मुडभरीलाई सफाई

काठमाडौं, ४ भदौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कर्मचारी दीपक मुडभरीले सफाइ पाएका छन् । वीरमा छैटौं तहमा कार्यरत मुडभरीले उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् । उच्च अदालतका न्यायाधीश प्रेमराज कार्की र शेखर पौडेलको सयुक्त इजालसले मुडभरीलाई सफाइ दिएको हो ।
 २०७१ माघ २६ गते डाक्टर मनोज कुमार शाहले राजेश कहर, रवि पौडेल र दीपक मुडभरीविरुद्ध प्रतिष्ठानको एमडी भर्नामा किर्ते कागज देखाएर ६० लाख ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका थिए । तर, ठगी र कीर्तेमा कुनै पनि संलग्नता नरहेका मुडभरीलाई काठमाडौं जिल्ला अदालतले जरिवाना गरेपछि उनी उच्च अदालतको शरणमा पुगेका थिए । मुडभरीसँगै ठगीका आरोपी राजेश कहर र रवि पौडेलले पनि सफाई पाएका छन् । तत्कालीन प्रहरी प्रमुख पुस्कर कार्कीले मुडभरीलगायतलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा काठमाडौं जिल्ला अदालतले किर्तेमा सफाइ दिएर ठगीमा जरिवाना गरेको थियो । 
मुडभरी वीर अस्पताल कर्मचारी युनियनका सचिव एवम् नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्य कर्मीसंघका महासचिव समेत हुन् । 
यसअघि काठमाडौं जिल्ला अदालतले किर्ते कागजात र नक्कली छाप प्रकरणमा मुडभरीको संलग्नता नरहेको भन्दै सफाइ दिए पनि मुडभरी ठगीमा समेत आफ्नो संलग्नता नरहेको भन्दै उच्च अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।

Related News