‘म्याडम, तपाइँको महिनावारी किन हुँदैन?’


अछाम, २७ पुस । “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउँदिनन् ।
  
विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाइँको महिनावारी कहिले हुन्छ ? तपाईँको महिनावारी किन हुँदैन ?’लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन् ।  आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने हो भने विद्यार्थीको पठनपाठन बिग्रन्छ भन्ने थाहा पाएर झुटो बोल्ने गरेको उनी बताउँछिन् ।

“समाजलाई परिवर्तन गर्न निकै कठिन रहेछ”, जिल्ला शिक्षा कार्यालय अछामले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भावुक मुद्रामा भनिन्, “मैले झुटो बोलिनँ भने विद्यालय परिसरभित्रै प्रवेश गर्न पाउँदिनँ । मेरा लागि होइन, अझैसम्म छाउपडीजस्तो अन्धविश्वास बोकेर हिँडेका तिनै अभिभावकका बालबच्चाको पढाइ नबिग्रियोस् भनेर झुटो बोल्ने गरेकी हुँ ।” 

अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ भने ग्रामीण क्षेत्रमा यसको उन्मूलन तत्कालका लागि निकै कठिन छ । पछिल्लो एक महिनाको अवधिमा दुई छात्राले यसै प्रथाका कारण ज्यान गुमाए तर पनि अभिभावक ‘भगवान् रिसाउँछन्’ भन्ने अन्धविश्वासमा यस प्रथाबाट मुक्त हुन सकेका छैनन् ।  

महिनावारी भएको छैटौँ दिनमा चोखिने र भान्सा तथा मन्दिरमा प्रवेशका लागि नौ दिन नै प्रतीक्षा गर्नुपर्ने चलन कायम छ । बैठकमा उपस्थित महिला शिक्षकले महिनावारी भएको नवौं दिनमा घाम अस्ताउने बखत स्नान गरेपछि मात्र महिलाले पूर्णरूपमा शुद्धि प्राप्त गर्ने मान्यता रहेको बताए ।  “वयस्कले सहलान् तर स्कुले छात्राले यस्तो जाडोमा साँझ ४ बजेपछि चिसै पानीले स्नान गरेर चोखिनुपर्दाको पीडा कस्तो होला, सोच्नुस् त !” मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँका मावि शिक्षक धनकला ठकुल्लाले भनिन् ।
 
हुन त केही टोल र गाउँमा सामूहिक छाउगोठ बनाउने चलन चलाइएको पनि छ ।  एउटा छाप्रोलाई गाउँभरिका महिलाले महिनावारीका बखत प्रयोग गर्ने गरेका छन् ।  खालसैनस्थित हिमालय माविका प्रधानाध्यापक नेत्रबहादुर बुढाले सामुदायिक छाउगोठमा एकैपटक ६ जनासम्म महिला बस्ने गरेको बताउँदै थपिन्, “देउता रिसाउँछन् भन्ने डरले यस प्रथालाई हत्तपत्त छाड्न चाहेका छैनन् ।  महिनावारीका बेला छात्रा अनुपस्थित हुने प्रवृत्ति नगरपालिका क्षेत्रमा धेरै घटिसकेको छ । ” ऋषिदह–३ स्थित कालिका प्रावि परिसरमा झलालमान्डु मन्दिर छ । गोरखापत्र दैनिकमा खबर छ ।

Related News