​कांग्रेसमा प्रधानमन्त्री घोषणा गर्नेको लर्को ?

काठमाडौं, २० कात्तिक । वाम गठबन्धनका कारण प्रतिनिधिसभाका कुनै पनि सिटमा जित्ने निश्चित नभएको नेपाली कांग्रेसमा प्रधानमन्त्री घोषणा गर्नेको लर्को नै लागेको छ । तर कांग्रेस पार्टीले भने आगामी मंसिर १० र २१ को निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा कसैलाई अगाडि सारेको औपचारिक जानकारी दिएको छैन । तर बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य प्रकाशमान सिंहसम्मले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै मत माग्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कसैलाई पनि प्रधानमन्त्री भनेर भनेका छैनन् । उनी कुनै हालतमा आफूबाहेक पार्टीबाट अरुलाई प्रधानमन्त्री बनाउन चाहँदैनन् भन्ने कुरा त १७ पटक प्रधानमन्त्रीमा पराजीत रामचन्द्र पौडेललाई नछोडेबाट स्पष्ट भइसकेको छ । 
पार्टीमा देउवाको भन्दा धेरै बढी योगदान भएर पनि पौडेल प्रधानमन्त्री हुन सकेका छैनन् । हार्ने बेलामा पौडेललाई कांगं्रेसले प्रधानमन्त्रीमा उम्मेदवार बनाउने तर जितेपछि आफैं बन्ने क्रम कांग्रेसमा स्व. सुशील कोइरालादेखि देउवासम्मले गरेका छन् । देउवाले डडेलधुराबाट आफू कथम् चुनाव हारे पनि संसदीय दलको नेता आफ्नो परिवारभित्रैबाट श्रीमती आरजु देउवालाई बनाउनका लागि कैलाली ५ बाट उम्मेदवार बनाएका छन् । कैलाली ५ कांग्रेसका लागि सुरक्षित भए पनि देउवाले रिस्क मोलेर डडेलधुरामा उम्मेदवारी दिएका छन् । यदि आफू हारे संसदीय दलको नेता आरजुलाई बनाउनका लागि त्यसो गरेको अनुमान कांग्रेसभित्रैबाट लगाउन थालिएको छ । त्यसो त स्व. गिरिजाप्रसाद कोइरालाले २०५६ मा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर निर्वाचनमा बहुमत ल्याए । तर प्रधानमन्त्री भएको ६ महिनामै उनलाई १५ दिन कुरेर पेरिस भ्रमण गर्न समेत नदिई अपमानपूर्वक हटाउने काम पनि उनले गरेका थिए ।
 एमाले–माओवादीको वाम गठबन्धनबाट आत्तिएको कांग्रेस हतास मनस्थितिमा कम्युनिष्ट अधिनायवाद आउने भन्दै जनतालाई भ्रम छरेर चुनाव जित्ने मृगतृष्णामा लागेको उक्त पार्टीका अभिब्यक्तिहरुबाट स्पष्ट देखिन थालेको छ । वाम गठबन्धनबाट आत्तिएको कांग्रेससँग माओवादीको सहकार्य हुँदा अधिनायकवाद नहुने तर एमालेसँग मिल्दा अधिनायकवाद हुने दोहोरो चरित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुले देखाउन थालेका छन् । स्थानीय तहको निर्वाचन कांग्रेसले माओवादीसँग मिलेर लड्दा अधिनायकवाद भएन, तर प्रतिनिधिसभा र प्रदेशसभामा मिल्दा अधिनायकवाद आइहाल्ने केटौंले तर्क कांग्रेसका नेताहरुले गर्न थालेका छन् । पराजीत मानसिकताले ग्रस्त भएर कांग्रेसका नेताहरु अनेक षडयन्त्रमा लागेका छन् ।  

Related News