नेकपामा दुई पदाधिकारी, तीनथरी सदस्य

दृष्टि न्यूज

काठमाडौं । अन्तर्राष्ट्रिय जगतमै चर्चा कमाउने गरी पार्टी एकता गरेपनि तल्ला तहको एकताका धेरै कामहरु बाँकी  नै छ । यसका लागि नेपाल कम्युनिष्ट पार्टीको विधान बनाउने कामले भने ठोस रुप लिँदैछ । एकीकृत पार्टीको नयाँ विधान कस्तो बनाउने भन्ने बारेमा पार्टीभित्र गम्भिर छलफल र बहसमार्फत तीन प्रकारको सदस्यता र पार्टीको तल्ला तहहरुमा अध्यक्ष र सचिव रहने व्यवस्था गरिएको नेकपा सूत्रले दृष्टिलाई बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सदस्यका प्रकार तीन किसिमको रहने व्यवस्था विधानले गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले तयार पारेको विधान अनुसार सदस्य, सङ्गठित सदस्य र मानार्थ सदस्य  रहने ब्यवस्था गर्ने प्रस्ताव गरिएको छ । मस्यौदा विधानमा १८ वर्ष उमेर पूरा भएको, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको नेपाली नागरिकले सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । वडा वा शाखा कमिटीमा आवेदन दिएपछि आवश्यक छानविन गरी तोकिएको शुल्क लिएर सदस्यता प्रदान गर्ने व्यवस्था विधानमा गरिएको छ । पार्टीको कुनै जनवर्गीय सङ्गठन, सम्पर्क मञ्च वा संयन्त्रमा सङ्गठित भई काम गर्न सक्ने, व्यक्तिले सङ्गठित सदस्यताको निम्ति आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।
पार्टीका लागि कम्तीमा एक वर्ष काम गरेपछि मात्रै सङ्गठित सदस्यता पाउने व्यवस्था प्रस्तावित विधानमा छ । तल्लो कमिटीबाट सिफारीस भएर आएका आवेदनहरु अनुसार जिल्ला कमिटीले आवश्यक छानविन गरी योग्यता पुगेको व्यक्तिलाई सङ्गठित सदस्यता प्रदान गर्ने व्यवस्था गरेको छ । गैर–कम्युनिष्ट पार्टीबाट प्रवेश गरेका देशभक्त र प्रगतिशील आन्दोलनका समर्थक, लोकतान्त्रिक तथा सामाजिक आन्दोलनमा सहयोगी भूमिका खेलेका र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले वा केन्द्रीय कमिटीले सङ्गठित सदस्यता प्रदान गर्न सक्ने ब्यवस्था समेत विधानले गरेको छ । त्यस्तै, नयाँ विधान अनुसार मानार्थ सदस्यको समेत व्यवस्था गरेको छ । कम्युनिष्ट, लोकतान्त्रिक र सामाजिक आन्दोलनमा विशिष्ट भूमिका खेलेका र राष्ट्र तथा समाजको लागि विशेष योगदान गरेका विशिष्ट व्यक्तिलाई केन्द्रीय कमिटीले मानार्थ सदस्यता प्रदान गर्न व्यवस्था विधानमा उल्लेख गरेको छ । कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलन र राष्ट्र एवम् समाजको सेवामा समर्पित रहेको अवस्थामा मृत्यु भएका व्यक्तिलाई स्थानीय कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले मृत्योपरान्त मानार्थ सदस्यता प्रदान गर्न व्यवस्था अवको विधानमा रहने छ । मानार्थ सदस्यता मानका खातिर भएकाले त्यस्ता सदस्यका लागि कुनै अधिकार र कर्तव्य भने तोकिएको छैन ।
नेपाल कम्युनिष्ट पार्टीको संरचना पनि नयाँ विधानमा तयार गरिएको छ । पार्टीको तल्लो कमिटीमा अध्यक्ष, सचिव एक एक जना मात्र रहने व्यवस्था गरेको छ । विगतमा बहुपदमा रहेका एमाले र नेकपा (माओवादी केन्द्र)का तल्ला स्तरका कमिटीहरु अव पदाधिकारीमा अध्यक्ष र सचिव मात्र रहने व्यवस्था प्रस्तावित विधानमा गरिएको छ । जिल्ला कमिटीको कुल सदस्य संख्या एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा बढीमा १२५ हुनेछ र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा थप एक निर्वाचन क्षेत्र बराबर बढीमा पाँच सदस्य थप्न सक्ने विधानमा उल्लेख छ । अन्य स्थानीय कमिटीको कूल सदस्य संख्या महानगरपालिकाभित्रको कमिटीको संख्या बढीमा ७५ सदस्यहरु रहने व्यवस्था छ । त्यस्तै उपमहानगर कमिटी बढीमा ६१ सदस्य, नगर कमिटी बढीमा ५१ सदस्य राख्ने व्यवस्था विधानमा गरिएको छ । 
नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को अन्तरिम विधान–२०७५ अनुसार अब गाउँ कमिटी बढीमा ५१ सदस्य कमिटीहरु र महानगरका वडाहरुमा कमिटी बढीमा ३५ सदस्य, उपमहानगरका वडा कमिटीहरु बढीमा २७ सदस्य नगर र गाउँका वडा÷शाखा कमिटी बढीमा २५ सदस्य र नगर र गाउँका टोल÷प्रारम्भिक कमिटी बढीमा १५ सदस्यीय कमिटीहरु निर्माण हुनेछ ।

Related News