​नेश्नल प्याब्सनको २० औँ वार्षिकोत्सव भव्यता साथ मनाइयो

नेश्नल प्याब्सनले शैक्षिक क्षेत्रको उल्लेख्य विकास गरेको छ : राणा

काठमाडौं, २७ पुस । नेश्नल प्याब्सनकी संस्थापक एवम् पूर्व सांसद गीता क्षेत्री राणाले नीजी शैक्षिक क्षेत्रसँग जोडिएका कानुनी जटिलतालाई सरल बनाउन सरकारसँग माग गरेकी छिन् । प्याब्सनको २० वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन । 
उनले भनिन्, ‘नीजि क्षेत्रमा रहेर नेश्नल प्याब्सनले शैक्षिक क्षेत्रको उल्लेख्य विकास गरेको छ, सामुदायिक विद्यालयमा कक्षा १ देखी मात्रै बालबालिकाले पढ्न पाउने व्यवस्था छ, तर नीजि क्षेत्रले त्यो भन्दा पहिले नै बालबालिकाहरुलाई शिक्षा दिने काम गर्न सकेको छ ।’ 
राणाले विगत २० वर्षदेखि शैक्षिक क्षेत्रको विकासको लागि अतुलनीय साथ दिँदै आएको जिकिर गरिन् । उनले भनिन्,‘सरकारले १ देखि कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा घोषणा गरेको छ, कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई बैशाखदेखि चैत्रसम्म पढाउनुपर्छ, ११ र १२ कक्षाका विद्यार्थीहरुलाई भदौसम्म पढाउनुपर्नेहुन्छ, यस्तो दुई खाले व्यवस्थापन कसरी गर्ने ? यसका बारेमा सरकारले सोच्नुपर्छ ।’
त्यस्तै कार्यक्रममा संस्थाका निवर्तमान् वरिष्ठ उपाध्यक्ष सुर्यबहादुर अधिकारीले २०२८ सालपछि निजी क्षेत्रले पाएको जिम्मेवारीलाई पुरा गर्नेमा कुनै कसर बाँकी नराखेको जिकिर गरेका छन् । उनले भने, ‘हामी शैक्षिक क्षेत्रको विकासको लागि जुटेको आज २० र्औँ वर्ष पूरा भएको छ, आजका दिनसम्म आउँदा हामीले धेरै दुःख पाएका छाँै, नीजि क्षेत्रले लगानी गर्न पाउँछ भनेर कानूनमा भनेको छ तर ऐनले धेरै बाधा सिर्जना गरेको छ, यस्तो स्थितिमा हामीले कसरी काम गर्ने? हिजोका दिनदेखि आजको दिनसम्म यस्ता अप्ठ्याराहरुसँग लड्दै शैक्षिक र सामाजिक भलाईको लागि भिड्दै आएका छौँ, अझै पनि लागिरहने छँौ ।’
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष डा. कुश्मिला आचार्य, जिल्ला कमिटी सदस्य गीता खड्का र मनोज घिमिरे लगायतले नेश्नल प्याब्सनले अहिलेसम्म खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए । 

Related News