नाडा अटो शोमा तीन अर्बको कारोबार, दुई हजारबढी सवारीसाधनको बुकिङ


काठमाडौं १९ भदौ । नाडा अटो शो आइतबार सकिएको छ । एक्पोमा झण्डै ३ अर्बरुपैयाँ बराबरको कारोबार भएको दाबी गरिएको छ । नाडाका अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार दुई पाङ्ग्रे सहित गरेर दुई हजारबढी सवारी साधन बुकिङ भएको छ । 

सबै कम्पनीको गरेर एक हजार गाडी तथा १५, १६ सय बाईक बुकिङ भएको दाबी नाडा आयोजकको दाबी छ । नाडा अध्यक्ष श्रेष्ठका अनुसार बैंक ऋणमा भएको कडाईका कारण यो बर्ष एक्पोमा अघिल्लो बर्ष भन्दा कारोबार घटेको छ । त्यसैगरी यस पटक झण्डै ६० हजारले एक्पो अवलोकन गरेको आयोजकको दाबी छ । आयोजकले ५० हजार दर्शक आउने अनुमान गरेको थियो । 
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टको संयुक्त आयोजना गरेको एक्पोमा ६ दिनसम्म चलेको थियो । अटो मेलामा हुण्डाई, टाटा, किया, महिन्द्रा, सुजुकी, डाट्सन, फोर्ड, मारुती, होण्डा, निशान, रेनो, स्कोडा, भक्सवागन, स्याङयोेंगलगायतका कम्पनीका गाडी राखिएको थियो । गाडीको सबैभन्दा उत्कृष्ट स्टलको उपाधि फोर्डले जितेको छ । 

मेलामा बाइकको तर्फबाट बेष्ट स्टल बजाजले पाएको छ भने बेष्ट कमर्सियल भेहिकल स्टलको उपाधि अशोक ल्याण्डले हात पारेको छ । त्यस्तै मेलामा यामाहा बजाज, टीभीएस, होण्डा, हिरो, महिन्द्रा, रोयल इन्फील्ड, केटीएम, रनर, सुजुकी, युएम, बेनली, भेस्पा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए । मेलामा टायर, लुब्रिकेन्ट तथा स्पेयरपार्टस्कोले पनि स्टल राखेका थिए । साना, ठूला गरी ९१ वटा कम्पनीका १ सय ३० वटा स्टल राखिएका थिए । 

त्यस्तै बैंकहरुको पनि स्टल राखिएको थियो ।  मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने आयोजकले जनाएको छ । टिकट नम्बर ०२४८४० का दर्शकले लक्की ड्रबाट एउटा यूएम रेनिगेड कमाण्डो ३०० बाइक जितेका छन् । 

Related News