​ताप्लेजुङमा श्रीमतीद्वारा श्रीमानको हत्या

दृष्टि न्यूज

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा धारिलो हतियार प्रहार गरी एक श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले गएराति २४ वर्षीय श्रीमान दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  हत्यापछि पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 
मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।
बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको जनाइएको छ ।

Related News