​मुआब्जाका लागि सङ्घर्ष समिति गठन

दृष्टि न्यूज

नुवाकोट । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाको नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयले बुधबार सङ्घर्ष समिति गठन गरेका छन् । 
योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा लिने जग्गाको मुआब्जा नदिने योजनामा रहेको भन्दै मुआब्जा दिलाउनको लागि माग गर्दै सङ्घर्ष गर्न समिति गठन गरिएको हो । 
बुधबार बट्टारमा भएको प्रभावितको भेलाले लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेको जनाएको छ । समितिको सहसंयोजकमा गीता अमात्य चयन हुनुभएको छ । 
कात्तिक १३ गते पिपलटारका बासिन्दाले योजनाको ठेकेदारले पिपलटार क्षेत्रमा गरेको कालोपत्रको कामलाई अवरोध गरेर मुआब्जा निर्धारण गरी वितरणको माग गरेका थिए । पिपलटारमा स्थानीयवासीले गरेको अवरोधलाई स्थानीय प्रशासनले सशस्त्र प्रहरी बल परिचालन गरी कालोपत्र गराएपछि पिपलटारदेखि बट्टार, विदुर र ढुङ्गेसम्मको सडक प्रभावितले भेला गरी सङ्घर्ष समिति गठन गरेको संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो । 
देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको स्थानीयको बुझाइ छ । पछिल्लो समय मुआब्जा नदिने कुरा आएपछि सङ्घर्षको योजना बनाएको सहसंयोजक गीता अमात्यले बताउनुभयो । 
“मुआब्जा दिने दिने भन्दै सडक विस्तार गरेर अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने, कोहीलाई नदिने । यो विभेद हो गर्न पाउँदैन”, संयोजक न्यौपानेले भन्नुभयो । 
विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिकरूपमा जानकारी दिन थालेपछि स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् । 
अहिलेसम्म नागरिकका नाममा रहेको जग्गा र हालसम्म सडक निर्माणका क्रममा कुनै पनि मुआब्जा नपाएका नागरिकलाई अहिलेको आयोजनामा कतै मुआब्जा दिने कतै नदिँदा अन्याय हुने सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठले बताउनुभयो । 
“गङ्गटेदेखि ढुङ्गेसम्म चार लेनको सडक निर्माण हुने भएकाले कतिपयको उठीबास लाग्ने अवस्था छ । मुआब्जा नदिए धेरै नागरिक घर न घाटको हुने अवस्था छ”, श्रेष्ठले भन्नुभयो । समितिका सदस्य सञ्जीव श्रेष्ठले मुआब्जाका लागि चरणबद्धरूपमा आन्दोलन गर्दै जाने बताउनुभयो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार ढुङ्गे मुआब्जा दिने नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । 
आयोजनाका देविघाट–गल्छी खण्डका एक हजार ४८१ रोपनी जग्गाको प्रतिआना रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्मको दरले मुआब्जा वितरण शुरु भएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किमी सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । 

Related News