​पत्नी वियोगमा परेपछि नवाज शरिफ केही दिनलाई जेलमुक्त

दृष्टि न्यूज

इस्लामावाद, (एजेन्सी) । भ्रष्टाचारको आरोपमा जेल जीवन बिताइरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ केही दिनका लागि जेलमुक्त भएका छन् । उनलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मंगलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो । 
कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्किएका थिए । 
शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पु¥याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ । उनीहरु दुवैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए । स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् । 

Related News