नेशनल मेडिकल कलेजलाई दिईएको सम्बन्धन तत्काललाई स्थगित


काठमाडौं १८ भदौ । विवाद बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले तत्कालकोलागि काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगित गरेको छ । डा.गोविन्द केसीले फेरि अनसन बस्ने धम्की दिईरहेकै बेला त्रिविले यस्तो निर्णय गरेको हो । करिब दुई साताअघि नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको थियो । 

काठमाडौं उपत्यकाभित्र आगामी १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्थासहितको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन रहेकै बेला उक्त निर्णयको विरोध र सरकारबाट समेत फिर्ता लिनुपर्ने कुरा उठेपछि शनिबार बसेको त्रिवि कार्यकारी परिषद बैठकले तत्काललाई सम्बन्धन स्थगित गर्ने निर्णय गरेको हो । 

डा. गोविन्द केसीको ११ औं अनसनबीच सरकारसँग वार्ता हुँदाहुँदै त्रिविले उक्त सम्बन्धन दिएको थियो । भूकम्पअघि अपार्टमेन्टको लागि निर्माण गरिएको भवनमै नेशनल मेडिकल कलेजले अस्पताल सञ्चालन गर्दै आएको थियो । अस्पताल तथा प्राज्ञिक पूर्वाधार पूरा नगरेको काठमाडौं नेसनललाई सम्बन्धन दिइएकोमा विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बोलाएर सोधपुछ समेत गरेका थिए ।

Related News