​नयाँ जनप्रतिनिधिप्रति अपेक्षा

दृष्टि न्यूज

निर्वाचन भएको तीन महिनापछि आइतबार संघीय संसदका दुवै सदनका सदस्यहरुले शपथ लिएसँगै जनप्रतिनिधिहरुले औपचारिक रुपमा काम थालेका छन् । संसदका दुवै सदनले आआफ्नो प्रारम्भिक कार्यसूची तय गरी काम अघि बढाएका छन् । संविधान जारी हुँदा असन्तुष्टि प्रकट गरेका समूहहरु समेत अन्ततः यही संविधानको ढाँचाभित्र आफूलाई समाहित गरी संविधानप्रति सम्मान प्रकट गरेका छन् । संविधानसभाबाट जारी संविधानको स्वीकार्यता र कार्यान्वयनका दृष्टिले यो एउटा महत्वपूर्ण उपलब्धि हो । साथै, नयाँ संविधानले परिकल्पना गरेको शासकीय संरचना, पद्धति र जनभावनाअनुकूलको मार्गचित्रमा मुलुकलाई डो¥याउने अवसरसमेत हाम्रा सामु आएको छ । यो कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिहरुले शपथलाई मनन गर्नु आवश्यक छ ।
संघीय संसदका प्रमुख तीन अभिभारामध्ये एउटा सरकार निर्माणको काम सम्पन्न भइसकेको छ । अब यो सरकारका गतिविधिको रखबारी गर्नु, जनचासोका विषयलाई संसदमा उठाउनु, जनभावना र बृहत्तर हितका विषयलाई केन्द्रमा राखी विधायिकी प्रक्रिया अघि बढाउनु जनप्रतिनिधिहरुको मुख्य दायित्व हो । नयाँ संविधानअन्तर्गत गठित पहिलो विधायिका भएकाले पनि यी सदस्यका व्यवहार र प्रस्तुति आगामी दिनका निम्ति नजिर बन्नेछन् । विगतका कुनै पनि विधायिकाले आदर्शस्तरमा भूमिका निभाउन सकेनन् । ०४८ देखिका हरेक विधायिका र तिनका सदस्यहरुले केवल सत्तालाई प्राथमिकता दिए । सत्तामा पुग्न र टिक्न जस्तासुकै असंसदीय विकृतिको अंग र कर्ता बन्न तयार भए । आफ्ना मतदाता, बृहत्तर समाज र राष्ट्रको भलो चिताई काम गर्नेभन्दा पनि आफ्नै पद, शक्ति, सेवा र सुविधामा लीन भए । सांसदहरुले राज्यस्रोतको दोहन गर्ने नाममा पजेरो काण्डदेखि पुरुष सांसदले महिला जनेन्द्रीयमा प्रयोग गर्ने औषधीको समेत शोधभर्ना लिएका प्रकरण बाहिर आए । सुरासन्दरीमा बिक्ने, संसदीय समितिका बैठक नै एनजीओको प्रायोजनमा रिसोर्टमा गएर बस्ने, एनजीओकै एजेन्डामा काम गर्ने, संसदीय समितिको समानान्तर सांसदहरु नै मिलेर एनजीओ गठन गरी सहायताका निम्ति विदेशीका सामु हात फैलाउनेजस्ता काम भए ।
जनप्रतिनिधि जनताको सार्वभौम अधिकार प्रयोग गर्ने अख्तियारप्राप्त व्यक्ति हो । उसले जनताको सार्वभौम शक्तिको प्रयोग गर्दा सीमित व्यक्ति वा समूहको मात्र हित हेर्न थालेमा त्यो वास्तवमा सार्वभौमसत्ताकै दुरुपयोग हुन्छ । तसर्थ, यो गहन उत्तरदायित्वप्रति हर क्षण जिम्मेवार र संवेदनशील भई प्रस्तुत हुनुपर्छ । यतिखेर मुलुक नयाँ राजनीतिक संरचना र परिवेशमा छ । आमनागरिकमा अपेक्षाको मात्रा व्यापक उर्लेर आएको छ । ०४६ सालमा आम तहमा यो स्तरको अपेक्षा नहुन पनि सक्थ्यो । अहिले आएर सूचना प्रविधिको व्यापक विकास, समाजका किनारीकृत समुदाय एवं वर्गमा समेत धेरथोर शिक्षा र चेतनाको विस्तार अनि समावेशी अवधारणाको प्रयोगले पिँधको नागरिकले पनि सतहका कुरा बुझ्ने अवस्था बनेको छ । तिनको मनोभावना र ऊर्जालाई समेत राष्ट्र निर्माणको बृहत्तर सोचमा परिचालन गर्न सकिएमा नयाँ समृद्ध नेपालको मार्गचित्रले मूर्त रुप पाउने विश्वास गर्न सकिन्छ । यसमा नवनिर्वाचित जनप्रतिनिधिको भूमिका निर्णायक हुन्छ ।
यतिखेर मुलुक आर्थिक रुपमा संकटापन्न छ । त्यसमाथि भ्रष्टाचारी, घूसखोरी, विचौलियागिरी खुला रुपमा हुन थालेको छ । घूसको भागबन्डा नमिल्दा मालपोत र नापी कार्यालयका कर्मचारी दिउँसै कार्यालयमा रक्सी खाएर कुटाकुट गर्छन् । अदालतका आदेश र फैसलाहरुले भ्रष्टाचारी, राजस्वमारा, जग्गा दलाल मालामाल भइरहेका छन् । संसदले पारित गर्ने कानुनले समेत त्यस्तै तत्वको पक्षपोषण हुने हो भने हामी फेरि पनि घुमीफिरी पुरानै अव्यवस्थामा आइपुग्नेछौँ । तसर्थ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनप्रतिनिधि कमसेकम ०४८ पछिका जस्ता भोगी, विलासी, स्वार्थ समूहका हतियार नहोऊन् । यतिखेर हामीलाई राज्यलाई भार पार्ने, राज्यको दोहन गर्ने प्रतिनिधि होइन, राज्यलाई योगदान गर्ने प्रतिनिधि आवश्यक छ । सोझो भाषामा भन्दा हसुर्ने होइन, त्याग गर्नेहरुको खाँचो छ ।
नयाँ संविधानको कार्यान्वयनमा कर्मचारीतन्त्रले देखाएको असहयोगी र गैरजिम्मेवार व्यवहार सबैका सामु छर्लंग छ । मुलुक नयाँ संरचनामा जाँदा आआफ्नो क्षेत्रबाट सहयोग र त्याग गर्नुपर्नेमा उल्टै १५ अर्ब रुपियाँको उपदान लिएर विदा हुन÷गराउन खोज्नु गैरजिम्मेवारीको हद हो । आज नेपाली जनता सकारात्मकता, रचनात्मकता खोजिरहेको छ । नयाँ पुस्ताले नयाँनयाँ रचनात्मक अभियान थालेका छन् । स्वदेशमै केही गर्न सम्भव छ, स्वदेशमै केही राम्रो काम हुँदै छ, अवसरको सिर्जना भइरहेको छ भन्ने सन्देशमूलक अभियानको पक्षमा नयाँ पुस्ता छ । यो सन्देश विश्वव्यापी बनाई सकारात्मक योगदानका आधारमा मुलुकको छविछायाँ उँचो पार्न खोजिरहेको छ । यो भावना नयाँ जनप्रतिनिधिहरुले बुझ्न सक्नुपर्छ । विरोध र असहयोगको राजनीतिलाई तामेलीमा राखी कम्तीमा यो समय योगदानको हो, सहयोगको हो भन्ने कुरालाई मनन गरियोस् ।

Related News