​अपराधी र ज्योतिषीको भरमा कांग्रेसका शीर्षनेता

दृष्टि न्यूज

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका शीर्षनेताहरु जनताले मत नदिने भएपछि अपराधी र ज्योतिषीहरुको भर पर्न थालेका छन् । जनताको मतमा विश्वास नभएर उनीहरु अपराधीको समर्थनमा र ज्योतिषीको भविष्यबाणीमा भर पर्न थालेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा जनताको मत नै नलिइकन ‘मलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस्’ भनेका छन् भन्दै भाषण गरिरहेका छन् । उनले पार्टीको उपसभापतिका रुपमा अगाडि बढाएका विमलेन्द्र निधि चुनाव जित्नका लागि जनताको मतमा भन्दा अपराधीको शरणमा परेका छन् । अपराधीले जेलबाट आफूलाई समर्थन गरेको घोषणा समेत निधिले गरेका छन् । कानुनी शासन र प्रजातन्त्रको दुहाई दिने कांग्रेसका नेताहरु जेलमा संजाय भोगिरहेका अपराधीको समर्थन आफूलाई रहेको घोषणा गर्न किन्चित संकोच मानिरहेका छैनन् । त्यसमा पनि पूर्वगृहमन्त्रीले खुलेआम अपराधीको समर्थन आफूलाई रहेकाले चुनाव जित्ने घोषणा सार्वजनिक रुपमा गरेका छन् । 
 वाम गठबन्धनबाट आत्तिएका निधि धनुषा ३ बाट चुनाव जित्न अपराधीहरुको समर्थन आफूलाई रहेको सगौरव घोषणा गरिरहेका छन् ।
 पूर्वगृहमन्त्री विमलेन्द्र निधिले जनकपुर बमकाण्डमा जेल संजाय भुक्तान गरिरहेका संजय टक्लाको समर्थन आफूलाई रहेको घोषणा मंगलबार गरेका छन् । विभिन्न मन्त्रालयसहित पछिल्लो पटक गृहमन्त्री समेत भइसकेका निधिले चुनाव जित्नका लागि अपराधीको समेत समर्थन लिन पुगेका छन् । धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीको तर्फबाट राजेन्द्र महतोले उम्मेदवारी दिएपछि निधि आत्तिएका छन् । र, जेलमा रहेका अपराधीको शरणमा पुगेका छन् । बमकाण्डका अभियुक्त टक्लाको समर्थन रहेको घोषणा गरेपछि धनुषा क्षेत्र नम्बर ३ का जनता निधिलाई जनताको मत होइन, अपराधीको मत भए पुग्ने रहेछ भन्न थालेका छन् ।
धनुषाको अपराध जगतमा जीवनाथ चौधरी र संजय टक्लाको नाम अग्रपंक्तिमा आउँछ । निधिले नै जीवनाथलाई संरक्षण गरी आफूलाई जेलमा सडाउन षडयन्त्र गरेको कुरा टक्लाले भन्दैआएका छन् । तर सद्भावनाबाट २०७० मा धनुषाबाट प्रत्यक्षमा जितेका एकमात्र सांसद टक्लालाई महतोले प्रहरीलाई सूचना दिएर पक्राउ गर्न लगाएको भन्ने आरोप उनको छ । जीवनाथको योजना अनुसार निधिकै कारण जेलमा परेका भए पनि टक्लाले पक्राउ गराउने महतोविरुद्ध निधिलाई चुनावमा सहयोग गर्ने घोषणा गरेका छन् ।  
विमलेन्द्र निधिका प्रियपात्र जीवनाथ चौधरी र सञ्जय साह टक्लाको जोडीले अनेकौं सशस्त्र समूहको निर्माण र सञ्चालन गरेको कुरा जनकपुरका सबैलाई थाहा छ । जनकपुरको रामानन्दचोक विष्फोट काण्डमा पक्राउ परेका टक्लालाई निधिले चौधरीकै योजनामा मुद्दा हराएर जेलमा पु¥याउने काम गरेको टक्लाले भन्दैआए । तर अहिले तिनै निधिलाई टक्लाले समर्थन गर्नुलाई रहस्यमय रुपमा हेरिएको छ । 

Related News