​भैरहवा नाकामा भारतीय अवरोध

भैरहवा, २३ साउन । सुरक्षाका नाममा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसवी) ले रुपन्देहीको भैरहवास्थित बेलहीया–सुनौली सीमा नाकामा दुईहप्तादेखि अवरोध गरिरहेको छ । 
अवरोधका कारण भैरहवा भन्सारको राजस्व सकंलन प्रभावित भएको छ । साउनको पहिलो हप्तादेखि सुरक्षामा कडाई गर्दै तुलनात्मक रुपमा कम सवारी साधन आवत जावत गराइरहेको भारतीय पक्षले पछिल्ला दिनमा झनै कडाई गरेको छ । ‘भारत प्रवेशद्वारको मूलगेटमा बसेर एसएसबीले यात्रुहरुको समेत सवै खानतलासी लिएको छ । पहिला सामान्य हिसाबले चेकजाँच गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले एउटा सवारी साधन चेकजाँच गर्न पनि आधा घण्टाभन्दा बढी समय लगाउने गरेको छ’, जिल्ला ट्राफिक प्रहरी इकाई चेकपोष्ट बेलहियाका प्रहरी नायव निरीक्षक विष्णुबहादुर जीसीले भने– ‘के कारणले अवरोध गरिएको हो भन्ने पनि खुलाएको छैन, जसले आवतजावतमा निकै समस्या परेकोे छ ।’
यसको सवैभन्दा बढी मार निर्यातमा देखिएको छ । नेपाल तथा भारततर्फ मालबाहक सवारी साधनको लामो लाइन छ । नेपालमा सामान अनलोड गरेर भारत जान लागेका खाली सवारी साधनहरुमा समते एसएसवीले कडा चेकजाँच गरिरहेको छ । ‘भैरहवा भन्सारबाट पछिल्लो पाँच दिन निर्यात प्रायः ठप्प छ ।  आयातमा समेत असर परेको छ । प्रमुख भन्सार अधिकृत भुपाल शाक्यले भने–राजस्व सकंलनमा दैनिक ५ देखि ७ करोडमसम्म घाटा भइरहेको छ ।’ सयौं सवारी साधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुई÷चार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात–निर्यात प्रभावित भएको छ ।
सिमानादेखि करिब ४ किलोमिटरयता नेपालतर्फ लोड भएका र खाली गाडीको लाइन छ । ‘सामान्य अवस्थामा दैनिक १८ देखि २० करोड रुपैयाँको राजस्व संकलन हुन्थ्यो’, प्रमुख भन्सार अधिकृत शाक्यले भने–‘अहिले अवरोध भएपछि दैनिक १२–१३ करोड मात्रै राजस्व संकलन भएको छ ।’ भन्सार कार्यालयको तथ्यांक हेर्दा मात्रै दैनिक ५ देखि ७ करोडसम्म राजस्व संकलनमा घाटा भइरहेको छ । यसले चालु आर्थिक वर्षमा राजश्व संकलनमा भन्सार कार्यालयले लिएको लक्ष्य पूरा गर्न समेत हम्मे–हम्मे हुने देखिएको छ । नेपालबाट निर्यात हुँदै आएका सामान पनि नाकामै रोकिएका छन् । जसले निर्यातमा पनि नकारात्मक प्रभाव देखिएको छ ।  भारतको अघोषित नाकाबन्दीका बेला समेत सहज रहेको नाका विनाकारण अवरोध हुँदा यस क्षेत्रका ठूला–ठूला उद्योगधन्दा र यहाँ खुल्ने भनिएका व्यवसायिक प्रतिष्ठानहरु पनि अन्यत्र प्रस्थान हुनसक्ने चिन्ता ब्यवसायीलाई छ । 
साउन पहिलो सातादेखि सुरक्षा अवस्था देखाउँदै सीमा क्षेत्रमा भारतीय पक्षले अवरोध गरेपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय सुरक्षा बलका डीआइजी, नेपाली सुरक्षा निकायका प्रमुखहरुबीच गतहप्ता भएको छलफलमा भारतीय अधिकारीहरुले सीमा क्षेत्रमा अवरोध नगर्ने जनाएका थिए । सहमति बमोजित चार–पाँच दिन सवारी साधान आवतजावत गरे पनि पुनः सुरक्षा अवस्थालाई देखाउँदै भारतीय पक्षले नेपालबाट भारतर्फ जाने सवारी साधनलाई गत बुधबारदेखि कडाई गरेको हो । 
सहमति अनुसार भारतीय पक्षले नाका सहज गराउनुपर्नेमा झन कडाई गरेपछि भारतीय अधिकारीहरुसँग कुराकानी गरी नाका सहज गराउन आग्रह गरेकाले केही दिनमै सहजता आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए ।

Related News