश्न हो । संविधान जारीपछि सम्पन्न निर्वाचनबाट थिग्रिँदै गएको राजनीतिक वातावरण यसले कतै थप धमिल्याउने त होइन ? त्यसै पनि संविधानप्रति असन्तुष्टिका नाममा वारि र पारिको मतो मिलेको र सिंगो मुलुकलाई नै घुँडा टेकाउन खोजिएको सन्दर्भ धेरै पुरानो भइसकेको छैन । 
सुरक्षाका दृष्टिले पनि मोदीले जनकपुरमा सार्वजनिक भाषण गर्नु उचित छैन भनेर स्थानीय प्रशासनले पटकपटक जानकारी गराइसकेको छ । स्वयं भारतीय राजदूत मञ्जीवसिंह पुरीको उपस्थितिमा प्रदेश—२ का मुख्यमन्त्री लालबाबु राउतलाई समेत यसबारे अवगत गराइएको छ । यस अर्थमा हाम्रो गृह प्रशासन र परराष्ट्रको नेतृत्व पनि अनभिज्ञ छ भन्न मिल्दैन । यस कुराप्रति नजरअन्दाज गरी मोदीलाई नचिढ्याउने नाममा दिल्लीबाट जेजे प्रस्ताव आउँछ, त्यो स्वीकार्दै जाँदा दुई मुलुकबीच सद्भाव होइन, अनावश्यक सशंय बढ्न सक्छ । यसतर्फ समय छँदै सचेत रहनु उचित हुने कूटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

Related News