​गाउँपालिकाको बजेट बाँडफाँडमा भाँडभैलो

बैठकमा सार्वजनिक लेखा परीक्षणको माग गर्दै कार्यपालिकाका सदस्यहरुद्वारा ज्ञापन बुझाइयो

दृष्टि न्यूज

वीरेन्द्र रावल/धनगढी  । 
मोहन्याल गाउँपालिकाको शनिबार र आइतबार खिमडीमा आयोजना गरिएको बैठक विना निष्कर्ष स्थगित भएको छ । बैठकमा विकास निर्माण र बजेट बाँडफाँडका बिषयमा छलफल हुने भनिएता पनि  मोहन्याल गाउँ कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले बजेटको लागत स्टिमेट नै पेश नगरी रकम के–कसरी छुट्याउने भन्ने बिषयमा योजनानै नल्याएको हुँदा  बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा सो गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले विकास बजेटलाई दामासायीका हिसाबले प्रत्येक वडा कार्यालयलाई बजेट दिएका  थिए । यसपालि पनि ती वडामा दामासायी बजेट बिनियोजन हुनुपर्ने माग यसअघि वडाध्यक्षहरुको रहेको थियो । सो गाउँपालिकाका अध्यक्ष रावलले गत आर्थिक वर्षमा एकमुष्ठ बजेट दामासायीका दरले वितरण गर्दा अपारदर्शिता बढेको र वडा कार्यालयहरुमा ठेकेदारी प्रथा भएको भन्दै एकमुष्ठ बजेट नदिइएको बताउँदै बैठकमा लागत स्टमेटसहित योजनाको डिपिआर तयार गरेर ल्याउन सबै वडाध्यक्षहरुलाई निर्देशन भएपछि सो बैठक बिना निष्कर्ष टुंगिएको बताइएको छ ।
बैठकमा गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले योजनाको प्राथमिकीकरण गरे लगायत स्टिमेटसहित जनताका हितमा योजना बनाएर ल्याएपछि एकमुष्ठ बजेटलाई सन्तुलित ढंगबाट विनियोजन गरिने बताएका छन् । उनका अनुसार योजनामा कुनै पनि खालको बदमासी वा अपारदर्शिता नहोस् भन्नका लागि बजेटको योजना माग गरिएको बताए । 
गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको एकमुष्ठ बजेट वडाध्यक्षहरुले मनोमानी ढंगले खर्च गरेको आरोप लाग्दै आएको छ भने आम जनतालाई समेत विकास निर्माणका हरेक योजनाका बारेमा जानकारी नै नदिएर वडाध्यक्षहरुले रकम मनोमानी खर्च गरेको आरोप लाग्दै आएको छ ।
यस वर्षका लागि ३ करोड ९९ लाख रुपैयाँ गाउँपालिकाले भौतिक पूर्वाधार, सडक, खानेपानीलगायतका विकास निर्माण लागि छुट्याएको र ८० लाख रुपैयाँ शिक्षाका लागि छुट्याइएको बताइएको छ ।
शनिबारको बैठकमा शिक्षाको बजेटलाई कुन कुन विद्यालय वा शिक्षा क्षेत्रका लागि के कति आवश्यक छ त्यसबारे  लागत अनुमानसहित प्रतिवेदन बुझाउनका लागि स्रोत व्यक्तिलाई कार्यदल बनाएर प्रतिवेदन बुझाउनका लागि आवश्यक निर्देशन भएको पनि स्रोतले बताएको छ ।
गत आर्थिक बर्षमा एकमुष्ठ बजेटमा तर मारेका वडाध्यक्षहरुले अप्रत्यक्ष रुपमा यसपाली पनि सोही अनुरुप बजेट लिने रस्साकस्सी गरेको भएता पनि उनीहरुको उक्त दाउलाई पूरा हुन नदिनका लागि गाउँपालिकाका अध्यक्षले कडा कदम चालेको बताइएको छ ।  गाउँपालिकामा अपरादर्शिता बढ्दै जान थालेपछि र बजेटलाई सन्तुलित रुपमा विकास निर्माणका कार्यमा सही सदुपयोग गराउनका लागि आफूले कडा कदम चाल्ने अडान अध्यक्ष नवलसिंह रावलले यसअघि नै बताइसकेका छन् । 
गत आर्थिक बर्षको बजेटलाई वडाध्यक्षहरुले सार्वजनिक खरिद ऐनलाई समेत धज्जी उडाएर मनोमानी ढंगले  आसेपासेलाई उपभोक्ता समितिमा राखेर बजेट दुरुपयोग गरेको आरोपसमेत अधिकांश जनताको रहेको छ ।
सो गाउँपालिकामा भए गरेका हरेक विकास निर्माणका गतिविधिका बारेमा स्वयं कार्यपालिकाका सदस्यहरुले समेत आफूहरु अनभिज्ञ रहेको, वडाअध्यक्षहरुले वडाका सदस्यहरुलाई समेत विकास निर्माण्का योजना र विनियोजित रकमका बारेमा जानकारी नदिने गरेको, वडाअध्यक्षहरु नै हैकमवादी शैलीमा काम गर्ने गरेको भन्दै गाउँपालिकाका सदस्यहरुले यसअघि नै संघर्ष समिति बनाई आर्थिक गतिविधिहरुका बारेमा जानकारी माग गरेका थिए । तर उनीहरुको माग अझैसम्म पनि सुनुवाइ नभएको आरोप कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरुको गुनासो रहिआएको छ ।   यतिसम्मकि गाउँपालिकाले प्रत्येक वडा कार्यालयहरुलाई कार्यालय सञ्चालनका लागि विनियोजन गरेको रकम समेत के कति कुन शीर्षकमा खर्च भयो त्यसबारेमा जानकारी नै नदिएर विल पास गरिसकिएको गुनासो समेत वडा सदस्यहरुले गरेका छन् । 
शनिबार र आइतबार खिमडीमा बसेको गाउँ कार्यपालिकाको बैठकमा चार जना वडा सदस्यहरुले  प्रत्येक विकास निर्माणदेखि विनियोजित बजेटहरुको हालसम्म पनि सार्वजनिक लेखा परीक्षण नगरिएको भन्दै तत्काल प्रत्येक वडास्तरमा, गठित उपभोक्तास्तरमा सार्वजनिक खरिद ऐन मुताविक सार्वजनिक सुनुवाई गरिनुपर्ने मागसहित गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलसमक्ष ज्ञापनपत्र बुझाएका छन् । स्मरण रहोस् मोहन्याल गाउँपालिकामा स्थानीय निकायको निर्वाचनमा तीन वटा वडा तत्कालीन एमाले, ३ नेकपा माओवादी केन्द्र र एक वडा नेपाली कांग्रेसले जितेको थियो । एमाले र माओवादी एक भैसक्दा पनि सो गाउँपालिकामा एकताको कुनै उपलब्धि देखापरेको छैन भने स्वयं गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले आफ्नै पार्टी नेकपाका वडाअध्यक्षहरुबाट असहयोग महसुस गरिरहेको र उनीहरुबाटै बैठकमा बखेडा झिक्ने काम भइरहेको गुनासो सुनिएको छ । 
बैठक के कति कारणले र किन स्थगित भयो  र बैठकको उपलब्धिका बारेमा सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद ओझालाई सम्पर्क गर्दा उनको मोबाइल स्वीचअफ रहेका कारण सम्पर्क हुन सकेन । 

Related News