​कांग्रेसले नेपालीको जीवनस्तर उठाउने कुरोे सोच्नु व्यर्थ हो

दृष्टि न्यूज

निरोज पौडेल । मुलुक निर्वाचनमय छ । दुई चरणमा हुने संघीय संसद् र प्रदेशसभाको निर्वाचनमध्ये पहिलो चरणको निर्वाचन सम्पन्न भई मतपेटिका संकलनको कार्यसमेत अन्तिम चरणमा पुगेको छ । नेपालको संविधान २०७२ को कार्यान्वयनको प्रमुख कडीको रूपमा हेरिएको यो निर्वाचन फरक दृष्टिकोणबाट महत्वपूर्ण छ । लामो समयदेखिको राजनीतिक अस्थिरता, राजनीतिको अपराधीकरण, विकासप्रतिको लामो अनादर, जनताको धैर्यको कठिन परीक्षाको रुपमा आएको यो निर्वाचनको आफ्नै महत्व छ । 
लामो समयको बेथिति, राजनीतिक कुसंस्कार, अविकास, राजनीतिक नेतृत्वको अदूरदर्शिताले गर्दा जनतामा चरम निराशा उत्पन्न भएको समयमा हुन लागेको यो निर्वाचन के नेपाली जनताको नयाँ उत्साहको कारण बन्न सक्ला ? २०४७ सालको जनआन्दोलनपछि नेपाली समाजको चेतनाको स्तरले अजंगको फड्को मारेको छ । यो अजंगको पाइला रातारात मारिएको होइन, हजारौं नेपाली युवायुवतीको सहादत अनि सपनाहरुको चिता सजिएपश्चात् नेपाली समाजको चेतनाको स्तरमा बढोत्तरी भएको हो ।
नेपाली जनता अनेक पटक ठगिएका छन् । ठग्ने पात्र अनेक छन् तर घाटामा जहिले पनि जनता अनि देश मात्र । ठग्नेहरु अनेक रुप लिएर हिजोदेखि आज अनि भोलिसम्म पनि ठग्ने योजना बनाइरहेका छन् । जनतालाई यो षड्यन्त्र चिर्न त्यति सहज र सुविधाजनक छैन ।
भन्छन्, एक युगमा एकपटक एक दिन आउँछ, जसले अन्धकार हटाउँछ, उज्यालो ल्याउँछ, अशिक्षा हटाउँछ, चेतनाको दियो बाल्छ, मानिसलाई पाषाण युगबाट विकासको नयाँ संसारमा प्रवेश गराउँछ, मानिसभित्र रहेको दासताको जञ्जिरले बाँधिएको मनुवालाई स्वतन्त्र गराउँछ र प्रजाबाट नागरिकमा रुपान्तरित गर्छ । जीवनलाई पाशविक जीवनचर्याहरु जन्म, मृत्यु, सुत्ने, उठ्ने, खाने, शौच, यौन, भोक, तिर्खा, तातो अनि चिसोको शारीरिक क्रियाकलापहरुको चक्रव्यूहबाट निकालेर मानसिक विकासको दिशातर्फ अगाडि बढाउँछ । सूर्यलाई छुने अनि चन्द्रमामा पाइला टेक्ने अनि अन्तरिक्षमा विचरण गर्ने अभिलाषा जगाउँछ, मानिसलाई ईश्वरको अद्भ्ूत र विलक्षण सन्तानको रुपमा परिवर्तित गराउँछ ।
त्यो युगमा एक पटक आउने त्यो एक दिन जहिले पनि नेपालीको लागि आए आए जस्तो हुने, हरेक नेपालीको मुहारमा क्षणिक मुस्कुराहट ल्याउने अनि फेरि विलाएर जाने क्रमको अन्त कहिले हुने ? त्यो क्रमभंगताको प्रतीक्षामा छन् नेपाली जनता अनि यिनका भूगोलहरु । जबजब नेपाली जनता यो लुकामारीको खेलबाट मुक्त हुने युगान्तकारी निर्णय गर्ने अवस्थामा पुग्छन्, त्यतिबेला नेपालीहरु गलत नारा र गलत सोचका कारण विचलित हुन्छन् अनि पुनः पुरानै दुश्चक्रको नियमित आकस्मिकतातिर फर्कन्छन् । अनि बाध्य हुन्छन् उही पुरानो जीवनशैली पछ्याउन, जहाँ भोक, रोग, अशिक्षा, अभाव, पीडा, शोषण, सामाजिक असमानता, अन्याय, अत्याचार र मत्स्यन्यायले जरो गाडेर बसेको छ ।
नेपालीलाई अंग्रेजको दास नभएकोमा गौरव छ । गर्व गर्छन् नेपालीहरु हिजो इष्ट इण्डिया कम्पनीसँग पुर्खाहरु नझुकेकोमा । तर, अंग्रेजसँगको लडाइँपछि जुन लामो अदृश्य दासताको जकडाइमा परेका छन्, त्यसको हेक्का समेत छैन आजका नेपालीलाई । खुलेआम अन्तर्राष्ट्रिय कानुनविपरीत नेपाललाई नाकाबन्दी लगाइन्छ, हाम्रा बालबालिका स्कुल जानबाट वञ्चित हुन्छन, हाम्रा सडक सुनसान बन्छन्, हाम्रा सवारीसाधन कालोबजारीको इन्धनबाट चल्छन्, हाम्रा उद्योगधन्दा नाकाबन्दीको आडमा ठप्प पारिन्छन्, हाम्रा घरका चुला निभ्ने अवस्थामा पुग्छन्, हाम्रा अस्पतालमा अक्सिजन नभएर अकालमा धेरै नेपालीले मृत्युवरण गर्छन् अनि नेपाली जनताको त्यो दुःखद घडीमा यो देशमा सबैभन्दा लामो शासन गरेको राजनीतिक दल त्यो घडीलाई नाकाबन्दी भनेर उच्चारण गर्न समेत सक्दैन । 
बरु त्यो अमानवीय नाकाबन्दीको सामना गरिरहेको राष्ट्रवादी सरकारलाई कसरी विस्थापित गर्ने भनेर लैनचौर दरबारमा गोप्य बैठक गरेर षड्यन्त्र बुन्छ । राष्ट्रियताको समेत जगेर्ना गर्न नसक्ने दल नेपाली कांग्रेसलाई हामीले लामो समय आफ्नो भाग्य विधाता बनायौं । नाकाबन्दीले हामीलाई आफ्नो वर्तमान औकात देखाएको छ जुन औकात भएको स्थानमा नेपाली कांग्रेसले ल्याएको छ हामीलाई । हाम्रा उद्योगधन्दाहरु कहाँ पुगे कसैले जवाफ दिन सक्छ ?
समान अवसर, कानुनी राज्य, न्यायिक सर्वोच्चता भनेर नेपाली कांग्रेसले जुन वितण्डा विगतमा मच्चायो, जुन आग्रह र पूर्वाग्रह कांग्रेसले देखायो, त्यसले के मात्र बुझ्न सकिन्छ भने कांग्रेसले नेपालीको जीवनस्तर उठाउने कुरो अहिलेको पुस्ताले सोच्नु व्यर्थ हो ।
नेपालमा अहिले निर्वाचनको समयमा एउटा भ्रमको खेती भइरहेको छ, त्यो हो नेपालमा कसरी पुरानो राज्य सत्तालाई निरन्तरता दिने भन्ने डिजाइनमा नेपालमा कथित अधिनायकवाद, साम्यवाद आउने अनि नेपालीले रुन पनि नपाउने कुरा गरेर नेपालमा भोट मागिँदै छ । नेपालमा हुने चुनावमा भारतीय राजदूतले भोट माग्दैछन्, अमुक अमुक उमेदवारहरुलाई जिताउने भनेर योजना बनाउँछन् । नेपाल जबसम्म भारतीय माखे साङ्लोबाट मुक्त हुँदैन तबसम्म नेपालीले अघोषित दासताबाट मुक्ति पाउँदैनन् । 
त्यसको लागि पनि नाकाबन्दीको डटेर सामना गरेका शक्तिलाई नेपालीले एकपटक साथ दिनुपर्ने देख्छु म । कांग्रेस आज वामगठबन्धनसँग डराएर अनेक अलोकतान्त्रिक विधि अपनाएर निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्दै छ, ऊसँग कुनै राजनीतिक एजेण्डा, विकासका एजेन्डा, सामाजिक रुपान्तरणका एजेण्डा, बेरोजगारी समस्या समाधानका एजेण्डा, विदेशिएका युवाहरुलाई कसरी स्वदेश फिर्ता गराउने भन्ने एजेण्डा छैनन् । 
नयाँ उद्योग स्थापनाको के कुरा गरौं स्थापित उद्योगहरुलाई घाँटी निमोठेर आर्यघाट पु¥याउने नै कांग्रेस हो, त्यसैले नेपाली कांग्रेसका सभापति अधिनायकवादको, साम्यवादको त्रास देखाएर जनताको भोट माग्दैछन्, बुथकब्जा गरेर चुनाव जित्न खोज्दैछन्, मतपेटिकामा एसिड हालेर लोकतन्त्रको जगेर्ना गर्दैछन्, मतदान अधिकृतलाई किनेर निर्वाचन जित्न खोज्दैछन्, निर्वाचनको मुखमा आफू र आफ्नो पार्टी अनुकूल सिडियो र प्रहरी सरुवा गरेर निर्वाचन जित्न खोज्दैछन् । के हामीले यस्तै लोकतन्त्रको लागि राणा, पञ्च अनि राजासँग लडेको हो अनि के हजारौं सहिदहरुले यसैका लागि सहादत प्राप्त गरेको हो ? सुनिन्छ, कुनै अमुक निर्वाचन क्षेत्रमा कुनै बेला संघीय प्रतिनिधिसभाका उमेदवार नवराज सिलवाललाई हराउन पञ्चायती शैलीमा प्रहरीका केही खुरापाती अनि समग्र राज्य संयन्त्र नै प्रयोग गरेको छ अरे कांग्रेसले । 
के निर्वाचनको निष्पक्षता यही हो, जसको आडमा लोकतन्त्र बलियो हुन्छ ? मतपेटिका साटेर, मतदाता किनेर, उमेदवारहरुलाई आक्रमण गरेर, मतदान स्थलमा विष्फोटन गराएर, प्रहरी प्रशासनको दुरुपयोग गरेर, कांग्रेसले कसरी लोकतन्त्रको जगेर्ना गर्छ ? हिजो नवराज सिलवाल जस्तो लायक प्रहरी अधिकारीलाई अयोग्य देख्ने र कांग्रेस सभापति देउवाको गाउँका नेपाल प्रहरीको इतिहासकै सबैभन्दा भ्रष्ट प्रहरी भनेर चिनिएको व्यक्तिलाई लायक देख्ने अनि हिजो सुदूरपश्चिमकै मोतिलाल बोहरा अनि तिलक रावलका लागि नियम कानुनको धज्जी उडाउने शेरबहादुर देउवाजीले समग्र नेपालको नेतृत्व कसरी गर्नुहुन्छ ? शेरबहादुर देउवाजीको संकुचित सोचले उहाँ उहाँकै प्रदेशको मुख्यमन्त्री बन्नसमेत लायक हुनुहुन्न भने समग्र मुलुकको नेतृत्व गरेर मुलुकलाई कहाँ ल्याउनु भयो ? हिजो सांसद खरिद विक्री, पजेरो काण्डलगायत प्रजातन्त्र दरबारमा पटकपटक बुझाउने अक्षम अनि न्यायालयको सर्वोच्चता मार्ने प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने, प्रहरी प्रमुख नियुक्ति, राजदूत नियुक्तिलगायत सरुवाबढुवामा पैसाको लेनदेन गर्ने, योग्य व्यक्तिलाई गलत मुद्दामा फसाउने जस्ता काम गर्ने नेपाली कांग्रेस हाम्रो भविष्यको मालिक कदापि बन्न सक्दैन । 
प्रजातन्त्रमा व्यक्तिको योग्यताको कदर हुन्छ, तर कांग्रेसको लागि योग्यताको कसी भनेको कमिसन र देउवाको गाउँमा जन्मिनु हो अनि के देउवाको गाउँबाहेकका योग्य नेपालीले चाहिँ विदेशिनु पर्ने वा के गर्नुपर्ने हो सबै नेपालीहरुले समयमै सोच्ने बेला आएको छ ।
के जीवनभरि निर्णय गर्ने बेलामा गलत निर्णय गर्ने अनि सधैंभरि राजनीतिलाई गाली गर्ने अनि जेनतेन प्रकारेण घरबारी बेचेर भए पनि सन्ततिलाई विदेश पठाउने अनि अशक्त बूढाबूढी, महिला र बालबालिका मात्र बस्ने मृत देश बनाउने हामीले, नेपाललाई । नेपाललाई जीवन्त बनाउन मतदान गर्ने समयमा विचार गरौं । नौ महिना मनमोहन अधिकारीले सरकार चलाएकोले हालसम्म नेपाली वृद्धवृद्धाले कमसेकम वृद्धभत्ता पाएका छन् र त्यो वृद्धभत्ता कुनै दल विशेषले नभएर समग्र नेपालीले पाउने हो र त्यस्तै नौ महिना केपी ओलीले सरकार बनाउँदा नेपालले दक्षिणी चीनसँग गरेको पारवहन सन्धिले नेपाल र नेपालीले भारतको दादागिरी भविष्यमा सहनु नपर्ने र नेपालले आत्मसम्मानका साथ आगामी दिनमा आफ्नो विकास निर्माणका तथा सामाजिक आवश्यकतालाई पूरा गर्न सक्ने भएको छ । तसर्थ सोचौं, अझै समय छ, हाम्रो मतको सम्बन्ध हाम्रो र हाम्रा सन्तानको भविष्यसँग जोडिएको छ । 

  

Related News