यस्तो छ नेपाल भित्रिएको नयाँ जहाजका विशेषता

कूल यात्रु २७६, करिब १५ टन कार्गो बोक्ने सक्ने, १४ घण्टामा ननस्टप अमेरिकासम्म उडान भर्नसक्ने

दृष्टि न्यूज

काठमाडौं । 
संसारमा विकास र प्रविधिका कारण धेरै परिवर्तन भइसक्दा पनि नेपाल एयरलाइन्स भने ३१ वर्ष पछाडिको उपलब्धी पछ्याउन पाउँदा सिंगो देश खुशी हुन पुगेको छ । सन्दर्भ नयाँ वाईडबडी जहाज भित्राउँदाको हो । सन् १९८७ मा नेपाल एयरलाइन्सले दुई वटा मध्यमदुरीका जहाज बोईङ ५७५ भित्राउँदा नेपालमा मात्रै नभएर छिमेकी देशहरुमा समेत खुशी छाएको थियो । बिहिवार बुहारी भित्राए झै नेपाल एयरलाइन्सले अर्डर गरेको दुई वटा वाईडबडी जहाज मध्ये पहिलो जहाजलाई काठमाडौं विमानस्थलमा स्वागत गर्दा त्यही पुरानो दिनको झल्को दिएको थियो । 
उतिबेला नेपालले भित्राएको जहाज हेर्न र चढ्नकै लागि धेरै मानिस दिल्ली, साउदीलगायतका छिमेकी देशबाट नेपाल आएका थिए । त्यतिबेलाको अत्याधुनिक र नयाँ जहाज नेपालले भित्राउँदा नयाँदिल्ली समेतलाई नयाँ जहाज खरिदको लागि दवाव परेको थियो । अहिले दिल्लीले डबर टेकर (एकै पटकमा ६०० यात्रु बोक्न सक्ने विशाल जहाजहरु) सहित सयौं जहाजले युरोप र अमेरिका उडान भर्दै आएका छन् । तर, नेपालले भने मध्यमदुरीको वाईड रेन्ज जहाज भित्राउँदा ३१ वर्षको खुशी मनाउन पुगेको हो ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका अनुसार आगामी साउन १६ गतेदेखि उडान भर्ने अन्नपूर्ण अर्थात नयाँ जहाजले नेपालको पर्यटन क्षेत्रमा समेत नयाँ उत्साह थपेको छ । सन् १९८७ पछि नेपालले बेलायतको फ्याङ्कफ्रटमा सिधा उडान भर्ने गरेकोमा पछिल्लो समय जहाज अभावका कारण दक्षिणी छिमेकी राष्ट्र भारत र खाडी मुलुकमा सीमित हुन पुगेको थियो । नयाँ जहाज आएपछि धेरैकोणबाट चर्चा परिचर्चा भइरहेका छन् । प्राविधिक रुपमा उक्त जहाजका बारेमा चिरफार गर्ने प्रयास गरेका छौं । 
नेपाल एयरलाइन्सले बिहिवार विहान भित्राएको एयरबस ए–३३०–२०० जहाज फ्रान्समा मुख्यालय रहेको एयरबस कम्पनीबाट उत्पादित मध्यम खालको वाईडबडी जहाज हो । स्टाण्डर्ड र आधिकारिक सिट २४७ रहेको उक्त जहाजमा सिटहरुको साईजलाई घटाएर नेपाल एयरलाइन्सले भने २७४ सिट क्षमताको निर्माण गरेको हो । सिट संख्या बृद्धि हुँदा अधिकतम कार्गोको क्षमता भने घट्नेछ । नेपाल एयरलाइन्सले भित्राएको जहाज ए–३३०–२०० जहाजमा पूरा इन्धन भरेपछि एकैपटकमा १३,४५० किमी सम्म उडान भर्न सक्छ । उक्त दुरीमा नेपालबाट युरोप तथा अमेरिकासम्म उडान भर्न कुनै समस्या हुँदैन । काठमाडौंबाट अमेरिकाको राजधानी न्यूयोर्क तथा चिकागो शहरसम्म तथा युरोपका धेरै शहरहरुमा उडान भर्न सक्नेछ । नेपालको पर्यटन क्षेत्रमा दुई नयाँ जहाजको आगमनपछि ठूलो परिवर्तन हुने अपेक्षा गरिएको जहाज १७.३९ मिटर अग्लो रहेको छ । एक पटकमा एक लाख ३९ हजार ९० लिटर इन्धन पखेटामा भण्डारण गर्न सक्ने जहाज नयाँ एयरबस ए–३३०–२०० जहाज इन्धन तथा आफ्नो तौलसहित कूल २३०.९ टनसहित उडान भर्न सक्छ भने अवतरण गर्दा १८२ टनको भार थेग्न सक्दछ । तर, नेपालको एयरपोर्टमा भने १८२ टनको भार थेग्न कुशल चालकको आवश्यकता पर्दछ । एक सय ३९ टन इन्धन बोक्ने क्षमता भएको जहाजले जम्मा ४९.५ टन मात्रै यात्रु र सामान बोक्न सक्दछ ।  जहाजहरु इन्धनको लोड धेरै हुने हुँदा यात्रु र सामान कम बोक्दछन् । अधिकतम ८७० किलोमिटर गतिमा दौडमा उड्न सक्ने जहाजलाई काठमाडौंबाट अमेरिका पुग्न करिब १४ घण्टा लाग्नेछ । ४१ हजार फिटको उचाई सम्म उडान भर्न सक्ने जहाज नेपाल आएपछि काठमाडौं जापान, कोरिया, बेलायत उडान भर्नको लागि रुट किन्नु पर्दैन । नेपाल एयरलाइन्सको बोईङ७५७ जहाजको विगतमा उडान भरेकै रुटमा उडान भर्न सक्ने अवस्था छ । 
नयाँ जहाजमा ६ वटा खानेकुरा स्टोर गर्ने रुम, आठ वटा शौचालय रहेका छन् । अगाडि बिजनेस क्लासका लागि दुई वटा शौचालय पछाडि इकोनोमी क्लासका लागि छ वटा शौचालय भएको जहाजमा ११ जना क्रू मेम्बरका लागि सिट रहेका छन् । चालकदलका सदस्यसहित जहाजमा करिब २८९ मानिस अट्न सक्नेछन् ।


संसारभर कूल ६६०  वटा जहाज रहेको ए–३३०–२०० जहाज नेपालमा भने पहिलो पटक जम्मा दुई वटा रहेका छन् । उक्त जहाज प्रयोग गर्ने चाईना इष्टर्न सबैभन्दा ठूलो एयरलाइन्स हो भने भारतमा पनि उक्त जहाज लामो दुरीका यात्रामा प्रयोग भइरहेको छ । 
जहाजहरु मध्येमा सबैभन्दा सुरक्षित मानिएको एयरबसको यो जहाज नेपालले एकै पटक दुई वटा भित्राउँदै छ । पहिलो जहाज बिहिबार काठमाडौंमा अवतरण गरेको छ भने अर्को जहाज आगामी केहीदिन पछि नै काठमाडौं आईसक्ने छ । 
१० करोड ४८ लाख अमेरिकी डलरमा खरिद गरिएको जहाजमा थप सुविधा थप गरेबापत केही मूल्य बढेको छ । हरेक सिटका अगाडि डिजिटल डिस्प्ले भएको जहाज प्रविधिको हिसाबले अत्याधुनिक र सुविधा सम्पन्न छ । उडान र अवरण सम्बन्धी अत्याधुनिक प्रविधिका कारण जहाज विश्वका जुनसुकै विमानस्थलका प्रविधिसँग फिट हुनेछ भने काठमाडौंमा पनि चालकरहित प्रविधिमा आधारित रहेर अवतरण गर्न सकिने खालको हो । काठमाडौं विमानस्थललाई पनि प्रविधिसम्पन्न बनाई अटोमेशिन प्रविधिमा आधारित (चालक रहित) भएर अवतरण गर्न सकिने उपकरण जडान गरिएका कारण बाक्लो हुस्सुमा समेत अवतरण गर्न सम्भव हुनेछ । 
नयाँ जहाज काठमाडौंमा अवतरण गरेको सन्दर्भमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘राष्ट्रिय धोजावहाक नेपाल वायु सेवा निगमको एअरबस ३३० आज त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा आईपुगेको छ । नयाँ जहाज आउनु हामी सबैको लागि खुशिको समय हो । आउदो महिना थप अर्को वाइड बडि आईपुग्ने छ । नयाँ जहाजको व्यवसायिक उडान भने आगामी अगस्ट १ गतेबाट हुनेछ । सफल उडानको शुभकामना ।’ 

Related News