बलात्कारीलाई कडा कारबाही गर्छु, बालविवाह र दाईजो प्रथा निर्मुल पार्छु : मन्त्री थापा

आधा आकाश ढाकेका महिलाहरुको संसार अध्याँरो हुनुहुँदैन : पहाडी

दृष्टि न्यूज

काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने र बालविवाह र दाईजो प्रथाको अन्त्यको लागि आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी छिन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले १०८ औं अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री थापाले आफूले छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएकी हुन् । उनले भनिन्, ‘बलात्कारीहरुलाई कडा कारबाही गर्छु र दाईजो प्रथालाई निर्मुल पार्छु ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री थापाले बलात्कारजस्ता जघन्य महिला हिंसाका घट्नामा तत्काल उजुरी र सूचना दिन ११४५ नम्बरको टोल फ्रि–नम्बर उपलब्ध गराइएको र त्यस्ता घटनामा दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको पनि बताईन् । उनले भनिन्,‘सरकारले ल्याएको टोल–फ्रि नम्बरको बारेमा प्रचारप्रसार अलिक भएको छैन, मिडियाको तर्फबाट जागरण ल्याउनुपर्छ ।’
उनले महिला हिंसा अन्त्य गर्नको लागि सबै सरोकारवाला निकाय संवेदनशील बन्नुपर्नेमा जोड दिइन् । समुन्नत र न्यायमूलक समाज निर्माणको लागि महिलाहरुलाई जिम्मेवार निकायमा पुर्याउनुपर्ने उनको धारणा छ । 
मन्त्री थापाले स्थानी तह, प्रदेश सभा र संघीय सभामा समेत महिलाहरुको प्रतिनिधित्व संविधानले सुनिश्चितता गरेबमोजिम भएकोले अब अधिकार प्राप्तिसँगै कार्यान्वयनमा महिलाहरुले जोड दिनुपर्ने सुझाईन् । उनले भनिन,‘विगतमा हामीले सडक र सदनबाट संघर्ष गरेर महिलाको प्रतिनिधित्व ३३ प्रतिशत प्राप्त गरेका हौं, यो महत्वपूर्ण उपलब्धि हो, हामीले अब यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।’
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् सांसद पुष्पा भुषालले महिलाहरु यो देशको प्रधानमन्त्री र पार्टीको नेतृत्व लिन सक्षम रहेको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘महिलाहरु प्रधानमन्त्री बन्न सक्षम छन्, पार्टीभित्र पनि महिलाहरु नेतृत्व लिन सक्षम छन् ।’
नेतृ भुषालले अहिलेपनि सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा जेण्डर ग्यापको अवशेष बाँकी रहेको गुनासो पोखिन् । उनले भनिन्,‘महिलाहरुमा चेतना व्यापक अभिवृद्धि भएको छ, नेपाली महिला आन्दोलनको ईतिहाँसमा योगमाया, मंगलादेवी, सहाना प्रधान, शैलजा आचार्यहरुको योगदान उल्लेखनीय र अतुलनीय छ, उहाँहरुको योगदानबाट प्राप्त अधिकारलाई अब सफल रुपमा कार्यान्वयन गर्नुपर्छ ।’
यद्धपी उनले अझैपनि महिलाहरुलाई हेर्ने सोचमा फरक रहेको सुनाईन् । उनले थपिन्,‘अवसरको खोजी पनि अर्को चूनौति छ, श्रम अनुसारको ज्याला हुनुपर्छ भनेर आजभन्दा १०८ वर्ष सुरु भएको हो, तर म भन्छु महिलाहरुसहितको सामूहिक प्रयासमा अब हामी सबै बढ्नुपर्छ ।’
त्यस्तै उनले स्थानीय, प्रदेश सभा र संघीय सभामा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएसँगै संख्यात्मकबाट अब गुणात्मक रुपमा अघि बढ्नुपर्ने बताईन् । उनले भनिन्,‘अधिकार प्राप्ति भएसँगै अब कार्यान्वयमा जानुपर्छ, हामी महिलाहरुको पनि अब नयाँ भूमिका हुनुपर्छ ।’
पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गर्नुपर्ने पनि उनको भनाई थियो । उनले शहरमाजस्तो अधिकार गाउँमा नपुगेसम्म अधिकारको खास मुल्य नहुने जिकिर गरिन् ।
भुषालले थपिन्,‘नेपाली सोसाईटीको केमेष्ट्री मिलाउनुपर्छ, समाज महिलामैत्री बन्नुपर्छ ।’ उनले नेपाली कांग्रेस तुलनात्मक रुपमा अरु पार्टीभन्दा उदार रहेको सुनाईन् । ‘अब महिलाहरु पनि निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ, महिलाहरु चुनाव जितेर आउन सक्षम हुनुहुन्छ, हिजो शैलेजाजी जलश्रोत मन्त्री बन्दा धेरै राम्रो काम गर्नुभयो, हामी महिला पनि सक्षम छौं नि ।’ उनले थपिन् ।
महिलाहरु सांसद, सभामुख, उपप्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रपति बनिसकेकोले मुलुकका कार्यकारी पद प्रधानमन्त्री पनि बन्न सक्ने क्षमता महिलाहरुमा भएको उनको तर्क थियो । उनले भने,‘महिलाहरु प्रधानमन्त्री हुन नसक्ने कुनै कारण छैन ।’
विकास, सुशासन र भ्रष्टाचार अन्त्यको लागि पनि महिलाहरु मुल प्रवाहमा आउनु जरुरी रहेको भुषालको तर्क थियो । यद्धपी उनले नेपालका राजनीतिक दलहरुभित्र संगठनमा पुरुषहरु बढि हाबी भएको गुनासो पोखिन् । उनले मुलुकले छिट्टै महिला प्रधानमन्त्री पाउने जिकिर गरिन् । 
नेकपा माओवादी केन्द्रकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य सत्या पहाडीले नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको योगदान उच्च रहेकोले आगामी दिनमा पनि मुलुकको राजनीति सामूहिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिइन् । 
पहाडीले आधा आकाश ढाकेका महिलाहरुको संसार अध्याँरो हुन नहुने धारणा राखिन् । उनले भने,‘नेपालका ठूला ठूला परिवर्तनमा महिलाहरुको योगदान अतुलनीय छ, आगामी दिनमा पनि महिलाहरुलाई नीति तथा निर्माण गर्ने ठाउँमा पुर्याउनुपर्छ ।’ संविधानतः नेपालले अर्को युगमा फड्को हानेको उल्लेख गर्दै उनले महिलाहरुले अब अधिकार प्राप्तिसँग आफ्नो कर्तव्यमा पनि ध्यान दिनुपर्ने बताईन् । 
उनले शहरमा हुने ८ मार्च र गाउँमा हुने ८ मार्चमा आकाश–पतालको फरक रहेको सुनाईन् । संविधानले नै महिलासम्बन्धी धेरै अधिकारहरु सुनिश्चितता गरेकोले अब त्यसलाई कार्यान्वयनमा जानुपर्ने बेला आएको उनको भनाई थियो । 
पहाडीले महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने बताउँदै हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिइन् ।
नेकपा एमालेकी नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले अहिलेपनि ६० देखि ६५ प्रतिशत महिलाहरु कृषिमा आफ्नो जीवन निर्वाह गरिरहेको अवस्था सुनाईन् । यद्धपी उनले दक्षिण एशियाली राष्ट्रहरुको तुलनामा नेपालका महिलाहरुको अवस्था राम्रो भएको दाबी गरिन् । 
उनले आधारभुत रुपमा पनि नेपाली महिलाहरु राजनीतिक आन्दोलन र समतामुलक र न्यायमूलक समाज निर्माणको लागि लागेकोले यो संभव भएको सुनाईन् । उनले भनिन्,‘हामी महिलाहरुमा चेतना धेरै छ, हामीसँग काम गर्नसक्ने क्षमता छ, महिलाहरु प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’
आफूहरु निर्णायक अवस्थामा नभएकोले अहिले मुलुकको कार्यकारी पदमा पुग्न नसकेपनि मुलुकको पछिल्लो राजनीतिक अवस्थाले महिला पनि प्रधानमन्त्री चाँडै बन्न सक्ने उनको तर्क थियो । उनले भनिन्,‘चमत्कारी रुपमा महिला प्रधानमन्त्री बन्नुहुन्छ, तपाईहरु हेर्दै जानुहोला ।’
पूर्व सांसद एवम् शिक्षाविद् गीता राणाले राजनीतिमा आवद्ध महिला नेतृहरुले राजनीतिक अधिकारको लागि काम गर्नुपर्ने र अन्य क्षेत्रमा आवद्ध महिलाहरुले महिलाहरुकै शिक्षाको लागि काम गर्नुपर्ने धारणा राखिन् । 
उनले भनिन्,‘प्रजातन्त्र आउनुपुर्व महिलाहरुलाई पनि काम गर्न दिएकै थियो, सबै काम गर्न छुट थियो, बरु राजनीतिक दल खोल्न छुट दिएन्, पछि प्रजातन्त्र आएपछि दल दर्ताको छुट भयो, यो सँगै महिलाहरुको भोटिङ राईट्सको कुरा आयो, अब हामीले अधिकारसँगै आफ्नो कर्तव्यपनि निर्वाह गर्नुपर्छ, महिलाहरुलाई सिप, क्षमता अभिवृद्धि र अभिमुखीकरणमा सवल र सक्षम बनाउनुपर्छ ।’
त्यस्तै कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले महिलाहरुले अब नीति निर्माण र मुलुकको नेतृत्व लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले न्यायमूलक समाज र समतामूलक समाज निर्माणको लागि पनि महिलाहरु नेतृत्वमा पुग्न जरुरी रहेको बताए । 
धमलाले महिलाहरुले अधिकार प्राप्त गरेसँगै अब आफ्नो दायित्व पनि जिम्मेवार ढंगले निभाउनतिर आफूलाई केन्द्रित गर्नुपर्ने सुझाव दिए । उनले भने,‘नारीको सम्मान गर्नुपर्छ, म त यो देशमा महिला प्रधानमन्त्री बन्नुपर्छ भनेर बहस र अन्तरक्रिया गर्ने व्यक्ति हुँ ।’

Related News