​नगद तरलता बढ्यो, ब्याज भने घटेन

काठमाडौं, २७ भदौ । लामो समयदेखि वित्तीय बजारमा देखिएको ऋणको लागि पर्याप्त नगद तरलताको अभावको अवस्थामा चालु आर्थिक वर्षको दोस्रो महिनामा सुधार देखिएको छ । नगद तरलताको अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गरेका थिएनन् भने अर्कोतर्फ महँगो ब्याजदरमा निक्षेप संकलन गरेका कारण प्रवाह भएको कर्जामा समेत चर्को ब्याज लगाउँदै आएका थिए । तर, यतिखेर विगतको तुलनामा बैंक तथा वित्तीय संस्थाहरूमा नगद तरलता अभावको सट्टा पर्याप्त नगद तरलता देखिएको छ । तरपनि कर्जाको ब्याज घट्ने सुरसार देखिएको छैन । स्रोतका अनुसार कम्तिमा पनि आगामी असोज मसान्त अर्थात् चालु आर्थिक वर्षको पहिलो त्रयमासिक अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरूले पूर्ववत् ब्याजदर कायम राख्नेछन् ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार यतिखेर नेपाली वित्तीय प्रणालीमा ७० अर्ब रूपैयाँ भन्दाबढी नगद तरलता देखिएको छ । एक महिना अघिसम्म नगद तरलता अभावको आवाज चर्को सुनिएपनि एकाएक उक्त स्वर मत्थर भएको छ । पछिल्लो नौ महिनादेखि तरलता अभावको कारण देखाउँदै निक्षेपमा सामान्य मात्राले तर कर्जामा चर्को ब्याजदर बढाएका अधिकांश बैंक तथा वित्तीय संस्थाले यतिखेर पनि उक्त ब्याजदरलाई कायम राखेपछि व्यवसायी तथा सर्वसाधारणले आवाज उठाएका छन् । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाले यतिखेर प्रवाह भएका कर्जाको रकममा लागेको लागत (कस्ट अफ फण्ड) यथावत रहेकोले केही समय कर्जाको ब्याजदरमा कमी नआउने बताएका छन् । नियामक निकाय नेपाल राष्ट्र बैंकले भने यस सम्बन्धमा मुख खोलेको छ्रैन । जबकी स्वयम् केन्द्रीय बैंकले बजारमा पर्याप्त नगद तरलता भएको अवस्थामा प्रयोग गर्ने वित्तीय औंजारको प्रयोग गर्दै बजारबाट नियमित रूपमा पैसा खिचिरहेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र केन्द्रीय बैंकले झण्डै ५२ अर्ब रूपैयाँ बजारबाट खिचेको छ ।
उता बैंक तथा वित्तीय संस्थाहरूले पनि गत असार महिनासम्म अनुत्पादक क्षेत्रको रूपमा रहेका सेयर, घरकर्जा र हायरपर्चेजमा लगानी ठप्प गरेका थिए । तर, पछिल्लो एक महिनादेखि एकाएक बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धी तवरले यसअघि अनुत्पादक क्षेत्रको रूपमा परिभाषित ती क्षेत्रमा समेत पर्याप्त लगानीका योजनाहरू सार्वजनिक गरेकाले पनि बजारमा लगानीयोग्य नगद तरलताको अभाव नरहेको अवस्थाको पुष्टी हुन्छ । यो सँगै बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकले जारी गरेका विभिन्न मौद्रिक औंजारमा समेत न्यून ब्याजदरमा पर्याप्त लगानी गर्न थालेका छन् । यसबीचमा ट्रेजरी बील्सको बट्टादर ०.४८ प्रतिशतसम्म झरेको छ भने, बैंक तथा वित्तीय संस्थाहरूबीच आदान प्रदान हुने अन्तर बैंक ब्याजदरसमेत ०.३० प्रतिशतसम्म आइपुगेको छ । ट्रेजरी बील्सको ब्याजदर पनि १ प्रतिशतको हाराहारीमा कायम रहनुले पनि बैंकहरू आफ्नो ढुकुटीमा थुप्रिएको नगदलाई छिटो र उचित तवरले व्यवस्थापन गर्न खोजिरहेको आँकलन गर्न सकिन्छ ।
अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार पनि बजारमा नगद तरलता बढेपछि कर्जाको ब्याज स्वतः घट्नु पर्दछ । तर, हाम्रो सन्दर्भमा यो लागू भएको छैन । एकजना पूर्व गभर्नरका अनुसार ‘नेपालमा कुनैपनि सिद्धान्तले काम गर्दैन, चाहे त्यो पुँजी बजार होस् वा वित्तीय बजार । तसर्थ, अहिले तरलता अभावको सट्टा तरलता बढेपनि ब्याजदर घटेन भन्नुको कुनै तुक हुँदैन ।’ बैंक तथा वित्तीय संस्थाहरूले भने अल्पकालीन कर्जाको ब्याजदर नघटेको तर दीर्घकालीन कर्जामा बिस्तारै कम गरिएको दाबी गरेका छन् । केहि समयअघि संकलित कर्जाको निम्ति योग्य संकलित रकम (निक्षेप) को लागत बढि रहेको कारण ब्याजदर नघटेको स्वयम् बैंकरहरूले नै बताएका छन् ।
यसबीचमा केहि बैंकले बेस रेट (आधार दर) लाई समायोजन गरेका कारण पनि कर्जाको ब्याज नघटेको देखिएको छ भने, अधिकांश बैंकले मुद्दती बाहेक अन्य निक्षेपको ब्याजदरमा खासै परिवर्तन नगरिएको कारणले अहिलेको अवस्था देखिएको एकथरी बैंकरले बताएका छन् । उनीहरूका अनुसार यो अवस्थाको सिर्जना गरिदिनेमा स्वयम् नेपाल राष्ट्र बैंक रहेको उनीहरूको आरोप छ । विगतमा नगद तरलताको अभाव भएपछि केन्द्रीय बैंकले स्वेच्छाचारी तवरले ब्याजदर बढाउने स्वतन्त्रता प्रदान ग¥यो । जसका कारण निक्षेप संकलन सहित कर्जामा समेत चर्को ब्याज बढ्यो । जसको मार अहिले पनि ऋणी तथा उपभोक्ताहरू भोग्न बाध्य भएका हुन् ।

Related News