​नयाँ मोडमा नेपाल–भारत सम्बन्ध

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीको  भारत भ्रमणको क्रममा भएका सम्वाद र सहमतिहरु तथा वहसहरुले नेपाल र भारत विचको सम्वन्ध नयाँ मोडमा पुगेको संकेत गरेको छ । अब यस नयाँ सम्वन्धको परिक्षण शुरु भएको छ । 
यसपटकको भ्रमणमा नेपालको संविधानका वारेमा कुरा नउठ्नुले भारत नयाँ ढंगले सम्वन्ध विकास गर्न चाहेको संकेत गर्दछ । परराष्ट्र नीतिमा सधैं एउटै विषय मात्र अगाडि रहने हुँदैन, कहिले कुनै विषय त कहिले कुनै विषय अगाडि पछाडि भैरहने गर्दछ । अहिले नेपालको आन्तरिक मामिलाको विषय नउठनुलाई ठूलै विजयको रुपमा लिनु वा केही पनि होइन भन्नु दुबै गलत हो । भविश्यमा परिस्थिति फेरिएपछि अन्य विषयहरु वा पुराना विषयहरुले स्थान पाउन सक्दछ । भारतीय प्रधानमन्त्री मोदीले ‘थानीय निकाय, प्रान्त र संघीय संसद्को चुनाव सफलतापूर्वक सम्पन्न हुनु नेपाल सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो’ भनेर चुनावको प्रशंसा गर्नुलाई सकारात्मक रुपमा हेरिनु पर्छ । 
‘जनकेन्द्रित दृष्टिकोण, विकासका साझा लक्ष र दुवै देशका जनताको सुख, शान्ति एवं अपेक्षालाई साथमा लिएर अघि बढ्नु हामी दुवैको हितमा छ’ भन्ने मोदीको भनाइले नयाँ सम्वन्धको आधार स्पष्ट पारेको छ । सगरमाथालाई सागर संग जोड्ने मोदीको शब्दले नयाँ सम्वन्धको विश्वासलाई उठाउन खोजिएको देखिन्छ । ‘हामी दुवै अरुण— ३, पञ्चेश्वर, सप्तकोशी र सुनकोशीजस्ता परियोजनाको गति बढाउनेबारेमा सहमत भएका छौं, हामी दुवै देश आफ्नो खुला सीमा दुरुपयोग रोक्ने र साझा सुरक्षा हितलाई अघि बढाउनेबारेमा सहमत भएका छौं,’ भन्ने मोदीको भनाईले पनि नयाँ सम्वन्धका आधारशिलाहरुका बारेमा केही महत्वपूर्ण संकेतहरु गरेको देखिन्छ । 
प्रधानमन्त्री ओलीले व्यक्त गर्नु भएका ‘नेपाल अब सामाजिक–आर्थिक विकासको यात्रामा अग्रसर छ, एक्काइसौं शताब्दीको यथार्थअनुरूप सम्बन्ध सुधारी त्यसलाई नयाँ उचाइमा लैजाने बाटो पहिल्याउन र साधन खोज्ने उद्देश्यका साथ म यसपटक भारत आएको छु ।’
हामी हाम्रा दुई छिमेकीसँग विश्वासमा आधारित बलियो सम्बन्ध स्थापित गर्न चाहन्छौं, हामी सम्बन्धको नमुना सिर्जना गर्न चाहन्छौं, जसले हामी मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि हाम्रा उपलब्धिमा उत्तिकै गौरवान्वित महसुस गराओस्, सदाका लागि अपेक्षा रहने खालको सम्बन्ध होस् हाम्रो’ भन्ने भनाइहरुले यस भ्रमणको नेपाल सरकारको दृष्टिकोण स्पष्ट गर्दछ । 
साथै ‘मैले प्रधानमन्त्री मोदीजीसँग नेपालको डरलाग्दो व्यापार घाटा तथा नेपालको निर्यात बढाउन तय गर्नुपर्ने मापदण्डबारे जोड दिएँ, भारतीय प्रधानमन्त्रीसँग नेपालले खासगरी प्रचुर जलशक्तिजस्ता अप्रयुक्त स्रोतसाधनको प्रयोग महत्वपूर्ण रहेको र त्यसका लागि भारतको सार्वजनिक र निजी क्षेत्रबाट थप लगानी चाहेको मैले बताए, जारी पञ्चेश्वर, अरुण तेस्रो र उपल्लो कर्णालीबारेको हाम्रा प्रारम्भिक अनुभूतिले अपेक्षित प्रेरणा प्रवाह गर्नेछन् र भविष्यमा यस्तैखाले अन्य परियोजनाका लागि त्यो सकारात्मक आधारशिला बन्नेछन् भन्नेबारे हामी दुवैले जोड दियौं’ भन्ने प्रधानमन्त्री ओलीको भनाईले नयाँ सम्वन्धका आधार वारे थप प्रष्ट पार्दछ । 
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भनेझैं ‘समग्रमा यो भ्रमण नयाँ सम्झौताहरु गर्ने भन्दा पनि मित्रतालाई नयाँ परिस्थिति अनुसार नवीकरण गर्नका लागि भएको थियो, त्यसमा अत्यन्त सफल भएको छ ।’ उहाँले यस नयाँ सम्वन्धका विशेषताहरु वारे केही थप व्याख्या गर्दै भनेका छन्– ‘नेपाल र भारत दुबैतिर बोल्ड र भिजनरी लिडरसीप भएको अवस्था छ, त्यसैले हामीले हाम्रा छलफलका विषय फेरेकै हो, आन्तरिक राजनीति आ–आफ्नो घरको विषय हो, त्यो कुरा दुई पक्षीय छलफलका विषय हुन सक्दैन र हुन हुँदैन भन्नेमा हाम्रो प्रष्ट दुष्टिकोण रहृयो । बलियो र अडान भएको नेतृत्वले अडान लिँदा त्यो स्थापित हुने रहेछ भन्ने पुष्टि पनि भयो । अब हाम्रो छलफल र सहकार्य भनेको आर्थिक एजेण्डामा हुनुपर्छ भन्नेमा दुवै नेता सहमत हुनुभयो । हामी यिनै विषयमा केन्द्रित भयौं । यो भ्रमणको मुख्य उपलब्धि नै यही हो कि, अब सम्बन्धको आयाम फेरिएको छ । हामी नयाँ युग र नयाँ चरणमा प्रवेश गरेका छौं, अब लिने र दिने सम्बन्ध होइन, सहकार्य गर्दै अघि बढ्ने चरणमा छौं । यसपटक सबै विषयमा खुलेर कुरा भएको छ । हामीले नेपालको स्वार्थमा कुरा राखेका छौं । प्रधानमन्त्री तहमा विश्वासको वातावरण बनेको छ । अब नयाँ ढंगले अघि बढ्ने कुरा प्रधानमन्त्रीले नै भन्नुभएको छ– दुई देशबीचको मित्रतालाई बलियो बनाउने उद्देश्य हो, प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ, कुनै प्रोजेक्ट र सम्झौता भन्दा ठूलो हाम्रो मित्रता हो, मित्रता बलियो भयो र विश्वासको आधार बन्यो भने सहयोग आफैं बढ्छ ।’



यसपटकको भ्रमणमा रक्सौलदेखि काठमाण्डौं जोड्ने रेल तथा जल यातायातको माध्यमवाट हिन्दमहासागरसम्म पुग्ने जलमार्गको सम्भाव्यता अध्ययनको सहमति हुनु महत्वपूर्ण पक्ष हो । चिनियाँ रेल सञ्जाल काठमाडौं पोखरा लुम्वीनी आउने सहमति केही समय अगाडि भएपछि  भारतसँग अहिले यो सम्झौता हुनुको धेरै कुटनैतिक अर्थ रहन्छ । जे भएपनि यदि भारत र चीनसँग रेल यातायातले काठमाण्डौं जोडिने काम सम्पन्न भएमा नेपालले यसबाट फाइदा लिन सक्ने सम्भावना बढ्ने छ । तर कति फाइदा लिन नेपालले सक्दछ भन्ने कुरा नेपालले आफ्नो कति तयारी सामान भारत र चीनको दुई अरब भन्दा बढी जनसंख्या भएको विशाल बजारमा निर्यात गर्न सक्दछ भन्ने तथ्यमा आधारित हुनेछ र कति पर्यटक नेपाल ल्याउन सक्दछ भन्ने कुरामा भर पर्दछ । यदि नेपालले औद्योगिक क्रान्ति र समग्र आर्थिक क्रान्ति गर्न सकेन भने ती भारत र चिनियाँ रेल संजालले नेपाललाई आफ्नो बजार वनाउने प्रतिस्पर्धा मात्र गर्नेछ र चिनियाँ रेलमार्ग तथा भारतीय रेलमार्ग र जलमार्गवाट सामान आयात मात्रै गर्ने र देश डुब्ने खतरा हुनेछ । 
भारतले विगतको नाकावन्दीमा गरेको गल्ति सच्याउन अझै मेहनत गर्न पर्ने देखिन्छ । भारतीय प्रधानमन्त्री मोदीले नाकावन्दी अगाडि नेपाल भ्रमण गर्नु हुँदा जसरी नेपाली जनताको मन जित्न सफल हुनु भएको थियो, गलत राजनैतिक सल्लाहकारहरुको सल्लाह मानेर उहाँले गर्नु भएको नाकावन्दीले त्यो विश्वास गुमाउन पुग्नु भयो । अब फेरि त्यही विश्वास जित्नका लागि विगतमा भए गरेका सहमतिहरु मात्रै सक्रियता साथ अगाडि वढाउन सके पनि नेपाली जनताले त्यो नाकावन्दीको घाउ विर्सन थाल्ने हुन्छ । त्यसैगरि भारतीय पक्षका गम्भीर सुरक्षा चासोहरु र अन्य पक्षहरु कसरी सन्तुलित ढंगले नेपाल सरकारले वढाउनेछ भन्ने कुरामा पनि नेपाल भारत विच अधि वढ्न लागेको नयाँ सम्वन्धको भविश्य निर्भर रहनेछ । 
यो पटकको भ्रमणले बनाउन लागेको नयाँ सम्बन्धको मार्गचित्रलाई दिगो बनाउन यस्ता उच्चस्तरीय राजनैतिक भेटघाटहरु अझ गहन हुनुपर्दछ । साथै अन्य परम्परागत माध्यमहरु पनि अझ सुढृद र सक्रिय हुनु पर्दछ । भारतमा अर्को वर्ष लोकसभाको चुनाव हुँदैछ । अझसम्म मोदी नै अर्को पटकको लागि पनि प्रधानमन्त्री बन्ने गरी चुनाव परिणाम आउन सक्ने आंकलन भइरहेको विश्लेषण भइरहेको छ । यदि मोदी नै अर्को पटक पनि भारतीय प्रधानमन्त्री निर्वाचित भए भने नेपाल भारत सम्बन्ध थप नयाँ आयामसहित अर्को नयाँ मोडमा प्रवेश गर्ने हुन सक्दछ । विश्व परिवेशमा नयाँ नयाँ परिघटनाहरु देखा पर्दैछन् । अमेरिका तथा चीनका बीच भइरहेको व्यापार युद्ध, भूमण्डलीकरणको वकालत गर्र्दै आएको अमेरिकाले संरक्षणवादी नीतिको वकालत र प्रयोग गर्न थाल्नु, चीन र भारतको आर्थिक विकास नयाँ चरणमा प्रवेश गर्नु, विभिन्न देशहरुमा सीमित युद्धहरु चलिरहनु आदि जस्ता परिघटनाहरुले नेपाल भारत सम्बन्धमा नयाँ विषयहरुले प्रवेश पाउन सक्नेछन् । 

Related News