​नेपाल र पाकिस्तानबीच राजनीतिक तिक्तता छैनः पाकिस्तानी राजदूत जाभेद

काठमाडौं, २२ कार्तिक । नेपाल विश्व सम्बन्ध परिषद् (एनसीडब्लूए)ले नेपाल पाकिस्तान सम्बन्धः सम्भावना र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
एनसीडब्लूएको हल पुल्चोक ललितपुरमा नेपालका लागि पाकिस्तानी राजदुत मजर जाभेदको उपस्थितिमा मंगलबार कार्यक्रमको आयोजना गरेको हो । एनसीडब्लूएका महासचिब असिम थापाको स्वागत मन्तव्यबाट शुरुआत भएको कार्यक्रममा सहभागीहरुसँग प्रश्नोत्तर तथा अन्तक्र्रिया पनि गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राजदुत जाभेदले नेपाल र पाकिस्तानबीच राजनीतिक तिक्तता नरहेको बताउनुभएको थियो । 
जाभेदले भन्नुभयो–“पाकिस्तान र नेपालीबीच सद्भावको वातावरण रहिआएको छ । १९६० मा शुरु भएको दुई देशीय सम्बन्ध झन् प्रगाढ बन्दै गइरहेको छ ।” पाकिस्तानले नेपाली विद्यार्थीहरुलाई विशेषगरी मेडिकल र इन्जिनियरिमा छात्रवृत्ति दिइरहेको राजदुत जाभेदले बताउनुभयो । त्यस्तै भूकम्पको बेला एक बिलएन अमेरिकी डलर नेपाललाई सहयोग गरेको पनि जाभेदले जानकारी गराउनुभयो । उहाँका अनुसार भौगोलिक कठिनाईका कारण नेपाल पाकिस्तानको सम्बन्ध व्यापारिक रुपमा उति नजिक हुनसकेको छैन । नेपाल पाकिस्तानबीच बार्षिक रुपमा चारदेखि पाँच मिलियन अमेरिकी डलर बराबरको मात्रै व्यवसायीक कारोबार भइरहेको छ । यसलाई बढाउँदै लानुपर्ने उहाँको जोड थियो । नेपाल र पाकिस्तानबीच सांस्कृतिक रुपमा बलियो सम्बन्ध रहेको बताउनुभयो । 
त्यस्तै राजदुत जाभेदले आफ्नै कार्यकालमा दुई देशबीच सिधा हवाई उडान गर्ने पनि प्रतिबद्धता जनाउनु भयो भने क्षेत्रीय सम्बन्धमा राजनीतिक एजेण्डा घुसेका कारण गतवर्ष पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना हुन नसकेकेको बताउनु भयो । यसलाई छिट्टै सम्पन्न गर्नुपर्नेमा उहाँको जोड थियो । 
त्यस्तै कार्यक्रममा बोल्दै एनसीडब्लूएका अध्यक्ष हेमन्त खरेलले दुई देशबीचको सम्बन्ध पहाड जस्तै अडिग र बलियो भएको धारणा राख्नुभएको थियो । उपाध्यक्ष उमेशबहादुर मल्लले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । 

Related News