​टि–२० छनौटमा नेपाल दोस्रो चरणमा

दृष्टि न्यूज

काठमाडौं । 
सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि छनौट चरणको खेलमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । 

छनौट चरणको खेल अन्तर्गत सबैभन्दा कठिन मानिएको एसियाबाट नेपाल नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । एशिया छनोट समूह ‘बी’ मा लगातार ४ जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको छ । मंगलबारको खेलमा भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुग्न सफल भएको छ । 

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो ।

पहिलो चरणको सुरुवाती ४ खेल जितेपछि नेपाल ८ अंक जोडेर शीर्ष स्थानमा छ। पहिलो चरणको छनोटबाट शीर्ष ३ टिम दोस्रो चरणमा पुग्नेछन् । चौथो स्थानको थाइल्यान्डको ५ खेलबाट ५ अंक रहेकाले नेपालका लागि बाँकी खेल उपाधि भिडन्तका लागि मात्र हुनेछ । मलेसियामा जारी प्रतियोगितामा नेपालसँगै सिंगापुरको पनि ८ अंक छ । नेपालसँग समान अंक जोडेको सिंगापुर पनि दोस्रो चरणमा पुगेको छ। नेपालले अब बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ । 

Related News