पतिद्वारा पत्नीको हत्या

दृष्टि न्यूज

लहान, २५ जेठ ।
सिरहाको बरियारपट्टि गाउँपालिकामा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले बिहीबार साँझ धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । 
घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजन भेटवालले जानकारी दिए । सविताको शव परीक्षणका लागि जिल्ला अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ । 
अभियुक्त यादव सीमापार हुनसक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाइ गरिएको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।

Related News